घनश्यामको आरोपप्रति छविलालको जवाफ- राजनीतिक चरित्र छैन, पार्टी छाड्दै हिँड्नेलाई जनताले सजाय दिन्छन् – Nepal Press

घनश्यामको आरोपप्रति छविलालको जवाफ- राजनीतिक चरित्र छैन, पार्टी छाड्दै हिँड्नेलाई जनताले सजाय दिन्छन्

रुपन्देही । एमाले छाडेका नेता घनश्याम भुसालले नेकपा एमाले र नेतृत्वलाई दिनहुँ गाली गर्न थालेपछि नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् ।

रुपन्देही १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक पटक धोखा दिएको आरोप लगाए ।

अहिले उहाँ एमाले र यसको नेतृत्वलाई सत्तोसराप गर्दै हिँड्नुभएको छ, आफूले दिने कुनै एजेन्डा छैन, टिकट नपाएपछि रातारात पार्टी फेरेर कांग्रेस माओवादीको शरणमा जाने व्यक्तिले कसरी मार्क्सवादी दर्शनको व्याख्या गर्नुहोला अब ?’ नेता विश्वकर्माले भने ।

एमाले, राप्रपा र जसपाले आइतबार देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरूलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने बित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदाङ्गो भएको टिप्पणी गरे ।

राजनीतिक चरित्रको र साँच्चै आदर्शवादी नेता भएको भए पार्टीमै बसेर नेतृत्वलाई इमानदारिता र त्याग देखाउन सक्नुपर्नेमा भुसाल विपक्षीको गोटी बनेको उनले बताए ।

रुपन्देही १ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । आफूलाई दलाल पुँजीवादको विरोधी भन्ने भुसालले दलाल पुँजीवादको अगुवा नेपाली कांग्रेस र माओवादीसँग साँठगाँठ गरेर आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भुसालको आलोचना गरे ।

‘एमालेमा ओलीकै एकदम आफ्ना भनिने दर्जन बढी नेताले टिकट पाएका छैनन्,राप्रपासँग तालमेल हुँदा उहाँले पनि पाउनुभएन’विश्वकर्माले भने, ‘टिकट नपाउने बित्तिकै विपक्षीको उम्मेदवार बन्न जानु कुनै पनि अर्थमा राजनीतिक चरित्र हैन,पार्टीमाथि धोखा हो ।’

भुसालले विगतमा पनि पार्टी विभाजन गरेको र सिद्धान्तको आवरणमा सधैँ नेतृत्वलाई कमजोर बनाई विपक्षीलाई खुशी बनाउने काममा रमाएको विश्वकर्माले आरोप लगाए । पार्टीलाई पटक पटक धोका दिँदै पार्टी छाडेर हिँड्ने घातीलाई जनताले राम्ररी चिनेकाले यस पटक सजाय दिने उनले बताए ।

राष्ट्रिय राजनीतिमा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने विश्वकर्माले बताए । सत्ता सत्ता गठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उनले राष्ट्रियता जोगाउन राप्रपा र जसपासँग तालमेल गर्नुपरेको बताए ।

विश्वकर्माले उत्तर दक्षिण जोड्ने गरी क्षेत्र नम्बर १, को विकासको काम दशगजाबाट सुरुवात गरेको र ५ वर्ष यता विकासले फड्को मारेको दाबी गरे ।

नेकपा एमालेको सरकारले अगाडि सारेका अधुरा योजना सम्पन्न गर्नको लागि नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आग्रह गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न पनि साझा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर