मैदानमा कांग्रेसका शीर्ष नेता- सेफ जोन र डेन्जर जोनको यस्तो छ हिसाबकिताब – Nepal Press

मैदानमा कांग्रेसका शीर्ष नेता- सेफ जोन र डेन्जर जोनको यस्तो छ हिसाबकिताब

काठमाडौं । वाम गठबन्धनका कारण २०७४ को प्रतिनिधिसभामा कांग्रेसका अधिकांश शीर्ष नेता पराजित हुन पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन महामन्त्री डा. शशांक कोइराला, उपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह र अहिलेका महामन्त्री गगनकुमार थापा जित्दा धेरै शीर्ष नेता पराजित भएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, तत्कालीन उपसभापति विमलेन्द्र निधि, वर्तमान उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेता पराजित हुन पुगेका थिए ।

अहिले समय फेरिएको छ । उतिवेला वाम गठबन्धनसँग अधिकांश ठाउँमा एकल शक्तिको बलमा लडेको कांग्रेससँग मंसिर ४ मा हुने निर्वाचनमा पाँचदलीय गठबन्धनको ताकत पनि मिसिएको छ । जसको बलमा विगतको तीतो हारलाई जीतमा बदल्ने विश्वास बढेको छ । गठबन्धनकै कारण धेरै शीर्ष नेताले हाइसञ्चो महसुस गरिरहेका छन् । केही नेता भने यसपटक पनि डेन्जर जोनमै छन् ।

देउवालाई सहज डडेल्धुरा

देशभर वाम गठबन्धनको लहर चल्दा २०७४ को निर्वाचनको नतिजाले प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवालाई कुनै प्रभाव पारेन । उनी सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा जित्ने एक्लो सांसद नै रहे । उनले २८ हजार ४४६ मत पाउँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्ट २१ हजार ४९८ मा रोकिएका थिए । देउवा २०४८ देखि डडेल्धुरामा लगातार जित्दै आएका छन् ।

अहिलेको समय देउवाका लागि झनै अनुकूल छ । स्थानीय तहको वडाध्यक्षमा गठबन्धनको मतको छेउछाउ पनि विपक्षी एमाले र अरु कोही पुग्ने स्थिति नै देखिन्न । यहाँ कांग्रेसको २१ हजार ७३५, माओवादी केन्द्रको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एसको ५ हजार ४१, राप्रपाको ७१४ र जसपाको १५६ मत छ ।

अहिले यहाँ देउवासँग कांग्रेस र माओवादी केन्द्रको मत छ । जसको छेउछाउ अरु सबैको मत जोड्दा पनि पुग्ने स्थिति छैन । यहाँ नेपाली कांग्रेस (बीपी)बाट देउवाकै छत्रछायाँमा हुर्किएका कर्ण मल्ल उम्मेदवार छन् । उनलाई एमाले र नेकपा एसको समर्थन छ ।

एमालेकै बागी विक्रमबहादुर शाही लडेका छन् । यस्तै देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका युवा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर, डडेलधुरामा देउवाको लोकप्रियता तथा कांग्रेस र गठबन्धनको मतले उनलाई कुनै खतरा पर्ने देखिँदैन ।

अन्तिम चुनाव जित्ने पौडेलको चाहना

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ मा एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पराजित भएका थिए । विजेता श्रेष्ठ पछिल्लो पटक एमाले विभाजन हुँदा नेकपा एसमा लागेका थिए । नेकपा एस सत्ता गठबन्धनमा छ ।

गठबन्धनको सीट बाँडफाँटका बेला ‘जसले जहाँ जितेको छ, त्यही पाउने’ मापदण्डको चर्चा थियो । यसो हुँदा श्रेष्ठका लागि पौडेलले छाड्नुपर्ने हुनसक्थ्यो । तर, पौडेलले जीवनको अन्तिम चुनाव तनहुँ १ बाटै जितेर मर्न चाहेको भन्दै अड्डी कसे । उनको अड्डीअनुसार अहिले पौडेल तनहुँ १ बाटै सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

तनहुँ १ अहिले पौडेलका लागि पहिलेकोभन्दा सहज पनि देखिएको छ । स्थानीय तह निर्वाचनको वडाध्यक्ष मत परिणामअनुसार कांग्रेस विपक्षी एमालभन्दा निकै फराकिलो मतान्तरले अगाडि छ । यहाँ कांग्रेसको ३३ हजार १०६, एमालेको २२ हजार २१०, माओवादी केन्द्रको ८ हजार ४७४, राप्रपाको १ हजार ७७५, नेकपा एसको ८९२ र जसपाको ५४ मत छ ।

अहिले पौडेलका प्रतिस्पर्धीमा एकबहादुर रानामगर र कांग्रेसको कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित १५ जना छन् । जोशीले पार्ने असरबाट पौडेलको संसद यात्रा प्रभावित हुने देखिन्छ ।

सुरक्षाकै निम्ति गठबन्धनको पक्षमा शेखर

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सभापति देउवा सत्ता गठबन्धन दलबीच तालमेलको पक्षमा हुँदा शेखर-गगन पक्ष विपक्षमा थियो । गठबन्धन गरेर निर्वाचनमा जाँदा भविष्यमा ‘भारतको कांग्रेस आई’को जस्तो अवस्थामा कांग्रेस पुग्ने समूहका नेता कोइरालाको तर्क थियो । यद्यपि पार्टीको बहुमतले तालमेलको निर्णय गरेको थियो ।

पछिल्लो समय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आन्तरिक छलफल सुरू हुँदा पनि कोइरालाको बोली फेरियो । उनी गठबन्धनकै पक्षमा वकालत गर्न थाले । यद्यपि पार्टीले एकल बहुमत ल्याउने गरी सीट बाँडफाँट हुनुपर्ने, आफ्नो समूहलाई न्याय गर्नुपर्ने उनको धारणा थियो ।

यसका पछाडि कोइराला आफू आगामी निर्वाचनमा सुरक्षित हुन चाहन्थे । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ६ मा नेकपा एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए । उतिवेला पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरेका थिए । यसपटक पनि गठबन्धन नहुने हो भने आफ्नो जीत निश्चित नभएको उनको ठम्याइ थियो ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको नतिजाले पनि सोही कुरा संकेत गर्थ्यो । जहाँको मत परिणामअनुसार कांग्रेसभन्दा एमाले धेरै पछि थिएन । उता अन्य दलहरू निर्णायक थिए ।

यो क्षेत्रमा वडाध्यक्षले पाएको मतअनुसार कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादी केन्द्रको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, नेकपा एसको २ हजार ३५५ र लोसपाको ८९५ छ ।

यो समीकरणअनुसार कांग्रेसले गठबन्धन नगरे अर्को गठबन्धन भए कोइरालाका लागि जोखिम हुन्थ्यो । सत्ता गठबन्धनकै अन्य दलहरू गठबन्धनविना मैदानमा नजाने निश्चित देखेपछि कोइराला पनि गठबन्धनकै पक्षमा लागेका हुन् ।

अहिले कोइरालासँग एमालेले पुरानै प्रतिस्पर्धी पण्डितलाई मैदानमा उतारेको छ । कोइरालाका पक्षमा कांग्रेसका साथै माओवादी केन्द्र, नेकपा एस र लोसपाको मत हुनेछ । पण्डितका पक्षमा जसपाको मत थपिनेछ । स्थानीय तहको परिणामअनुसार ३५ हजार ३३२ मत हुँदा पण्डितसँग २८ हजार ४९५ मत हुनेछ ।

उता राप्रपाले आफ्नै उम्मेदवार गोपाल क्षेत्रीलाई उठाएको छ । यस क्षेत्रमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

कोइरालाको यो पाँचौं चुनाव हो । पहिलो पटक २०६४ को संविधानसभा लडेका उनी त्यसवेला पराजित भएका थिए । त्यसपछि दोस्रो पटक २०६५ को उपनिर्वाचन लडेर जितेका थिए । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचन जित्दा २०७४ मा हार्न पुगेका थिए ।

गठबन्धनको बलमा जित्ने खड्काको दाउ

सुर्खेत १ मा वर्तमान उपसभाति पूर्णबहादुर खड्का पनि २०७४ मा वाम गठबन्धनको शक्तिका अगाडि धराशायी भएका थिए । उतिवेला एमाले उम्मेदवार ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

अहिले पनि खड्काको प्रतिस्पर्धा उनै शाहीसँग तय भएको छ । अन्य ६ जना उम्मेदवार पनि छन् । खड्का यसपटक गठबन्धनकै बलमा शाहीसँग हारको बदला लिने यात्रामा छन् । यसबाहेक पार्टीभित्रकै आन्तरिक समस्याबाट पनि सजग देखिएका छन् । इतर समूहबाट हुने आक्रमणलाई ध्यान दिएर खड्काले सुर्खेत २ मा हृदयराम थानीलाई सीट र टिकट दिलाएका छन् ।

स्थानीय तह निर्वाचनअनुसार यहाँ कांग्रेसको ३६ हजार ९२८, एमालेको ३४ हजार ८४३, माओवादी केन्द्रको ५ हजार ७५, राप्रपाको ६६४ र नेकपा एसको ६३४ मत छ ।

देउवाजस्तै सातौं जीतको यात्रामा गच्छदारलाई कठिन

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार मुद्दाको अन्तिम किनारा नलागे पनि उम्मेदवार बन्न पाएका छन् । उनी २०४८ देखियताका ६ निर्वाचनका प्रधानमन्त्री देउवाजस्तै अर्का एकमात्र अविजित पात्र हुन् । जो अहिलेसम्म चुनाव नै हारेका छैनन् ।

यसपटक उनी त्यो सिलसिलालाई देउवाजस्तै सातौं जीतमा रुपान्तरण गर्न चाहन्छन् । जसका लागि सुनसरी ३ लाई नै रोजेका छन् ।

गच्छदारका प्रतिस्पर्धीका रुपमा सुनसरी ३ मा एमालेले पुरानै उम्मेदवार भगवती चौधरीलाई मैदानमा उतारेको छ । यसबाहेक लोसपाका देवनारायण यादव, राप्रपाका कुलदीप यादवसहित २२ जनाको उम्मेदवारी परेको छ ।

गच्छदारलाई कांग्रेससहित, माओवादी केन्द्र र नेकपा एसको साथ छ । एमाले उम्मेदवार चौधरीलाई जसपाले समर्थन गरेको छ ।

यहाँ स्थानीय तह निर्वाचन नतिजाको वडाध्यक्ष मतका आधारमा भने गच्छदारलाई चुनौती देखिएको छ । किनभने एमाले-जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा अगाडि देखिन्छ । यहाँ एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादी केन्द्रको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एसको ६२६ मत छ ।

गच्छदार सांसद जिते पनि लोगो लगाएर सिंहदरवार जान नपाउने कुराले पनि उनी कमजोर बनेका छन् । भगवतीमाथि सहानुभूतिमात्र होइन उनका कारण ५ हजार महिला स्वरोजगार बनेकाले यसपटक उनी हाबी भइरहेकी छन् ।

उपसभापति गुरुङको पहिलो चुनाव

२०७४ सम्म पार्टीको टिकट नपाएका उपसभापति धनराज गुरुङले उपसभापति भएपछि यसपटक बल्ल संसदीय निर्वाचन लड्न पाएका छन् । यसपटक पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई विस्थापित गर्दै गुरुङले स्याङ्जा २ मा टिकट पाएका छन् ।

पहिलो चुनाव फेस गर्दा उनीसामु एमालका सचिव एवं पूर्वमन्त्री पद्माकुमारी अर्याललाई प्रतिस्पर्धीका रुपमा पाएका छन् । अर्यालले २०७४ को निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका पूर्वउपसभापति श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

उपसभापति गुरुङसँग अरु नेतालाई जस्तो गठबन्धनको धेरै भरोसा छैन । किनभने यहाँ माओवादी र नेकपा एस निकै कमजोर छ । जसले गर्दा सीधै प्रतिस्पर्धा एमाले र कांग्रेसको छ ।

गुरुङ यसपटक अर्याललाई पराजित गर्न चाहन्छन् । साथै आफू अहिलेसम्म लाभको पदमा नरहेको र नेताको जीवन पारदर्शी हुनुपर्ने एजेण्डासहित चुनावी मैदानमा होमिएका छन् । यद्यपि विपक्षले उनी सार्वजनिक पदमा नपुग्दै रातो पासपोर्ट बेचबिखन प्रकरणमा मुछिएको पुरानो प्रसंगलाई चुनावका वेला जोडतोडका साथ उठाइरहेका छन् ।

गएको स्थानीय तह निर्वाचनको नतिजाअनुसार यो क्षेत्र गुरुङका लागि केही अनुकूल भने देखिन्छ । यहाँ वडाध्यक्ष मतअनुसार कांग्रेसको ३६ हजार ८०६, एमालेको ३४ हजार ८०९, माओवादी केन्द्रको १ हजार २४३, राप्रपाको ५११ र नेकपा एसको २३३ मत छ ।

गगनको अग्निपरीक्षा

कांग्रेसका लोकप्रिय युवा नेता गगन थापाले लगातार दुईपटक निर्वाचन जितिसकेको क्षेत्र हो- काठमाडौं ४ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई छिचोलेर उनले चुनाव जितेका थिए । पछिल्लो समय उनी पार्टीको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ महामन्त्री चुनिएका थिए ।

अघिल्ला दुई चुनाव सहजै जितेका थापाका लागि यसपटकको काठमाडौं ४ को ‘ब्याटल ग्राउन्ड’ले लोकप्रियताको अग्निपरीक्षा लिँदैछ । गएको स्थानीय तह निर्वाचनमा उनको निर्वाचन क्षेत्रमा पर्ने भूगोलमा एमालेले बलियो उपस्थिति देखाएको छ । जसका कारण उनको कठिन परीक्षा हुने निश्चित छ ।

यसबाहेक काठमाडौंमा स्वतन्त्रहरूको बोलवाला बढेको अवस्थाले उनको अवस्था के हुन्छ ? त्यो हेर्नलायक छ ।

थापासँग एमालेले अझै राजन भट्टराईलाई नै मैदानमा उतारेको छ । भट्टराई थापासँग २०७४ मा पराजित भएका थिए । थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत पाएका थिए । भट्टराईलाई त्यतिवेला माओवादी केन्द्रको पनि साथ थियो ।

यसबाहेक राप्रपाले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठलाई मैदानमा उतारेको छ । यहाँ ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअनुसार वडाध्यक्ष मतमा यहाँ पहिलो दल एमाले र दोस्रोमा कांग्रेस छ ।

जसअनुसार एमालेको १६ हजार ५०७, कांग्रेसको १५ हजार ७६३, नेकपा एसको २ हजार ४१४, राप्रपाको २ हजार २९३, माओवादी केन्द्रको ८४४ र जसपाको ३१७ मत छ ।

सिटौलालाई अझै लिङ्देन तगारो

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिकतर्फको बन्दसूचीमा पहिलो नम्बरमा राखेको थियो । उनको गृहक्षेत्र झापा ३ राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइने सहमति थियो । तर, सिटौला मानेनन् । प्रत्यक्ष लड्ने अड्डी लिइछाडे ।

सिटौलाविरुद्ध लिङ्देनलाई वाम गठबन्धनले सघायो । लिङ्देन ४४ हजार ६१४ मतसहित विजयी भए । सिटौला ३१ हजार १७१ मा रोकिए ।

यसपटक पनि लगभग उस्तै अवस्था दोहोरिएको छ । आफ्ना लागि झापा ३ सिटौला नछाड्ने लक्षण नदेखेका लिङ्देन एमालेसँगको तालमेलमा गएका छन् । सिटौला सत्ता गठबन्धनको शक्तिमा लड्दैछन् ।

तर, स्थानीय तह निर्वाचनको वडाध्यक्ष मतको नतिजाअनुसार समीकरण सिटौलाको प्रतिकूल देखिन्छ । एक्लाएक्लैमा कांग्रेस २५ हजार ९४९ मतसहित पहिलो छ । तर, राप्रपाको २१ हजार १५९ मत र एमालेको २१ हजार ८५ मत लिङ्देनको बाकसमा मिसिँदा माओवादी केन्द्रको ६ हजार ६८८ मतले सिटौलालाई पार लाग्ने देखिन्न ।

यसकारण सिटौलाले यसपटक लिङदेनलाई हराउन एमालेको मत पनि तान्नपर्छ । जुन निकै कठिनमात्रै होइन असम्भव देखिन्छ ।

लगातार चौथो जीतको आकांक्षी प्रकाशमान

काठमाडौं १ मा लगातार तीन चुनाव जितेका पूर्वमहामन्त्री प्रकाशमान सिंह चौथो जीतको आशासहित मैदानमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा पत्नी सिर्जना सिंहलाई ओराल्दा झट्का खेपेका सिंहका लागि काठमाडौंको जनमतको प्रभावको अवस्था भने पहिलेजस्तो सहज देखिँदैन । तर, स्थानीय तह निर्वाचनको वडाध्यक्ष मतको समीकरण, गठबन्धनलगायतका सहारामा सहज महसुस गरिरहेका छन् सिंह ।

सिंहको प्रतिस्पर्धीकै रुपमा यसपटक पुन रवीन्द्र मिश्र मैदानमा छन् । तर, उनको शक्ति पहिले जस्तो छैन । मिश्र दल पनि फेरेर आएका छन् । अघिल्लो पटक विवेकशील साझाबाट उम्मेदवार बनेर सिंहसँग झिनो मतान्तरमा पराजित मिश्र अहिले राप्रपाबाट उम्मेदवार भएका छन् ।

यस्तै एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई मैदानमा उतारेको छ । रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीबाट युवा अभियन्ता पुकार बम मैदानमा छन् ।

यस्तै सुशासनको नारा बोकेर नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल नेपाल सुशासन पार्टी खोलेर मैदानमा उत्रिएका छन् ।

स्थानीय तह निर्वाचनको वडाध्यक्षले पाएको मतानुसार यहाँ कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६ र माओवादी केन्द्रको १ हजार १५९ मत छ ।

हारको ह्याट्रिक छिचोल्ने दाउमा विश्वप्रकाश

कांग्रेसका लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री भइसके । तर, संसदीय राजनीतिको अभ्यास भने हासिल गर्न सकेका छैनन् । पार्टीले उनलाई २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट अवसर दिएको थियो । तर, दुवैपल्ट उनी जित्न सकेनन् । हरेकपल्ट आफू हार्दा जितेका उम्मेदवारलाई जीतको माला पहिर्‍याउँदै शुभकामना दिने सिलसिलामात्रै चल्यो ।

यसपटक उनी फेरि उही मैदान झापा १ मा हारको ह्याट्रिकबाट बच्ने चाहनाका साथ ओर्लिएका छन् । सँगै यसपटक गठबन्धनको सहारामा उम्कने रणनीतिमा छन् ।

महामन्त्री शर्मालाई टक्कर दिन एमालेले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्निप्रसाद खरेललाई मैदानमा ओरालेको छ । खरेलबाहेक जसपाकी राधा थापा, लोसपाकी ओलीन राजवंशी मैदानमा छन् । यस क्षेत्रमा बलियो मत रहेको राप्रपाले एमालेलाई सघाउनेछ । जुन शर्माका लागि कठिनाइ हुने देखिन्छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको नतिजा भने शर्माको सापेक्ष छैन । यहाँका वडाध्यक्षको मतमा एमालेको ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राप्रपाको ५ हजार ९२२, माओवादी केन्द्रको ३ हजार ९०५, नेकपा एसको १ हजार २५२ र लोसपाको १६२ मत छ ।

शर्मा यहाँ वाम गठबन्धनका साथै आफ्नो व्यक्तिगत लोकप्रियता र दुईपटकको हारका कारण सहानुभूतिको मत बटुल्ने रणनीतिमा छन् ।

शशांकलाई सहज समीकरण

गएको निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका वेला सहजै जीत निकालेका पूर्वमहामन्त्री डा. शशांक कोइराला यसपटक पनि नवलपुर १ बाटै निर्वाचन लड्दैछन् । यसपटक एमालेले उनका विपक्षमा संविधानसभा सदस्य निर्वाचित कृष्णप्रसाद पौडेललाई अघि सारेको छ । राप्रपाले डा. मोहनीलाल भुसाललाई उतारेको छ ।

गएको स्थानीय तह निर्वाचनको वडाध्यक्षले पाएको मत परिणामअनुसार यो क्षेत्रमा कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादी केन्द्रको १ हजार ९२१, जसपाको १८८ मत छ । माओवादी केन्द्रले कोइरालालाई सहयोग गर्दा जसपाले एमालेलाई सहयोग गरेको छ ।

यसअनुसार पनि कोइरालाका लागि यो समीकरण सहज देखिन्छ । कोइराला यो अन्तिम पटक भनेर चुनाव लडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर