घनश्याम भुसाल समूहको समानुपातिक मत कुन पार्टीलाई ? – Nepal Press

घनश्याम भुसाल समूहको समानुपातिक मत कुन पार्टीलाई ?

भुसाल भन्छन्–निर्णय गरेको छैन उपयुक्त ठाउँमा दिन्छु,समर्थक नेता कार्यकर्ता अन्यौलमा

रुपन्देही । नेकपा एमालेबाट टिकट नपाएपछि सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदारी दिएका नेता घनश्याम भुसाल र उनलाई समर्थन गर्ने समूहले मंसिर ४ गतेको निर्वाचनमा समानुपातिक मत कसलाई दिन्छ भन्ने अहिले चासोको विषय बनेको छ ।

रुपन्देहीमा भुसाललाई ५ दलको समर्थन छ तर उनको समानुपातिक मत दिने कुनै पार्टी छैन । त्यसो त घनश्याम भुसाल रुपन्देहीका मात्र नेता होइनन् । नेकपा एमालेमा उनको देशभर आफ्नै सञ्जाल छ । एमाले केन्द्रीय कमिटीमै पनि उनी निकट कतिपय केन्द्रीय र प्रदेश तहका नेता नै भुसालको प्रचार सामाग्री शेयर गरिरहेका छन् ।

भुसाल आफैले समानुपातिक मत कसलाई दिने भन्ने विषय निर्णय नगरेकाले उनलाई समर्थन गर्ने समूहमा रहेकाहरुले यो विषयमा मुख खोल्न चाहेनन् । भुसाललाई माओवादीले आफूले पाएको सीट छाडेको हो ।

त्यस हिसाबले उनको समूहको समानुपातिक मत माओवादीले अपेक्षा गर्नु स्वभाविक हो । तर माओवादीलाई समानुपातिक मत माग्दा गठबन्धनका अन्य दलको मत नआउँने डरले पनि उनी बोलेका छैनन् ।

उम्मेदार मनोनयन गर्ने अघिल्लो दिन एमाले स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेका भुसालले ४५ वर्षे राजनीतिक सम्बन्धलाई परित्याग गरेको घोषणा गरेका थिए । मनोनयन गर्ने दिन बिहान सत्तारुढ दलको समर्थनमा स्वतन्त्र रुपमा रुपन्देही क्षेत्र नं १ बाट उम्मेदारी दर्ता गर्ने घोषणा गर्दै दिउसो मनोनयन गरेका थिए ।

उम्मेदारी मनोनयनपछि निर्वाचन आयोगले उनलाई त्रिभुज चुनाव चिन्ह दिएको छ । उनको उम्मेदारी रहेको रुपन्देही १ मा प्रदेश सभाका दुवै सदस्य गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठेका छन् । दिनहुँ हुने चुनावी कार्यक्रममा सबै दलका ब्यानरमा भुसाल सहभागी भएका छन् ।

भुसालको उम्मेदारी परेको क्षेत्र गठबन्धनमा माओवादीलाई परेकाले केहीले उनले समानुपातिकमा माओवादीलाई नै मत दिन्छन् कि भनेर आंकलन गरेका छन् भने केहीले नेकपा एसलाई दिने अनुमान गरेका छन् । केहीले भने यो पटक एमालेलाई दिनसक्छन् भनेर पनि अड्कल गरेका छन् ।

भुसालले एमाले छाडेसँगै उनलाई समर्थन गर्ने केहीले एमाले पार्टीे छाडेर उनलाई साथ दिएको घोषणा गरिसकेका छन् तर उनीहरुमध्ये अधिकांशले समानुपातिक मत कसलाई दिने भन्ने नेपाल प्रेसको प्रश्नको जवाफ दिएनन् ।

मंगलबार राती नेपाल प्रेसले तपाईको समानुपातिक मत कहाँ जान्छ ? भन्ने प्रश्नको जवाफमा नेता घनश्याम भुसाल एकछिन हाँसे अनि भने,‘अहिले केही निर्णय गरेको छैन, उपयुक्त ठाउँमा दिन्छु ।’भुसाललाई साथ दिने धेरैलाई यो प्रश्न सोधेपनि अधिकांशको जवाफ आएको छ अहिले केही टुंगो नै छैन ।

केहीले भने,‘केपी ओलीको हेपाईका कारण एमालेको जिम्मेवारीमा साथ छोडेका हौं, भुसाललाई प्रत्यक्षमा साथ दिए पनि समानुपातिकमा एमालेलाई नै दिन्छौं तर हाम्रो नाम अहिले सार्वजनिक नगरिदिनुहोुस् ।’

नेता घनश्याम भुसालले मुख नखोले पनि उनका सहोदर भाइ भरत भुसालले केपी ओलीको एमालेलाई कुनै पनि हालतमा समानुपातिकमा मत नहाल्ले आफूले निर्णय गरेको र अरु कसलाई दिने भन्ने विषयमा अझै नसोचेको सुनाए ।

‘यो विषयमा सान्दाई (घनश्याम भुसाल)सँग नि सल्लाह भएको छैन, नयाँ प्रश्न आयो, भोट एमालेलाई त दिन्न नै, अरु पनि कसलाई दिने, पहिलो सूचीमा पहुँचवाला नेताले आफ्नै मान्छे राखेका छन्, मुख्य नेताहरु नै अगाडि छन् किन समानुपातिकमा मतदान गर्ने भन्ने अवस्थामा पुगेको छु म । तर मेरो मात्रै विचार हो यो परिवारमा कसैसँग सल्लाह छलफल भएको छैन।’  भरतले भने ।

नेता घनश्याम भुसालले एमाले छाडेपछि एमाले लुम्बिनी प्रदेश कमिटीबाट राजीनामा दिएर भुसालको पक्षमा लागेका नेता सनोजकुमार यादवले प्रत्यक्षमा भुसाललाई दिएपनि समानुपातिकमा कसलाई दिने भन्ने विषयमा केही छलफल र सोच नै नभएको बताए ।

‘यो विषयमा केही कुरा नै भएको छैन, साँच्चिकै अलमलमा पार्नुभयो, चुनावसम्म स्वतन्त्ररुपमै बस्ने र त्यसपछि बन्ने बामगठबन्धनमा कसरी जाने भनेर सल्लाह गर्ने हो, समानुपातिक मत कसलाई दिने भन्ने विषयमा अहिले केही नबोलौं, बोले विवादमा परिन्छ ।’ नेता यादवले भने ।
उनीसँगै एमाले छाडेर भुसालको प्रचार प्रसारमा लागेका एमाले प्रदेश कमिटीका पूर्व सदस्य सैलेन्द्र उपाध्यायले अहिले यो विषयमा बोल्ने समय नआएको बताए ।

तर भुसाललाई साथ दिएका भैरहवा केही नेताले भने प्रत्यक्षमा भुसाललाई दिएपनि समानुपातिकमा सूर्यमा नै मतदान गर्ने बताए ।
‘अहिले हामीले सार्वजनिक भएर बोले भुसाल सरको माहोल बिग्रनसक्छ, समानुपातिकमा अन्त हात जाँदैन, नेतृत्वको गलत निर्णयले उहाँलाई अन्याय गरेर बाहिर पारेकाले साथ दिएका हौं, हामी एमाले विरोधी होइनौं’ ती नेताले भने,‘पछिको कुरा त अहिले भन्ने कुरा भएन, अहिलेको समानसपातिक मत एमालेलाई नै दिने हो, यति लामो समय लगानी गरेको पार्टी हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर