छलफल नटुङ्ग्याई कार्यदल बैठक सकियो, सत्तापक्षले मध्यमार्गी प्रस्ताव ल्याउने (भिडिओ) – Nepal Press

छलफल नटुङ्ग्याई कार्यदल बैठक सकियो, सत्तापक्षले मध्यमार्गी प्रस्ताव ल्याउने (भिडिओ)

आज फेरि अर्को बैठक बस्ने

काठमाडौं । सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक सकिएको छ । छलफल नटुंगिएपछि फेरि बस्ने भन्दै नेताहरू उठेका छन् ।

बैठकपछि एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताए ।

उनले भने, ‘विषयमा प्रवेश भएको छ, तर निष्कर्षमा पुगिसकेका छैनौँ । संसदको प्रक्रियाहरू अगाडि बढ्छ । त्यहाँ हुने प्रक्रियाले यहाँ समस्या गर्दैन ।’

संसद बैठकपछि फेरि कार्यदल बैठक बस्ने उनले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले बीचको बाटोहरूको खोजी भइरहेको बताए ।

उनले भने, ‘हाम्रो उपस्थितिले टीओआर बनाउन अप्ठेरो हुन्छ भने हामी बस्न जरुरी छैन भन्ने कुरा पनि मैले राखेँ । एकजना व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने हो । यसबाट गलत नजिर बस्छ । समस्या भएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी सक्छौँ भन्ने लागेका छौँ ।’

नेपाली कांग्रेसका जीवन परियारले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको बताए ।

उनले भने, ‘हामीले उठाएको विषयका बारेमा साझा सहमति कसरी तयार पार्न सकिन्छ, फेरि बस्ने गरी उठौँ भन्ने सहमति भएको छ ।’

छानबिन समिति नबन्दासम्म संसद चल्न नसक्ने उनको भनाइ छ ।

परियारले थपे, ‘हामीले प्रष्टरुपमा राखेका छौँ कि जुन व्यक्तिका बारेमा प्रतिपक्षी दलले प्रश्न उठाएको छ, त्यसको छानबिन हुनुपर्छ । त्यो छानबिन भएन भने हामीले उठाएको सवालको औचित्य रहँदैन । हाम्रो बटमलाइन त्यही हो । तपाईँहरूको प्रस्ताव ल्याउनुस् भनेका छौँ । मध्यबिन्दुको प्रस्ताव लिएर आउने कुरा भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर