तिहारमा मखमली र गोदावरीको माला महंगो हुने – Nepal Press

तिहारमा मखमली र गोदावरीको माला महंगो हुने

काठमाडौं । दसैंलगतै तिहारको चहलपहल सुरु भइसकेको छ । तिहार आउन दुइ साता भन्दा कम समय छ । तिहार विशेषगरी सयपत्री मखमलीको फूल र झिलिमिली बत्तीको चाड हो । यस पटकको तिहारमा मखमली महंगाो पर्ने भएको छ ।

भाइटीकामा प्रयोग हुने मखमलीको मालाको मूल्य गत वर्षको भन्दा बढी हुने फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । गत वर्ष प्रतिमाला ३५ रुपैया औसत थोकमूल्य रहेको मखमली यसपटक ४० रुपैयाँ प्रतिमाला पर्ने एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङले बताएका छन् ।

मखमलीको मालाको माग ४ लाख २५ हजार हुने अनुमान छ । गत वर्ष ४ लाख ५ हजार खपत भएको थियो । नेपाल मखमलीमा आत्मनिर्भर भएको फ्लोरिकल्चरले जनाएको छ । १ लाख मखमलीको माला निर्यातसमेत हुने अनुमान गरिएको छ । यसपटक मखमलीको माला मात्र १ करोड ७० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

यता सयपत्रीको मालाका लागि भने आन्तरिक उत्पादनले मात्र नपुग्ने भएको छ । करिब १५ प्रतिशत जति आयात गर्नुपर्ने देखिएको एसोसिएसनले जनाएको छ । आन्तरिक उत्पादनले १७ लाख माला बन्ने र ३ लाख माला आयात गर्नुपर्नेछ । तिहारको ५ दिनका लागि मात्र २० लाखवटा सयपत्रीको मालाको खपत हुने अनुमान गरिएको छ । गतवर्ष १८ लाख १५ हजार मालाको खपत भएको थियो ।

यसबाट ९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । अहिले ११ करोड रुपैयाँ बराबरको सयपत्रीको मालाको कारोबार हुने भनिएको छ । गत वर्ष औसतमा ५५ रुपैयाँ प्रतिमाला बिक्रि भएको सयपत्रीको माला यसपटक पनि सोही मूल्यको हाराहारीमा बिक्री हुनेछ । यस्तै, गोदावरी फुलको मालाको माग २० हजार रहने र प्रतिमाला ४ सय रुपैयाँ पर्ने अनुमान एसोसिएसनले गरेको छ । गोदावरी गतबर्ष ३५० रुपैयाँ प्रतिमाला थियो । त्यतिबेला १५ हजार माला बिक्री भएको थियो गोदावरीको मात्रै ८० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

सयपत्री, मखमली र गोदावरी फूलको कारोबार ५ दिनमा १३ करोड रुपैयाँभन्दा बढी हुने अनुमान छ । गतवर्ष ११ करोड रुपैयाँ बराबरको मालाको कारोबार भएको थियो । अहिले सयपत्रिको माग १० प्रतिशतले बढेको फ्लोरिकल्चरले जनाएको छ । यस वर्ष दशैं अवधिभर करिब ५ दिन अत्यधिक पानी परेकाले फुलको आन्तरिक उत्पादनतर्फ कमी आउन सक्ने आंकलन गरिएपनि सातै प्रलेशमा सयपत्रि फुलको व्यवसायिक खेती गरिएकाले सयपत्रि फुलका लागि समस्या नहुने एसोसिएसनको भनाइ छ । काठमाडौं, भक्तपुर, ललितपुर, इलामका केही ठाउामा मखमली फुलको खेती भइरहेको छ भने सयपत्री फूलको खेती, चितवन, धादिङ, रामेछाप, मकवानपुर, झापा, इलाम धनकुटा लगायतका क्षेत्रमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर