पुल भत्किँदा भारतको गुजरातमा १४७ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते (भिडिओ) – Nepal Press

पुल भत्किँदा भारतको गुजरातमा १४७ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते (भिडिओ)

जनकपुरधाम । भारतको गुजरातमा पर्ने मोरबीमा पुल भत्किँदा बालबालिकासहित १४७ जनाको मृत्यु भएको छ । २ सयभन्दा बढी मानिस घाइते भएका हुन् । मृतकको संख्या बढ्ने अनुमान छ ।

आइतबार राति पुल खसेको थियो । भारतमा आइतबार बिदा हुन्छ । बिदाको दिन भएकाले मानिसहरू घुम्न गएको र ओभरलोडका कारण पुल भत्किएको बताइएको छ । करिब ४ सय मानिस पुलमा भएको बेला उनीहरू सबै नदीमा खसेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

पुल खसेलगत्तै सेना, प्रहरी, स्थानीय र विशेष उद्धार टोली रातभर खटिएका थिए । ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई अस्पताल पुर्‍याइएको साथै अहिले पनि उद्धार जारी छ ।

सो घटनामा राजकोटका भारतीय जनता पार्टी (भाजपा) सांसद मोहनभाइ कल्याणजी कुंडारियाका १२ आफन्तको पनि मृत्यु भएको आजतकले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमितसाहलगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सरकारले मृतकका परिवारलाई २/२ लाख र घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

टिकट काटेर पुलमा गएका थिए मानिस

पुलमा घुम्न टिकट अनिवार्य थियो । बच्चाका लागि भारु १२ र अन्यका लागि भारु १७ रूपैयाँ दरको टिकट तोकिएको थियो ।

करिब १ सय वर्ष पुरानो उक्त पुल (केबल ब्रिज) ब्रिटिश शासनकालमै बनेको थियो । राजा-महाराजाको पालामा यो पुल ऋषिकेशको राम झूला तथा लक्ष्मण झूला पुलजस्तै थियो । त्यसैले यसलाई झुला पुल पनि भनिन्थ्यो ।

पुल जीर्ण बनेकाले मर्मतपश्चात ५ दिन अगाडिमात्र सञ्चालनमा ल्याइएको थियो । पुल भत्किएसँगै मर्मत कम्पनी छानबिनको घेरामा तानिएको छ । पुल विनापरीक्षण सञ्चालनमा ल्याएकाले दुर्घटना भएको भन्दै विरोध पनि भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *