चुनावमा सरकार ‘थुत्छ’ इजाजतप्राप्त हतियार, तर राजधानीमै कसरी भित्रिन्छ अत्याधुनिक पेस्तोल ? – Nepal Press

चुनावमा सरकार ‘थुत्छ’ इजाजतप्राप्त हतियार, तर राजधानीमै कसरी भित्रिन्छ अत्याधुनिक पेस्तोल ?

काठमाडौं । मंसिर ४ को चुनावलाई मध्यनजर गर्दै गृहमन्त्रालयले सर्वसाधारणले लिएका इजाजतप्राप्त हतियार प्रशासनलाई बुझाउन सार्वजनिक आव्हान गरेको छ ।

सुरक्षा चुनौती बढाउन सक्ने भन्दै निर्वाचनपछि फिर्ता लैजाने गरी प्रशासनलाई बुझाउन मन्त्रालयले सार्वजनिक सूचना जारी गरिसकेको छ । जिल्लाले त्यही अनुसार बुझ्दैछ । तर, इजाजत लिएर राखिएका यस्ता हतियार चुनावका लागि साँच्चिकै चुनौतीपूर्ण हुन्छन् त ? स्थानीय प्रशासनले हातहतियार बुझाउन भनिरहेको बेला संघीय राजधानीमै अत्याधुनिक हतियार सजिलै भित्रिरहेका घटना सार्वजनिक भएका छन् । पछिल्ला केही तीन घटना यहाँ सार्वजनिक गरिएको छ ।

दसैँको पूर्वसन्ध्यामा काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हान्न प्रयोग भएको पेस्तोल भारतबाट ल्याइएको प्रहरीको निष्कर्ष छ । पेस्तोल ल्याउन प्रयोग भएका व्यक्तिहरू पक्राउ परिसकेका छन् । प्रहरीका अनुसार उनीहरूको काम काठमाडौंसम्म पेस्तोल ल्याएर भनिएका व्यक्तिलाई बुझाउनु मात्र थियो । गोठाटार गोलीकान्डमा कम्तीमा दुईवटा पेस्तोल घटनास्थलमा प्रयोग भएको प्रहरीको भनाइ छ ।

असारमा मात्र ललितपुरमा एक व्यक्तिलाई फसाउन उनी चढेको मोटरसाइकलमा पेस्तोल राखिएको प्रहरीले फेला पारेको थियो । लुभुस्थित सहयोगी सहकारीका म्यानेजर श्यामकृष्ण श्रेष्ठलाई फसाउन सोही सहकारीका अध्यक्ष अनिल श्रेष्ठले योजना बनाएको पाइएको थियो । हिरासतमा लिएको करिब तीन सातापछि निर्दोष रहेको श्यामकृष्णलाई छाडिएको थियो । प्रहरीका अनुसार उक्त पेस्तोल पनि भारतबाटै ल्याइएको थियो ।

आइतबार मात्र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित एक घरमा पेस्तोल देखाएर डकैती गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको साथबाट प्रहरीले स्पेसल मेड इन इटाली लेखिएको एक थान पेस्तोल, एक थान म्यागजिन र दुई राउण्ट गोली पनि बरामद गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइराला साना हतियारहरू बढी चोरी, डकैतीमा प्रयोग हुने गरेको बताउँछन् । ‘कहिलेकाहीँ गुन्डागर्दीमा संलग्नहरुबाट पनि यस किसिमका हतियारहरू बरामद हुने गरेका छन्’, उनले भने ।

मनोज पुन नेतृत्वको गिरोह नियन्त्रणमा आउनुअघि केही समय नेपालमा पेसेबर सुटरको बिगबिगी थियो । भारतसँग सीमा जोडिएका जिल्लादेखि काठमाडौंसम्म मागिएको पैसा नदिएका कारण दिनदहाडै गोली हानेर हत्या भएका घटना सामान्य बन्दै गएका थिए । नेपाल निर्माण व्यवशायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि मनोज पुनको इनकाउन्टर, समिरमान बस्नेतसहित गिरोहका अन्य केहीको पक्राउले व्यावययिकक हत्याको शृंखला रोकिएको दाबी प्रहरी अधिकारीहरू गर्छन् । तर, साना हतियारहरु काठमाडौं भित्रने क्रम भने रोकिएको छैन । ०६२/६३ सालको जनआन्दोलनपछि तराईमा उब्जिएका सशस्त्र समूहबाट पछिल्लो ६ वर्ष (चालु आर्थिक वर्षबाहेक) मात्र काठमाडौं उपत्यकामा ३८ थान पेस्तोल बरामद भएको प्रहरी तथ्यांक छ । १४ थान कटुवा पेस्तोल र तीन थान रिभल्बर बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो अवधिमा देशभर बरामद भएका पेस्तोल, रिभल्भर, कटुवाजस्ता साना हतियारको तथ्यांकले देशको सुरक्षा चुनौतीबारे बुझ्न सकिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर गत आर्थिक वर्ष ४२ थान पेस्तोल र ३६ थान कटुवा बरामद भएको थियो । पेस्तोलमा प्रयोग हुने एक सय ८६ राउन्ड गोली र कटुवामा प्रयोग हुने ३५ राउन्ड गोली बरामद भएको थियो ।

उपत्यकाबाहेक प्रदेश १ मा ७ थान पेस्तोल र ८ थान कटुवा, मधेस प्रदेशमा १४ थान पेस्तोल र २२ थान कटुवा, वागमती प्रदेशमा एक थान पेस्तोल र एक थान कटुवा, गण्डकी प्रदेशमा तीन थान पेस्तोल, लुम्बिनी प्रदेशमा ८ थान पेस्तोल र ३ थान कटुवा, कर्णाली प्रदेशमा एक थान पेस्तोल र एक थान कटुवा तथा सुदुर पश्चिम प्रदेशमा तीन थान पेस्तोल भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चुनावमा कति चुनौतीपूर्ण ?

प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राई अवैध हतियारको चुनौती सधैँ हुने बताउँछन् । चुनावमा अझ उच्च जोखिम हुनसक्ने उनको भनाइ छ ।

‘मतदातालाई तर्साउनेदेखि सम्भावित हिंसात्मक गतिविधिमा हतियारहरू प्रयोग हुन सक्छन्’, डीआईजी राई भन्छन् । नेपालमा भेटिने गरेका साना हतियारहरू भारतबाट भित्रिने गरेको अनुसन्धानहरूबाट खुलेको छ । भारतसँग खुला सीमा भएको र भारतमा साना हतियार सजिलै पाइने भएकाले नेपालमा भित्रने गरेको प्रहरी अधिकारी बताउँछन् ।

सोही कारण चुनावमा भारतसँग सीमा जोडिएका जिल्लालाई सुरक्षा चुनौतीका हिसाबले जोखिमको सूचीमा राखेर त्यसअनुसार सुरक्षा व्यवस्थापन मिलाइँदै आइएको छ । गृह प्रवक्ता फणिन्द्रमणी पोखरेल हतियारको मनोविज्ञान तर्साउने भएकाले इजाजतप्राप्त हतियारहरू नियन्त्रणमा लिइने गरिएको बताउँछन् ।

‘हतियार भएको जो कोहीसँग पनि मानिसहरू डराउँछन् । त्यसैले हामिले चुनावका बेला दुरुपयोग हुन सक्ने आँकलन गरेर नियन्त्रणमा लिन्छौँ’, उनले भने ।

पोखरेलका अनुसार सुरक्षा जोखिम उच्च भएका व्यक्तिहरूलाई उनीहरूको निवेदनका आधारमा जिल्ला सुरक्षा समितिले सिफारिस गरेर पठाएपछि गृहमन्त्रालयले निर्णय गरेर हतियार राख्ने अधिकार दिने गरेको छ । तर, यस्ता हतियार कति छन् भन्ने एकीकृत तथ्यांक मन्त्रालयसँग नभएको पोखरेलले बताए ।

उनले भने, ‘अब चाहीँ तथ्यांक राख्नुपर्ला ।’ हालसम्म कतिजनाले इजाजतप्राप्त हतियार बुझाए भन्ने एकीकृत तथ्यांक पनि मन्त्रालयसँग छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर