गृहमन्त्री खाणको आश्वासन : कानून संशोधन गरेर भएपनि ब्याज वृद्धि नियन्त्रण गर्छाैं – Nepal Press

गृहमन्त्री खाणको आश्वासन : कानून संशोधन गरेर भएपनि ब्याज वृद्धि नियन्त्रण गर्छाैं

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले बैंकहरुले जथाभावी ब्याज वृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज वृद्धि तत्काल रोक्नुपर्ने बताएका छन् । उद्योगी-व्यवसायीले सावा-ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै उनले आएको जनाउँदै बैंकहरुले ब्याज वृद्धि गरिरहे आवश्यक ऐन-कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाणले बिहीबार निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा तत्काल ब्याज बृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । ‘ब्याज बृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक संचालकको ध्यान जान जरुरी छ’, उनले भने ।

मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धरासायी भए यसले नराम्रो असर गर्ने जनाउँदै खाणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव दिए । ‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज वृद्धि रोक्न भनेको छु’, उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन । तर, ब्याज वृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ ।’

उद्योगी-व्यवसायीलाई व्यवसाय संचालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रवद्र्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको बताउँदै गृहमन्त्री खाणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताए । ‘हामी उद्योगी-व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’

गृहमन्त्री खाणले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्ने बताए । ‘हामीले मौद्रिक नीतिलाई सुधारमात्रै होइन्, परिमार्जन गर्नेछौं, आवश्यक परे संशोधन पनि गर्नेछौं’, उनले भने, ‘त्यसैले मैले देशभर छरिएर रहेका उद्योगी-व्यवसायीलाई यो सरकार तपाईंहरुको पक्षमा छ, तपाईंहरुको समस्यालाई हल गर्न तयार भन्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर