तिहारमा पनि घर फर्कन सकेनन् बागलुङका पहिरो पीडित – Nepal Press

तिहारमा पनि घर फर्कन सकेनन् बागलुङका पहिरो पीडित

बलेवा । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् ।

बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरेका छन् ।पानी पर्दा वा नपर्दा पनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दसैँको झरीले थप क्षति पुगेको छ ।

यहाँका १२ घरसहित जैमिनी नगरपालिका–१ को ओडारका आठ घरमा पहिरो पसेको थियो । सुख्खा पहिरो पनि खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांश खेतबारी र घरगोठ बगेकोले पुनःस्थापना गर्न समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जबर्जस्ती ल्याएर राख्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

‘‘घरै भत्कियो, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन’ स्थानीय ७८ बर्षिय ढालनाथ शर्माले भने, ‘‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ’ उनको घर गोठ र खेत पहिरोले पुरेको थियो ।

पहिरोले शर्मासहित यहाँका दुइवटा खानेपानीका ट्याङ्की पनि बगाएको थियो । अहिले पनि स्थानीय टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिँदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो ।

पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका–१ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिँचाइ योजनाको कुलो बगेकोले सिँचाइ छैन ।

‘यतिको ठूलो पहिरो अहिलेसम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ’ स्थानीय बिष्णु पौडेलले भने, ‘‘खानेपानी र बिजुली नभएको दसैँ मान्नु प¥यो ।’ पहिरो पीडितलाई दसैँमा नगरपालिका, लायन्स क्लबले खाद्यान्न सहयोग गरेका थिए ।

‘पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन, बरु १०÷१२ घर स्थानान्तरण गरेर एकीकृत बस्ती बनाउन सके सुरक्षा होला’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने, ‘त्यसका लागि सुरक्षित जग्गा खोज्ने तयारी गर्छौँ ।’ एकीकृत बस्ती भएमा खानेपानी, बिद्युत र अन्य सेवा जडानमा सहज हुने उनले बताए।

‘पहिरो पन्छाएर बस्ती बसाल्न कठिन छ, त्यसैले नयाँ ठाउँको खोजीमा छौं’’ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘दीर्घकालीन योजना बनाएर अन्य बस्तीको पनि पुनस्र्थापना खोज्नु पर्ने भएको छ ।’ किसानको खरबारी र सुन्तला लगाएको बारी समेत सयौँ रोपनी बगेको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर