दलबहादुर माओवादी प्रवेश गरेपछि आइपी खरेललाई तनाव – Nepal Press

दलबहादुर माओवादी प्रवेश गरेपछि आइपी खरेललाई तनाव

रुपन्देही । बाँकेको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा माओवादीबाट उम्मेदवारी दिएका नेता आइपी खरेललाई एकीकृत समाजवादीबाट उहीँ क्षेत्रमा स्वतन्त्र उम्मेदवार दिएका नेता दलबहादुर सुनार माओवादीमा प्रवेश गरेपछि तनाव भएको छ ।

प्रदेश सभाको निर्वाचनमा एकै क्षेत्रबाट २ जना माओवादी उम्मेदवार बन्ने भएपछि नेतृत्वलाई कसरी मिलाउने भन्ने चुनौती बढेको छ । बाँके ३ (क)मा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका आईपी खरेलको उम्मेदवारी कायम रहेकै बेला नेकपा एकीकृत समाजवादीबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनार माओवादी प्रवेश गरेपछि संकट आएको हो ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुनारलाई माओवादीकी बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले सोमबार पार्टीमा स्वागत गरेका छन् ।

बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार आकांक्षी सुनारले सत्ता गठबन्धनको सिट बाँडफाँडमा उक्त क्षेत्र कांग्रेसलाई परेपछि प्रदेशमै पनि चुनाव लड्ने जानकारी नेतृत्वलाई गराएका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २०७० मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री भएका थिए ।

सोमबार माओवादीमा प्रवेश गरेका दलबहादुर सुनारले आफ्नो स्वतन्त्र उम्मेदवारी कायम राखेका छन् भने आईपी खरेलले पनि सामाजिक सञ्जालमार्फत आफू गठबन्धन र माओवादीको आधिकारिक उम्मेदवार भएको जनाएका छन् । पार्टीको टिकटमा उम्मेदवार दिएको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारी कायम रहेका नेतालाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीका उम्मेदवारका विषयमा अलमलमा परेका छन् ।

आईपी खरेल स्थानीय कमिटीबाट सिफारिसमा नपरेको अवस्थामा पार्टीले तीनै आईपीलाई टिकट दिएपछि क्षेत्र नम्बर ३ का दर्जन बढी नेताहरुले माओवादी छाडेका छन् । तीनै पार्टी छाडेका माओवादी कार्यकर्ताहरुले सुनारलाई पार्टी प्रवेश गराएर माओवादीको आधिकारिक उम्मेदवार मानेर हिँड्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ । यो क्षेत्रमा एमालेले रत्न खत्रीलाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर