छिन्ताङ घटनामा सूर्यबहादुर थापा : राज्यको नीतिअनुसार जे हुनुपर्ने हो, त्यही भएको हो – Nepal Press

छिन्ताङ घटनामा सूर्यबहादुर थापा : राज्यको नीतिअनुसार जे हुनुपर्ने हो, त्यही भएको हो

इटहरी । २०३६ कार्तिक अन्तिम हप्ताको अन्तिम दिन धनकुटाका १६ जनाको जीवनकै अन्तिम बन्यो । राज्यसत्ताको बलमा कार्तिक २६, २७, २८ र २९ गते खोकु, छिन्ताङ, आँखीसल्लाका १६ जनाको निर्मम हत्या भयो ।

हत्या हुनेहरुमा पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, लाखमान साधु राई, रणध्वज राई, रामकुमारी राई, चन्द्रबहादुर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गम्भीरमान दमाई, भैरवबहादुर खालिङ राई, बलबहादुर खत्री, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, श्रीमाया राई (हाङखिमा साइली) र झगेन्द्र राई छन् ।

शेरबहादुर देउवा सरकारले २०७४ पुस २८ मा उनीहरुलाई सहिद घोषणा गरेको थियो । स्थानीय तहको नाम त्योभन्दा अगाडि २०७३ मै सहिदभूमि गाउँपालिका भनेर नामकरण भएको थियो । अहिले सहिदहरुको अर्धकदको सालिक राखेर एक पार्क बनेको छ । प्रदेश १ को शेरधन राई सरकारले २०७४ मै सहिद परिवालाई आर्थिक प्याकेजदेखि आवासगृहसम्मको बजेट छुट्याएको थियो ।

धनकुटाकै नेता सूर्यबहादुर थापा प्रधानमन्त्री भएको समयको यो घटना राज्य सञ्चालित पञ्चायतकालीन नरसंहारको सबैभन्दा विभत्स उदाहरण हो । यसबारेमा जनगायक किशोर थुलुङले गीतै गाएका छन्ः

खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाउँदा

अन्धकारमा बन्दुकहरु पड्किएको वेला
छातीभरि संगीनहरु गाडिएको वेला
धनकुटाको छाती दुख्यो चाल पायो कि
अन्यायको विरोध गर्ने कसम खायो कि

वसन्तका पालुवामा शहिदहरु फुल्छन्
सल्लेरीको सुसाइमा आवाज भई डुल्छन्
धनकुटाले आफ्नो घाउ सम्झी राख्नुपर्छ
नशाभित्र तातो रगत बहाइ राख्नुपर्छ

छिन्ताङ हत्याकाण्डको चर्चित गीत गाएका र धनकुटाको यो इतिहासले छुनेहरुको मनमा बसेका जनगायक किशोर थुलुङको एकै इच्छा थियो- सूर्यबहादुरसँग चुनाव लड्ने । उनको चुनाव लड्ने सपना पूरा नहुँदै सूर्यबहादुर थापाको निधन भयो । २०७२ बैशाख २ गते थापाको मृत्यु भए पनि अहिलेसम्म छिन्ताङ घटनामा थापाको नाम जोडिँदै आएको छ ।

तत्कालीन किसान आन्दोलनमा जोडिएका वामपन्थीहरुलाई हतियारधारी प्रहरीले हत्या गरेका थिए । बलात्कारदेखि चरम यातनासम्मले उनीहरुको हत्या भएको बाँचेका प्रत्यक्षदर्शीहरुले भन्दै आएका छन् ।

थापाको नाम जोडिएको खोकु छिन्ताङ हत्याकाण्ड सूर्यबहादुर थापाको विस्तृत प्रतिक्रिया हालसालै बजारमा आएको सूर्यबहादुर थापाको आत्मकथामा छ । २०६५ देखि २०७१ सम्म सूर्यबहादुर थापासँग इटहरीका गणेश पौडेलले गरेको रेकर्डेड कुराकानीमा आधारित सूर्यबहादुर थापाको जीवनी ‘मेरा नौ दशक’ भदौमा बुक हिल प्रकाशनबाट बजारमा आएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित वामपन्थी दलबाट प्रधानमन्त्री भएकाहरु बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड आदि सहभागी कार्यक्रममा लोकार्पण भएको जीवनीको पेज नम्बर २८८ मा ‘छिन्ताङ घटना’ भनेर सूर्यबहादुर थापाको पहिलो विस्तृत प्रतिक्रिया आएको छ । जसमा थापाले खोकु छिन्ताङ घटनाको प्रमुख ‘जनताको जीउधनको सुरक्षा’ र मार्क्सवादी, माले, रातो झण्डा आदि कम्युनिष्टहरुको अन्तर कलहले घटना भएको जिकिर गरेका छन् ।

‘वर्ग संघर्षलाई अघि बढाउने क्रममा गरिबगुरुवालाई उकासेर लुटपाटमा उतारे । स्थानीय जमिनदारहका खेतबारीमा पाकेका बाली जबरजस्ती कब्जा गरेर बाँडचुँड गर्ने, भकारीमा राखेका अन्न फोरेर लैजाने, सुँगुर, कुखुरा, राँगाभैंसी, बाख्राखसी आदि जेजे छन्, बलजफ्ती लुटेर लैजाने जस्ता काम गरेकाले जनता ज्यादै आतंकित भएका थिए’, सूर्यबहादुर थापाले छिन्ताङ हत्याकाण्डको बचाउ गर्दै भनेका छन्, ‘यो त सीधै राज्यको कर्तव्य र दायित्वअन्तर्गतको विषय हो । यो वा त्यो भन्ने सवाल नै आउँदैन । राज्यको सुरक्षा नीतिअनुसार जे हुनुपर्ने हो, त्यही हुन्छ । त्यति वेला पनि त्यही भएको हो ।’

सरकारी संयन्त्रमाथि हतियारधारी आक्रमण गर्ने मालेको योजनामा सोझासाझा स्थानीयलाई दुरुपयोग भएको भन्दै थापाले थपेका छन्, ‘स्थानीय होमबहादुर कार्की नामका एक जना अति सामान्य व्यक्तिलाई मालेहरुले भरुवा बन्दुक बोकाएर प्रहरीसँग प्रतिकार गर्न पठाएछन् । तर, प्रहरीमाथि फायर गर्दा के कारणले हो बन्दुक पड्किएनछ । उनी पक्राउ परेछन् । पक्राउपछि बयान दिँदा मार्क्सवादीका एक जना स्थानीय नेताको निर्देशनमा सो कार्य गरेको भनेर गलत व्यक्तिलाई औंल्याएर सक्कली मानिसलाई बचाउने चलाखीसम्म गरेछन् ।’

घुमाउरो भाषामा निर्दोष मारिएको भनेका थापाले घटनालाई ‘निकै दुर्भाग्यपूर्ण’ पनि भनेका छन् । तर, आफूविरुद्ध जनताको मनोविज्ञान भाँड्न खोजिए पनि त्यसो हुन सफल नभएको थापाको तर्क छ । उनी भन्छन्, ‘मेराविरुद्ध जनताको मनोविज्ञान भाँड्न र भ्रमित तुल्याउन खोजियो । जनता बोल्दैनन् ।

तर, घटनाको सही मूल्यांकन उनीहरु नै गरिरहेका हुन्छन् । आतंकित भएर प्रतिकार गर्न असमर्थ त्यहाँका ८० प्रतिशतभन्दा बढी जनताले २०३८ सालमा बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा मलाई भोट दिएर मेराविरुद्ध भ्रमको खेती गर्नेहरुलाई यथोचित जवाफ दिइसकेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर