किसुनजीको सालिक अनावरण गर्दै देउवाले भने- उहाँकै सपनाका कारण मेलम्चीले महत्व पायो (भिडिओ) – Nepal Press

किसुनजीको सालिक अनावरण गर्दै देउवाले भने- उहाँकै सपनाका कारण मेलम्चीले महत्व पायो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मेलम्ची खानेपानी आयोजनालाई दिर्घकालीन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका छन् ।

आइतबार मेलम्ची खानेपानी आयोजनाका जन्मदाता स्वर्गीय कृष्णप्रसाद भट्टराईको सम्मानमा आयोजना स्थल सुन्दरीजलमा निर्माण गरिएको भट्टराईको पूर्ण कदको सालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानमा खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा संरक्षण गरेकाले सरकारले मेलम्ची खानेपानी आयोजना दिर्घकालीन रुपमा सञ्चालन गर्न प्राथमिकतामा राखेको बताएका हुन् । उनले मेलम्ची आयोजना बाह्रै महिना सञ्चालन गर्न खानेपानी मन्त्रालय अन्तर्गत विभिन्न निकायले अध्ययन गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले स्वर्गीय भट्टराईले २०४८ सालमा निर्वाचन प्रचारका क्रममा उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउँछु भनेको कुरा पूरा भएको भन्दै भट्टराईले सार्वजनिक रुपमा नै मेलम्चीको पानी ल्याउने प्रतिबद्धता जाहेर गरेकै कारण आयोजनाले थप महत्व र प्रचार पाएको उल्लेख गरे ।

उनले २०७८ साल असारमा आएको बाढीले आयोजनामा अकल्पनिय क्षति पुगेपनि सरकारले आयोजनाको पुननिर्माणलाई प्राथकिमता राखेर काठमाडौं उपत्यकामा पुनः पानी वितरण गर्न सफल भएको दाबी गरे ।

कार्यक्रमा खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री भट्टराईको मेलम्चीको पानी खुवाउने संकल्पलाई वर्तमान सरकारले पूरा गरेको दाबी गरे । उनले हतार हतारमा मेलम्चीको सुरुङमा पानी पथान्तरण गरी काठमाडौ उपत्यकाबासीलाई वितरण गर्न तत्कालिन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दा मेलम्ची आयोजनाका जन्मदाता कृष्णप्रसाद भट्टराईको नाम समेत नलिएको भन्दै खेद प्रकट गरे ।

त्यस्तै, कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले मेलम्ची आयोजना स्थलका स्थानीय जनताको माग सम्बोधन नगरेसम्म खानेपानीको स्थायी रुपमा समस्या समाधान नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर