गृहमन्त्री खाणले टिकट खोसेको भन्दै कांग्रेस नेता पोखरेल रुष्ट – Nepal Press

गृहमन्त्री खाणले टिकट खोसेको भन्दै कांग्रेस नेता पोखरेल रुष्ट

रुपन्देही । रुपन्देही क्षेत्र नंं ५ को प्रदेश सभा क मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णु पोखरेलले गृहमन्त्री बालकृष्ण खाणले पार्टीभित्र फरक समूह भएकै कारण निर्वाचन कार्यतालिकाको प्रक्रिया मिचेर आफ्नो उम्मेदवारी रद्द गराएको आरोप लगाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएर उम्मेदवारी दर्ता गरेपनि गृहमन्त्री खाणको दबाबमा उम्मेदवारी फिर्ता गर्ने समय गुज्रिसकेपछि उम्मेदवारी रद्द गराइएको नेता पोखरेलले गुनासो गरेका छन् ।

‘मलाई सभापति शेरबहादुर देउवाले टिकट दिनुभएको हो, उम्मेदवारी फिर्ता गर्ने समय बिहान ११ बजेदेखि १ बजेसम्म रहेकामा २ बजेसम्म मेरो उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतले मलाई जानकारी दिएका थिए, टिकट दिने सभापतिले मेरो उम्मेदवारी फिर्ताबारे केही भन्नुभएको छैन, तर गृहमन्त्री खाणले शेखर पक्षलाई समाप्त गर्ने नियतका साथ रद्द गर्न लगाए ।’

उनले निर्वाचन कानून सबैलाई बराबर हुनुपर्नेमा गृहमन्त्रीको निर्देशनमा मिचिएको र शेखर पक्षमाथि अन्याय गरेको भन्दै यसले उनलाई महंगो पर्ने चेतावनी समेत दिए । निर्वाचन अधिकृत चिन्तामणि शर्माले पनि २ बजेसम्म उम्मेदवारी कायमै रहेको बताएका तर पछि इमेलमा पत्र आएको रहेछ भनेर झुठो कुरा गरेको पोखरेलले दाबी गरे ।

रुपन्देही क्षेत्र नंं ५ क मा सत्ता गठबन्धनको भागबण्डामा माओवादी केन्द्रलाई परेपनि पोखरेलले पनि पार्टीबाट टिकट पाएका थिए । पोखरेलले उम्मेदवारी दिएपछि माओवादीले सहमति भाँडिएको भन्दै प्रतिनिधि सभामा दिपिका शर्मा लम्साललाई उम्मेदवार बनाएको थियो । तर शर्माले भने उम्मेदवारी फिर्ता लिएकी छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका पोखरेलले कांग्रेसको भागमा परेको मोरङ–६ को प्रदेश सभा क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले आफ्ना नातेदारलाई उम्मेदवार बनाउने गरी क्षेत्र सट्टापट्टा गरेकाले आफूलाई टिकट दिएको बताएका थिए । पोखरेलको उम्मेदारी फिर्ता गरिएपछि यहाँबाट माओवादी केन्द्रीय सदस्य विनोद पहाडी गठबन्धनका आधिकारिक उम्मेदवार बनेका छन् । प्रतिनिधि सभामा कांग्रेसबाट भरत शाह र एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर