केपी ओलीको गुण तिर्छु भन्दै एसिड अपराधविरुद्धका अभियन्ता उज्ज्वल थापा सिन्धुलीमा – Nepal Press

केपी ओलीको गुण तिर्छु भन्दै एसिड अपराधविरुद्धका अभियन्ता उज्ज्वल थापा सिन्धुलीमा

एमाले भेलामा उज्ज्वलले भने- ओलीमा मानवता देखें, लिडरशीपमा मानवता भएन भने देश बन्दैन

सिन्धुली । एसिड अपराधविरुद्धका अभियन्ता उज्ज्वलविक्रम थापाले गृहजिल्ला सिन्धुली पुगेर नेकपा एमालेका उम्मेदवारको पक्षमा मत मागेका छन् । एसिड आक्रमणमा परेकाहरुको उद्धार, उपचार तथा पुनःस्थापनाको अभियान चलाएर स्थापित अभियन्ता थापाले केही वर्षअघि राप्रपासँगको आबद्धता त्यागेर स्वतन्त्र बनेका थिए ।

सिन्धुली क्षेत्र नम्बर १ अन्तर्गत दुधौली नगरपालिकाको खोरभञ्ज्याङ पुगेर थापाले एमालेको चुनावी कार्यक्रममा सहभागिता जनाएका छन् । बुधबार आयोजित भेलामा उनले सहिद ऋषि देवकोटा आजादका पुत्र सुवास देवकोटासमेत उम्मेदवार रहेको सो प्रदेशसभामा एमालेका उम्मेदवारलाई शुभकामना दिए ।

अभियन्ता थापाले आफू तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुणको पैंचो तिर्न एमालेको सभा कहाँ छ भनेर खोज्दै आएको बताएका थिए । ओलीको पालामा उनकै पहलमा सरकारले एसिड अपराधविरुद्ध कडा कानून ल्याएको थियो ।

थापाले भने, ‘मैले एमालेको सभामा आउनुभन्दा अगाडि सुवास भाइलाई धेरैपटक फोन गरेर कहाँ छ भनेर आएको हुँ । केपी ओलीले लगाएको गुणको पैंचो तिर्न आएको हुँ । उहाँमा मानवता देखें । लिडरशीपमा मानवता छैन भने परिपक्व पनि हुँदैन र कम्प्लिट पनि हुँदैन । देशको विकास पनि पूर्ण रुपमा हुँदैन । यहाँ प्रतिस्पर्धा निष्पक्ष होस्, चुनाव हिंसारहित होस्, एमालेलाई शुभकामना !’

सो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा प्रदीप कटुवाल उम्मेदवार छन् । प्रदेशसभामा सुवास देवकोटा र रामकुमार कार्की उम्मेदवार छन् । गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका श्याम घिमिरे प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर