मेस्सी र रोनाल्डोको बर्चस्व तोड्ने यी तीन फुटबलर – Nepal Press

मेस्सी र रोनाल्डोको बर्चस्व तोड्ने यी तीन फुटबलर

काठमाडौं । विश्व फुटबलका दुई प्रतिष्ठित अवार्ड हुन् फिफा वर्ष खेलाडी र बालोन डि’ओर। विगतमा छुट्टाछुट्टै वितरण हुने गरेपनि सन् २००९ देखि २०१५ सम्म यी दुवै अवार्ड एकिकृतरुपमा फिफा बालोन डि’ओरका रुपमा प्रदान गरिएको थियो। त्यसयता फेरि छुट्टाछुट्दै वितरण हुँदै आएको छ।

यसपटक बेलोन डीअर फ्रान्सका करिम बेन्जिमाले जिते। पछिल्ला १४ मध्ये १२ संस्करण जितेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो यसपटक शीर्ष ३ भित्र पनि अटाउन सकेनन्। सन् २००८ यता मेस्सी र रोनाल्डोबाहेक लुका मोड्रिचले मात्र यो अवार्ड यसअघि जितेका थिए।

सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल पुगेपछि मोड्रिचलाई बालोन डि’ओर र फिफा वर्ष खेलाडी अवार्ड दुवै दिइएको थियो। त्यतिबेला मोड्रिचले यी दुवै अवार्डमा मेस्सी र रोनाल्डोको १० वर्ष लामो एकछत्र राज तोडेका थिए। सन् २०१९ र २०२१ मा मेस्सीले पुन: बालोन डि’ओर जितेका थिए।

सन् २०२० मा पोल्यान्डका रोबर्ट लेवान्डोस्की हकदार देखिएपनि त्यस वर्ष कोरोना महामारीको कारण देखाएर बालोन डि’ओर वितरण गरिएन तर उनी फिफा वर्ष खेलाडी भने बन्न सफल भएका थिए। गत वर्ष मेस्सीलाई बालोन डि’ओर र लेवान्डोस्कीलाई फिफा वर्ष खेलाडी अवार्ड दिइएको थियो।

हालसम्म मेस्सीले ७ पटक बालोन डि’ओर र सातपटक फिफा वर्ष खेलाडी(फिफा बालोन डि’ओरसहित)जितेका छन्। यस्तै रोनाल्डोले पाँचपटक बालोन डि’ओर र पाँचपटक फिफा वर्ष खेलाडी अवार्ड हात पारेका छन्। रोनाल्डोले सन् २०१७ यता बालोन डि’ओर र फिफा वर्ष खेलाडी दुवै हात पार्न सकेका छैनन्। मेस्सीले अन्तिमपटक सन् २०१९ मा फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए।

गत सिजन च्याम्पियन्स लिग र घरेलु लिग दुवै जितेपछि बेन्जिमा बालोन डि’ओरका बलिया हकदार बनेका थिए। उनले सबै प्रतियोगितामा ४६ खेलमा ४४ गोल गरेका थिए। उनी बालोन डि’ओर जित्ने सन् १९९८ यताका पहिलो फ्रेन्च खेलाडी हुन्।

सन् १९९८ को विश्वकप जितेपछि फ्रान्सका जिनेदिन जिदानलाई उक्त अवार्ड दिइएको थियो। यसपटक बालोन डि’ओरको दौडमा दोस्रोमा लिभरपुलका सेडियो माने र तेस्रोमा म्यानचेस्टर सिटीका केभिड डे ब्रुन रहे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *