गुल्मी १ मा हेवीवेट नेताको पाँचौं प्रतिस्पर्धा, संसद यात्रा ज्ञवालीको चौथो होला कि भण्डारीको दोस्रो ? – Nepal Press

गुल्मी १ मा हेवीवेट नेताको पाँचौं प्रतिस्पर्धा, संसद यात्रा ज्ञवालीको चौथो होला कि भण्डारीको दोस्रो ?

रुपन्देही । गुल्मीको क्षेत्र नं १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी पाँचौं पटक चुनावी मैदानमा उत्रेका छन् ।

वैचारिक र वाककलामा खारिएका दुवैजना आफ्नो पार्टीमा मात्र होइन जनस्तरमै परिचित अनुहार हुन् । ज्ञवाली नेकपा एमालेको मुख्य निर्णयमा सहभागी हुने नेता हुन् भने भण्डारी नेपाली कांग्रेसको इतर समूहको दोस्रो वरियतामा उठेका नेता हुन् ।

दुवै पार्टीका प्रभावशाली नेताहरु एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रेको यो पहिलो पटक भने होइन । २०५६ देखि भण्डारी र ज्ञवाली प्रतिस्पर्धामा निरन्तर छन् । यो बीचमा तीन पटकका निर्वाचन ज्ञवालीले जितेका छन् भने एक निर्वाचन भण्डारीले जितेका छन् ।

०५६,२०६४ र ०७४ को निर्वाचनमा ज्ञवालीले जितेको दुई जनाको प्रतिस्पर्धामा २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने भण्डारीले बाजी मारेका थिए । २३ वर्षदेखि दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ ।

भण्डारी यस पटक सत्ता गठबन्धनको साझा उम्मेदार बनेका छन् । एमालेको संगठन बलियो छ त्यस कारण दुई नेताबीच हारजितको बलियो प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ ।२०७४ को निर्वाचनमा ज्ञवाली ७ हजारभन्दा बढी मतले विजयी भएका थिए । ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गर्दा भण्डारीले ३० हजार २५६ मत पाएका थिए ।

अहिलेको अवस्था

अहिले अवस्था केही फेरिएको छ । अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एमालेबाट टुक्रिएको नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासमेत सामेल छन् । ती दलको मत भण्डारीलाई जाँदा चुनावी गणित भण्डारीको पक्षमा रहेको उनी पक्षको आंकलन छ ।

तर कांग्रेसभित्रको ठूलो अन्तरद्वन्द्व, गठबन्धन दलभित्रकै अन्तरसंघर्ष, नेकपा एसको अत्यन्तै प्रभाव कम र माओवादीको घट्दो जनमत र संसद तथा मन्त्री हुँदा जिल्लाका लागि गरेका ज्ञवालीले गरेका विकासे अभियान उनका लागि बलियो आधार भएको तर्क एमाले नेताहरुको छ । त्यसमाथि अघिल्लो निर्वाचनमा माओवादीमा रहेको एक समूह एमालेमा आएको छ भने नेकपा एसको प्रभाव अत्यन्तै कम रहेकाले जनमत कमी नभएको तर्क एमाले केन्द्रीय सदस्य जंग नेपालीको छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा गुल्मी–१ मा एमाले बलियो देखिन्छ तर गठबन्धनको मत एकै ठाउँमा जोड्दा ज्ञवालीलाई विरासत कायम राख्न चुनौती छ । एमालेले ३५ हजार ७०१ मत प्राप्त गर्दा कांग्रेसले ३१ हजार २९४ मत पाएको थियो ।

माओवादीले ४ हजार ९७० मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले १ हजार ६०० र नेकपा एसले ४९७ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनको मत यो क्षेत्रमा ३८ हजार ३६१ छ, जुन एमालेको भन्दा २ हजार ६६० बढी हो । कांग्रेस नेताहरु यो तथ्यांकलाई केलाउँदै ज्ञवालीलाई पुनः सदन छिर्न नदिने रणनीतिमा लागेका छन् ।

स्थानीय तह निर्वाचनमा ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको, चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय केही कमजोर बनेको, १२ स्थानीय तहमध्ये मध्ये ३ वटामा खुम्चिएको कारण ज्ञवालीलाई रोक्न सकिने तर्क कांग्रेस नेताहरुको छ ।

दुवै नेता पार्टीको पहुँचमा

एमाले नेता ज्ञवाली अध्यक्ष केपी ओलीको मुख्य सचिवालयमै रहन्छन् । पार्टीका महत्वपूर्ण निर्णयमा उनी ओलीसँगै हुन्छन् । यसअघि ओली प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका ज्ञवाली पार्टी सञ्चालनमा मुख्य सहयोगीमध्ये पर्दछन् । उनको क्षेत्रमा पार्टीभित्र त्यति धेरै असन्तुष्टि देखिनेगरी बाहिर आएका छैनन् । बिगतमा दुई समूहको राजनीति हुँदा पनि उनको क्षेत्रमा फरक समूह धेरै बलियो थिएन ।

कांग्रेस नेता भण्डारी सभापति शेरबहादुर देउवाका खरो आलोचकका रुपमा परिचित छन् । देउवाको कार्यशैलीलाई लिएर सार्वजनिकरूपमै आलोचना गरेका कारण उनलाई टिकट पाउनै संकट भएको थियो । उनलाई कुनैपनि मानेमा टिकट दिन नहुने भनेर संस्थापन समूहको एक टोली लामै समय काठमाडाैंमा पुगेर खबरदारी गरेको थियो तर इतर समूह र जिल्लामा बलियो प्रभाव भएकै कारण उनले टिकट पाएको उनकै पक्षका नेताहरु स्वीकार गर्छन् ।

गतवर्ष पार्टीको १४औं महाधिवेशनमा भण्डारी देउवाको प्रतिस्पर्धी समूहबाट उपसभापतिको उम्मेदवार बनेका थिए । डा. शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बनेका उनी पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । पार्टीको प्रदेश कमिटी निर्वाचनमा नेता बालकृष्ण खाडको खुलेर आलोचना गरेकै कारण संस्थापन समूहले उनलाई फरक तरिकाले वाच गरिरहेका छन् ।

उनको त्यही आलोचनालाई हेरेर सभापति देउवाले पदाधिकारीमा पराजित भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनित गरेपनि भण्डारी समेटिएका छैनन् ।यो क्षेत्रको प्रदेशसभा ‘क’ मा कांग्रेस नेता धनेन्द्र कार्की र एमाले नेता चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता सदस्य फर्शुराम पाण्डेयले प्रतिस्पर्धामा छन् । यो क्षेत्रको प्रदेश १ (क) मा ५७, ५७९ र १ (ख) ६१७०९ मतदाता रहेका छन् ।

तर लामो समय प्रतिस्पर्धामा रहेका यी नेताहरु एकले अर्कोलाई धेरै आलोचना गर्दैनन् र अनावश्यक आरोप पनि धेरै लगाउँदैनन् । चुनाव जित्दा एकले अर्कालाई सम्मान गर्ने शैली दुवैले बनाएका छन् । २०७० मा भण्डारी निर्वाचित हुँदा ज्ञवालीले खादा ओढाएर गरेको सम्मान २०७४ मा भण्डारीले ज्ञवालीलाई त्यसै गरेर साटेका थिए ।

शालिन र बौद्धिक नेताका रूपमा परिचित ज्ञवालीले निरन्तर काम गर्ने र प्रचार नगर्ने स्वभाव रहेको र जितेपछि मन्त्री बन्ने पहुँचमा रहिरहेकाले पार्टी बाहिरका मत पनि आउने एमाले लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार देवराज खनाल बताउँछन् ।

एमाले नेताहरुले ज्ञवाली देशकै नेता भएकाले जिल्ला र क्षेत्रका धेरै लामो समयका कार्यक्रममा सहभागी हुन नपाएपनि विकासे आयोजनामा सधै नेतृत्वदायी भूमिकामा रहेको बताउँदै आएका छन् । तर जिल्ला र क्षेत्रमा रहेका कार्यकर्तालाई थप समय व्यवस्थापन गर्न माग गरिरहेको उनीहरुको दावी छ ।

भण्डारी जिल्ला र क्षेत्रमा सक्रिय रहँदै आएको र संसद हुँदा र नहुँदा आफ्नो क्षेत्रका समस्यामा सधै चासो र सहभागिता दिने नेता भएकाले यसपटक उनको जितमा कुनै समस्या नभएको रुरुका कांग्रेस निकट व्यवसायी गोपाल ज्ञवाली बताउँछन् ।

‘बलियो गठबन्धन, एमालेको आधार इलाकामा माओवादीले स्थानीय तहमा बढाएको जनमत, प्रदेशमा माओवादीका बलियो उम्मेदार सुदर्शन बरालको उम्मेदारी, प्रदीप ज्ञवाली सत्तामा रहँदाका असन्तुष्टि भण्डारीका जित्ने आधार हुन’– उनले भने–‘अहिले त केन्द्रबाट देउवा समूहको असन्तुष्टिसमेत मिलेर आएपछि पार्टीभित्रको विवाद पनि धेरै समाधान भएको छ, त्यसले पनि धेरै सहज देखिन्छ ।’

लौरो अभियानको प्रभाव कस्तो ?

यो क्षेत्रमा बिगतमा नेता ज्ञवाली र भण्डारी भोट मागेर मैदानमा पुगेका भुवन अर्याले लौरो अभियान लिएर प्रतिस्पर्धामा गएका छन् । एमाले नेता बामदेव गौतम र युवराज ज्ञवाली मन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका अर्याल अघिल्लो चुनावमा कांग्रेस नेता भण्डारीलाई जिताउन लागेका थिए ।

गएको स्थानीय चुनावमा उनकै छिमेकी माओवादीका यदु ज्ञवालीलाई जिताउनेगरी माओवादीमा सक्रिय भएका अर्याल अहिले हाम्रो नेपाल पार्टीको लौरो अभियानबाट उम्मेदार बनेका छन् ।

सधै अरुका लागि समय दिइयो, ऊर्जावान समय दिइयो तर उनीहरुको स्वार्थ मात्र पूरा भयो,नागरिकका लागि केही गर्न सकेनन्, त्यसैले अहिले म आफै मैदानमा पुगेको हुँ, सबैको माया पाएको छु, अब वैकल्पिक शक्तिलाई नागरिकले परीक्षण गर्ने समय आएको छ।’ उनले भने । दु

वै उम्मेदवारसँग उस्तै निकट सम्बन्ध भएका अर्यालले कति मत ल्याउँछन् र कसका मत तान्छन् भन्ने आंकलन अहिले कसैले गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर