खानेपानी ट्याङ्की भएको क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह – Nepal Press

खानेपानी ट्याङ्की भएको क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की भएको क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह गरेको छ ।

पीआईडीले  खानेपानीको ट्याङ्की राखिएको सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुगेर खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको आरुबारीमा निर्माण सम्पन्न गरी संचालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिव ४ मिटर गहिराईमा खन्दा ट्याङ्कीको सुरक्षाका लागि निर्माण गरिएको पर्खाल भत्किएको छ । खानेपानी ट्याङ्कीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको आयोजनाले जनाएको छ ।

खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडि आयोजना निर्देशनालयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रवन्ध गर्न गराउन आग्रह गरेको आयोजना उपनिर्देशक एवम् प्रवक्ता इन्जिनियर चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।

निर्देशनालयको आग्रह विपरित डोजर लगाई खानेपानीका संरचनामा क्षति पु¥याउनेहरुले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति समेत तिर्नुपर्ने समेत स्पष्ट पारेको छ ।

काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी सर्वसुलभरुपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ खानेपानी ट्याङ्की निर्माण गर्दै जाने क्रममा विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य जारी रहेको छ ।

जसअनुसार तीनचुली महाङ्कालमा ८० लाख लिटर क्षमताको, न्यू महाङ्कालमा १३ लाख लिटर, कीर्तिपुरमा ६० लाख लिटर, गोल्फुटारमा २ लाख १० हजार लिटर र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताका खानेपानी ट्याङ्कीहरु निर्माण भइरहेका छन् ।

यसअघि, काठमाडौंका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महाङ्काल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्याङ्कीहरु निर्माण सम्पन्न भई हाल संचालनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर