राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो, खिमलालको हातमा न टिकट न सांसद पद – Nepal Press

राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो, खिमलालको हातमा न टिकट न सांसद पद

रुपन्देही । नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । पार्टीका शीर्ष नेताहरुले टिकट बाँडफाँटमा ध्यान नपुर्याउँदा राष्ट्रियसभामा एमालेको एक सीट गुमेको हो ।

राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि गुमेको छ, भने रुपन्देही ५ मा उम्मेदवार पनि पाउन सकेनन् । रुपन्देहीको क्षेत्र नं। ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि भट्टराई अलपत्र परेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्नका लागि शनिवार अपराह्न नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।

शनिवार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपराह्न पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेश गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले यसअघि वासुदेव घिमिरेलाई दिएको पत्र भुलवश भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको छ । नेता घिमिरेले आयोगबाट आफूलाई आधिकारिक उम्मेदवारको टुंगो लागेको नेपाल प्रेसलाई बताए ।

निर्वाचन ऐनअनुसार दलले उम्मेदवारर्लाइ औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यत्तिःका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोनयनपत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने व्यक्तिको मनोनयन कायम हुने उल्लेख छ ।


प्रतिक्रिया

2 thoughts on “राष्ट्रियसभामा एमालेको एक सीट गुम्यो, खिमलालको हातमा न टिकट न सांसद पद

  1. पार्टीको यो गम्भीर गल्ती हो । देश हाँक्ने पार्टीले विना कारण, विना तयारी सिट गुमाउनु चानचुने कुरा होईन । यस्तो गल्ती आगामी दिनमा नहोस् । अरू पार्टीमा यस्ता कुरा सामान्य होलान तर एमालेमा यस्ता कुरा सह्य हुँदैन ।

    1. यति सम्म पनि असावधानी हुने कुरा सामान्य हैन। राष्ट्रिय सभा सदस्य किन प्रतिनिधि सभामा उम्मेदवार बन्न रहर गर्नु पर्थ्यो? एक त उमेर र अनुभवका कारनले पनि भट्टराई राष्ट्रिय सभाका लागि उपयुक्त थिएनन् । राष्ट्रिय सभा केटाकेटी को खेलौना भएको थियो। जताततै हात हाल्नु र आफैलाई प्रधान देख्नु गम्भीर गल्ती हो। यस्तै आफुलाई केन्द्रमा राख्न खोज्ने घनश्याम भुसाल पनि हुन् । यिनको हार पनि जरुरी छ। राष्ट्रिय सभाको सान्सद पद गुमाउने गरि गल्ती हुनुले पारिने नेतृत्वको पनि कमजोरी झल्कियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर