दाङको चुनावी सरगर्मीः प्रभावशाली तीन नेतालाई चर्चित नेतृहरूको चुनौती – Nepal Press

दाङको चुनावी सरगर्मीः प्रभावशाली तीन नेतालाई चर्चित नेतृहरूको चुनौती

रुपन्देही । दाङमा प्रतिनिधिसभातर्फ तीनवटै निर्वाचन क्षेत्रमा प्रभावशाली पुरूष उम्मेदवारसँग चर्चित नेतृहरू प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर १ मा नेकपा एसका नेता तथा मन्त्री मेटमणि चौधरीसँग एमालेकी शान्ता चौधरी मैदानमा छिन् । उम्मेदवार बन्न नपाएपछि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उठेकी गंगा चौधरीले भने शान्तालाई चुनौती थपेकी छन् । यो लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो । यो क्षेत्रमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका पर्छन् ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसँग गठबन्धनबाट माओवादी नेतृ रेखा शर्मा मैदानमा छन् । ३ मा कांग्रेसका प्रभावशाली नेता दीपक गिरीविरुद्ध एमालेले कोमल वलीलाई अघि सारेको छ ।

प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार बनाएको छ । सत्तागठबन्धन दल माओवादी केन्द्रले एउटा क्षेत्रमा महिला उम्मेदवार खडा गरेको छ । योसँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा रहेकाले दाङ चर्चामा छ ।

शान्ता भर्सेस मेटमणि

क्षेत्र नम्बर १ मा लामो समय एकै पार्टीमा बसेका शान्ता र मेटमणिबीच प्रतिस्पर्धा रहेको छ । एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका शहकारी विकास मन्त्रीसमेत हुन् । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जितेका मेटमणि तत्कालीन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए । पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका मेटमणिको राजनीतिक पृष्ठभूमि हेर्दा शान्ताभन्दा अगाडि छन् ।

निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्यता भएको क्षेत्र हो । कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना जगाउन दुबैले सँगै मिलेर काम गरेकाले पनि पूर्वसहकर्मीबीच हुने प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ ।

यो क्षेत्रमा छिमेकी जिल्ला प्यूठान, अर्घाखाँचीलगायतबाट बसाइँ सरेस आएका छन् । प्यूठानी धेरै रहेको हुँदा यहाँ जनमोर्चाको पनि राम्रो पकड छ । जनमोर्चा गठबन्धन दलमै छ । अर्कोतर्फ विगतमा एमालेकै उम्मेदवार भएर मेटमणिले यही क्षेत्रबाट जितेको हुँदा शान्तालाई अहिले त्यो मत मिल्नसक्छ ।

शान्ताको लागि एमाले नेतृ तथा पूर्वसांसद गंगा चौधरी चुनौतीको रूपमा आएकी छन् । गंगाले शान्ताको नै भोट काट्ने भएकाले मेटमणिलाई सहज हुने आंकलन गरिएपनि मेटमणिको पार्टीको आफ्नो जनमत नरहेकाले सबै अरु पार्टीमा भर पर्नुपर्ने अवस्था छ ।

रेखा भर्सेस शंकर

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले यसअघि जितेको क्षेत्र नम्बर २ मा अहिले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ । गठबन्धन दलको साझा उम्मेदार रहेकी शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो ।

त्यो समय दाङमा पाँच निर्वाचन क्षेत्र थिए । पूर्वसभामुख महरा प्रतिस्पर्धामा जान नखोजेपछि पार्टीले रेखालाई उम्मेदवार बनाएको हो । यस क्षेत्रमा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका छन् । रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश रोल्पाबाट बसाइँ सरेर आएका छन् । आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन् । त्यसको लाभ रेखालाई हुनसक्छ । उनी मन्त्री हुँदा वा राजनीतिकरूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन् । त्यसको लाभ उनले उठाउन सक्छिन् । यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो । त्यसैले उनलाई थप फाइदा हुनसक्छ । तर, स्थानीय तहमा माओवादी र कांग्रेसबीच भएको विवाद, त्यसअघि त्यहाँका कांग्रेस नेता-कार्यकर्ता र माओवादीको विवादले उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल हराउन सहज हुनेछैन ।

२०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने ।

त्यो बेला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए । पछिल्लो समय शंकरको पक्षमा दंगाली जनताको मनमा एउटा राम्रो छाप छ । उनकै पहलमा र उनी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सार्न भूमिका खेलेको जस उनैलाई छ । त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रुपमा प्रयोग गर्ने देखिन्छ । मनोनयन दर्ता गरेपछि उनले त्यो कुरा पनि प्रमुखताका साथ उठाएका थिए । यसका साथै उनको पक्षमा बोल्ने दंगालीले भावी अर्थमन्त्री, प्रधानमन्त्री तथा एमालेको अध्यक्षको समेत दावेदार भएकाले जसरी पनि जिताउनुपर्ने तर्क गरेर मत मागिरहेका छन् ।

गत वैशाख १० मा भएको स्थानीय तह निर्वाचको परिणामपछि पोखरेलले चुनाव सजिलै जित्नेमा ढुक्क देखिन्छन् । गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जितेका छ स्थानीय तहको निर्वाचनमा । तर, माओवादीमा इमान्दार छबि बनाएकी रेखा र पार्टीभित्र कम्युनिष्ट आन्दोलन र जबजको ब्याख्याता मानिने शंकरबीचमा प्रतिस्पर्धा पेचिलो बन्ने स्थानीयको आंकलन छ ।

कोमल भर्सेस दीपक

राष्ट्रियसभा पूर्वसदस्य कोमल वलीलाई निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुन् । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन् । वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन् ।

उनका प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सत्तागठबन्धनबाट मैदानमा छन् । विगतमा शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनकै टीम पार्टीको १४औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा बलियो छ । पार्टीभित्र संस्थापन पक्षधरलाई हराएर गिरी लुम्बिनीमा बलियो नेता बनेका छन् ।

तर, स्थानीय निर्वाचनमा यहाँ एमालेले ल्याएको मत, पार्टीभित्रको दुई समूह विवाद, माओवादी-कांग्रेसबीचको अन्तरघुलनमा कमी, नेकपा एसले प्रदेशमा उम्मेदारी नपाएपछिको अन्यौलता गिरीका चुनौती हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर