नुवाकोट : सत्ता गठबन्धनमा भाँडभैलो, गठबन्धनबाट बाहिरिने समाजवादीको तयारी
विदुर । कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनका दलबीच किचलो बढेको छ ।
गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभामा दुई प्रदेशसभाका चार सिटमध्ये एउटा प्रदेशसभा पाउने सहमति केन्द्रमा भएको थियो । तर, उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस र माओवादीले माथिको सहमति लत्त्याउँदै उम्मेदवारी दर्ता गराएपछि विवाद बढेको हो ।
तीन दलबीचको समझदारीअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–२ (क) समाजवादीको भागमा परेको थियो । समाजवादीले पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
कांग्रेस–माओवादीलेमाथिको निर्णय उल्ट्याएको भन्दै समाजवादीबाट लोहनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस र माओवादीको सहमतिअनुसार जिल्ला विकास समितिका पञ्चायतकालीन उपसभापति रामप्रसाद ढुंगानाले सोही क्षेत्रमा उम्मेदवारी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको छ ।
उम्मेदवारी मनोनयनको केही घण्टाअघि मात्र आइतबार कांग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरी समाजवादीको टिकट खोसेका हुन् ।
प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् ।
प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाइसकेका थिए ।
अन्तिम समयमा आएर दुई दलले प्रदेशसभाको क्षेत्र साटफेर गरी आफ्नो दललाई प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै क्षेत्रमा प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै समाजवादीले गठबन्धन तोडेने चेतावनी दिएको छ ।
समाजवादीको भागमा परेको प्रदेश (क) मा माओवादीबाट ढुंगाना र माओवादीले पाउने भनिएको प्रदेश (ख) मा काँग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् । समाजवादीका जिल्ला इन्चार्जसमेत रहेका लोहनीले आफूहरू गठबन्धनमा बस्नुको औचित्य नभएको बताए ।
माओवादीले उम्मेदवारी फिर्ता नलिए गठबन्धन तोड्नेबारे शीर्ष नेतृत्वसँग कुराकानी गरिरहेको उनले बताए ।
‘हामीले केही नपाउने र काँग्रेस र माओवादीलाई जिताइदिनुपर्ने हो भने गठबन्धनमा रहनुको अर्थ नै के रह्यो र ? उनले भने ।