इतर समूह तितरबितर- छैटौंपटक प्रधानमन्त्री बन्ने बाटोमा देउवालाई छैन आन्तरिक ‘स्पिड ब्रेकर’ – Nepal Press

इतर समूह तितरबितर- छैटौंपटक प्रधानमन्त्री बन्ने बाटोमा देउवालाई छैन आन्तरिक ‘स्पिड ब्रेकर’

चुनावअघि नै संसदीय दलमा देउवा हावी, शेखर-गगन समूह २४ प्रतिशतमा खुम्चियो

काठमाडौं । सत्तारूढ गठबन्धनको सीट बाँडफाँटलाई लिएर नेपाली कांग्रेसभित्र आन्तरिक किचलो भएको थियो । विशेषगरी शेखर-गगन समूहले टिकट वितरणमा ‘न्याय र समानता’को माग गर्दै खबरदारीसभा गर्नेदेखि लिएर पार्टी कार्यालयमा धर्ना दिनेसम्मका गतिविधि गरेको थियो ।

यो समूहले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरिरहेको आरोप लगाइरहेको थियो । यही कारण न्याय र समानताका आधारमा टिकट वितरण नहुने हो भने ४० प्रतिशत भागबन्डा पाउनुपर्ने माग गरेको थियो ।

यसबाहेक यो समूहले गठबन्धनको सीट बाँडफाँटमा आफ्नो समूहका नेताहरू रहेको क्षेत्र अन्य दललाई दिनेसम्मका गतिविधि हुनसक्ने भन्दै गठबन्धनविरुद्ध नै आवाज उठाउन थालेका थिए ।

अहिले कांग्रेसभित्र देखिएको विवाद सामसुम भएको छ । शेखर-गगन समूहका नेता डा. शेखर कोइरालाले नै कांग्रेसभित्र ‘देउवा र आफू मिलिसकेको’ र ‘कांग्रेसभित्र गुटसुट सकिएको’ अभिव्यक्ति दिन थालेका छन् । देउवा र आफू मिलिसकेकाले कार्यकर्ताहरू पनि आपसमा मिल्न उनले आह्वान गरिरहेका छन् ।

कांग्रेसभित्र उत्कर्षमा पुगेको विवाद यो अवस्थासम्म आइपुग्न आन्तरिक भागबन्डाको वितरणपछि सम्भव भएको हो । यसमा सभापति शेरबहादुर देउवा नै सफल देखिएका छन् । उनले विवाद पनि समाधान गरिदिएका छन् नै । साथै इतर समूहलाई छिन्नभिन्न पार्दै शेखर-गगन समूहको आकार पार्टीभित्रै साँघुरो पारिदिएका छन् । जसले आगामी संसदीय दलमा पनि देउवाकै प्रभुत्व यथावत रहने सुनिश्चित देखिएको छ ।

त्यसो त अहिले टिकट पाएका २२ शेखर-गगन समूहका नेतामध्ये पनि संसदीय दलको चुनावसम्म पुग्दा देउवातिर खुलिसक्ने अनुमान छ । टिकट लिँदै उनीहरुले समूह छाडिसकेका छन् र कोटामात्र शेखर–गगनको गनिएको छ ।

इतर समूह टुक्राटुक्रा र कमजोर

सभापति देउवाले १४औं महाधिवेशनदेखि नै आफ्नो रणनीति एकैनासले अगाडि बढाइरहेका छन्- आफूविरुद्ध सभापति लडेर ४० प्रतिशत ल्याएका शेखरलाई कमजोर बनाउने ।

त्यसका लागि महाधिवेशनमा कमजोर देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र समूहविहीन देखिएका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई केही शक्ति दिएर राख्ने । यसबाहेक महाधिवेशन अगाडि नै आफूसँग मिलेका पूर्वमहामन्त्री कृष्ण सिटौलासँग पनि केही शक्ति सञ्चित गराइराख्ने देउवाको रणनीति देखिन्छ ।

यसरी आन्तरिक शक्ति समीकरणमा खेलिरहेका देउवा यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष टिकट बाँडफाँटमा पनि सफल भएका छन् । जसमा इतर समूहलाई उनले सिटौला समूह, शेखर-गगन समूह, प्रकाशमान-विश्वप्रकाश समूह र रामचन्द्र-शशांक समूहमा विभक्त पारिदिएका छन् ।

यसरी बाँडफाँट गर्दा देउवा कांग्रेसले उम्मेदवारी दिएका ९१ सीटमध्ये ५५ प्रतिशत अर्थात ५० सीटमा आफूपक्षीय उम्मेदवार खडा गर्न सफल भएका छन् । महाधिवेशनमा आफूलाई साथ दिएका सिटौलालाई ६ सीट, दोस्रो चरणमा साथ दिएका प्रकाशमान-विश्वप्रकाश समूहलाई ६ सीट र तटस्थ बसेर सघाएका रामचन्द्र-शशांक समूहलाई ७ सीट दिएर सबैको अस्तित्व रक्षा गरिदिएका छन् । जसले शेखर-गगन समूहलाई संकुचित पार्न देउवालाई सहज भएको छ । यसरी बाँकी रहेका २२ सीटमा मात्रै यो समूहले चित्त बुझाउनुपरेको छ । जुन कांग्रेसका कूल प्रत्यक्ष उम्मेदवारको २४ प्रतिशतमात्रै हुन आउँछ ।

देउवाले आन्तरिक बैठकमा शेखर गगन समूहलाई ३० प्रतिशत दिने बताएका थिए । तर, प्रतिनिधिसभामा भन्दा सो समूहलाई प्रदेशमा धेरै टिकट दिएर व्यवस्थापन गर्न खोजिएको छ ।

देउवाका लागि संसदीय दल ‘सुरक्षित’

पार्टीभित्रै आधा दर्जन नेताले प्रधानमन्त्रीको आशासहित चुनावमा होमिइरहँदा देउवाले चुनावअघि नै आगामी संसदीय दलको नेताको पद सुरक्षित गरिसकेका छन् । टिकट बाँडफाँटमा रणनीति सफल भएसँगै आगामी संसदीय दलको चुनाव पनि देउवाका लागि सहज हुने देखिएको छ ।

इतर समूहबाट प्रधानमन्त्रीको चाहना राखिरहेका महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, पूर्वमहामन्त्रीहरू सिंह र कोइरालाका लागि आगामी संसदीय दलको नेताको चुनावमा हुने सम्भावित मतदाता नै कम हुने पक्का भइसकेको छ ।

संसदीय दलको नेताका लागि हुने चुनावमा कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकबाट चुनिएर जाने प्रतिनिधिसभाकै सांसदहरू हुने गर्छन् । टिकट वितरणमै प्रधानमन्त्रीका आकांक्षी निकटका उम्मेदवार कम भए उनीहरूको मत पनि कम हुने निश्चित छ ।

देउवाले अन्य आकांक्षीहरूका लागि निर्वाचनअघि नै यही अवस्था तय गरिदिएका छन् । समानुपातिकतर्फ सम्भावित सांसदहरू बढीजसो आफूनिकट नै पर्नेगरी बन्दसूची तयार पारेका छन् । त्यसपछि प्रत्यक्षमा पनि टिकट बाँडफाँटबाटै आफूलाई सुरक्षित पारेका छन् ।

अब इतरतर्फका आंकाक्षीहरू एक्लाएक्लै लड्दा उनीहरूको समूहका सांसद नै कम हुनेछन् । उनीहरू एकजुट हुनसक्ने अवस्था कमजोर हुन्छ । भइहाले पनि सबैजसो सांसद एकढिक्का भएर देउवाविरुद्ध जाने अनुहार देखिँदैनन् ।

यदि एक ढिक्का भइहाले पनि आफूबाहेकका सबै समूहलाई उनले ४५ प्रतिशतमा सीमित पारिदिएका छन् । जसले आगामी प्रतिनिधिसभामा कांग्रेसको संसदीय दलको नेतामा देउवा सहजै चुनिनेछन् । त्यसपछि कांग्रेस नेतृत्वको सरकार भए उनी छैटौंपटक प्रधानमन्त्री बन्नेछन् ।

कांग्रेसका ९१ सीट आन्तरिक भागबन्डा

संस्थापन समूह

१) डडेलधुरा – शेरबहादुर देउवा

२) सुर्खेत १ – पूर्णबहादुर खड्का

३) सुनसरी ३ – विजयकुमार गच्छदार

४) बाँके ३ – किशोरसिंह राठौर

५) पाँचथर – भीष्मराज आङदेम्बे

६) धनुषा ४ – महेन्द्र यादव

७) मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

८) सिरहा २ – चित्रलेखा यादव

९) कञ्चनपुर २ – एनपी साउद

१०) धनकुटा – सुनिल थापा

११) उदयपुर १ – डा. नारायण खड्का

१२) रुपन्देही ३ – बालकृष्ण खाण

१३) अर्घाखाँची – पुष्पा भुसाल

१४) सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

१५) कैलाली ४ – वीरबहादुर बलायर

१६) कञ्चनपुर ३ – रमेश लेखक

१७) कैलाली १ – रामजनम चौधरी

१८) पर्सा ४ – रमेश रिजाल

१९) पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

२०) रसुवा – मोहन आचार्य

२१) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

२२) पर्सा २ – अजयकुमार चौरसिया

२३) ललितपुर १ – उदयशमशेर राणा

२४) ओखलढुंगा – रामहरि खतिवडा

२५) सिरहा १ – पद्मनारायण चौधरी

२६) तनहुँ २ – शंकर भण्डारी

२७) पर्वत – अर्जुन जोशी

२८) तेह्रथुम – सीता गुरुङ

२९) चितवन २ – उमेश श्रेष्ठ

३०) नवलपरासी २ – देवेन्द्र कँडेल

३१) नवलपरासी १ – विनोद चौधरी

३२) चितवन १ – विश्वनाथ पौडेल

३३) सुनसरी २ – सीताराम मेहता

३४) रुपन्देही ५ – भरतकुमार शाह

३५) मनाङ – टेकबहादुर गुरुङ

३६) रामेछाप – कान्छाराम तामाङ

३७) झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

३८) सप्तरी ३ – दिनेशकुमार यादव

३९) अछाम २ – पुष्पबहादुर शाह

४०) भक्तपुर २ – दुर्लभ थापा

४१) इलाम २ – डम्बर खड्का

४२) कैलाली ५ – डिल्लीराज पन्त

४३) महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

४४) सर्लाही ४ – नागेन्द्रकुमार राय

४५) सिन्धुली १ – श्यामकुमार घिमिरे

४६) म्याग्दी – खमबहादुर गर्जुवा

४७) नवलपुर २ – विष्णुकुमार कार्की

४८) कपिलवस्तु ३ – अभिषेकप्रताप शाह

४९) बाँके २ – सुदीपनरसिंह राणा

५०) मुगु – ऐनबहादुर शाही

शेखर-गगन समूह

१) मोरङ ६ – शेखर कोइराला

२) काठमाडौं ४ – गगनकुमार थापा

३) स्याङ्जा २ – धनराज गुरुङ

४) बाजुरा – बद्री पाण्डे

५) नुवाकोट २ – अर्जुननरसिंह केसी

६) दार्चुला – दिलेन्द्रप्रसाद बडू

७) सोलुखुम्बु – बलबहादुर केसी

८) गुल्मी १ – चन्द्र भण्डारी

९) वर्दिया १ – सञ्जय गौतम

१०) सुर्खेत १ – हृदयराम थानी

११) सप्तरी ४ – तेजुलाल चौधरी

१२) मोरङ १ – डिकबहादुर लिम्बु

१३) मोरङ ३ – सुनिल शर्मा

१४) सप्तरी १ – रामदेव साह

१५) धनुषा २ – रामकृष्ण यादव

१६) रौतहट ४ – देवपप्रसाद तिमिलसिना

१७) धादिङ २ – रामनाथ अधिकारी

१८) स्याङ्जा १ – राजु थापा

१९) गोरखा १ – राजेन्द्र बजगाईँ

२०) रुपन्देही ५ – प्रमोद यादव

२१) पाल्पा १ – ज्ञानबहादुर गाहा

२२) रौतहट २ – फिर्दोष आलम

सिटौला समूह

१) झापा ३ – कृष्णप्रसाद सिटौला

२) काठमाडौं ५ – प्रदीप पौडेल

३) बारा १ – उमाकान्त चौधरी

४) काभ्रे १ – शिवप्रसाद हुमागाईँ

५) काठमाडौं ६ – भीमसेनदास प्रधान

६) झापा ४ – देउकुमार थेवे

प्रकाशमान-विश्वप्रकाश समूह

१) काठमाडौं १ – प्रकाशमान सिंह

२) झापा १ – विश्वप्रकाश शर्मा

३) मोरङ २ – सुजाता कोइराला

४) काठमाडौं १० – राजेन्द्रकुमार केसी

५) कास्की १ – किशोरदत्त बराल

६) काठमाडौं ३ – सन्तोष चालिसे

रामचन्द्र-शशांक  समूह

१) तनहुँ १ – रामचन्द्र पौडेल

२) नवलपुर १ – शशांक कोइराला

३) दाङ ३ – दीपक गिरी

४) संखुवासभा – दीपक खड्का

५) मुस्ताङ – योगेश गौचन थकाली

६) कपिलवस्तु २ – सुरेन्द्र आचार्य

७) दैलेख २ – दिक्पाल शाही


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर