लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार प्रसार गर्ने उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण – Nepal Press

लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार प्रसार गर्ने उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचार प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो ।

स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुनेतर्फ काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादव, रुपन्देही प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र सर्लाही प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार वीरवंश बैठा रहेका छन् ।

यस्तै प्रदेश सभाका सिरहा क्षेत्र नम्बर २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नम्बर २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, नुवाकोट क्षेत्र नं। १ ९ख० का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना पनि रहेका छन् ।

ती उम्मेदवारलाई ‘आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान रहेको भनि प्रचार प्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? तपाईंको दल हाम्रो नेपाली पार्टीलाई लौरो निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचारसमेत भैसकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम एक लाख रुपैयासम्म जरिबाना किन गर्नु नपर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोग नेपालमा स्वयम उपस्थित भै लिखित स्पष्टीकरण पेश गर्नुहोला । अन्यथा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा निर्णयानुसार अनुरोध छ ।’ भनी स्पष्टीकरण सोधिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ । ‘दलले कुनै स्वतन्त्र उम्मेदवारलाई लौरो चिन्हको नाममा प्रचारप्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन चिन्ह रहेको भनी प्रचारप्रसार गर्न पाउँछ । लौरो निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारले परिपूरक चिन्ह भनी प्रचारप्रसार गर्न पनि मिल्दैन । लौरौ चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएका व्यक्तिले कानुनी रुपमा लौरो निर्वाचन चिन्हमार्फत आफ्नो मत माग्न सक्दछन् तर आफूहरू स्वतन्त्र अभियानको अङ्ग भएको वा देशभरका स्वतन्त्र लौरो निर्वाचन चिन्हको छातामा रहने भनी प्रचारप्रसार गर्न पाउँदैनन् ।’ आयोगले स्पष्टीकरण सोधेको पत्रमा उल्लेख छ ।

साथै अन्य कुनै उम्मेदवारलेसमेत यस्तै प्रकृतिको कार्य गरेको पाइएमा जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले यसैबमोजिम सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया प्रारम्भ गरी आयोगलाई सोको जानकारी दिन समेत निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *