फ्रान्समा एमबाप्पे, स्पेनमा लेवान्डोस्की र इङ्ल्यान्डमा हाल्यान्डको जगजगी – Nepal Press

फ्रान्समा एमबाप्पे, स्पेनमा लेवान्डोस्की र इङ्ल्यान्डमा हाल्यान्डको जगजगी

लन्डन । युरोपेली फुटबलमा यो सिजनका दुई ठुला ट्रान्सफरको प्रभाव अहिले देखिइरहेको छ । जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिख छाडेर स्पेनिस क्लब बार्सिलोना आबद्ध भएका रोबर्ट लेवान्डोस्की र बोरुस्सिया डर्टमुन्ड छाडेर इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी भित्रिएर एर्लिङ हाल्यान्ड शानदार लयमा छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा रहेका केलियन एमबाप्पे पनि उच्च लयमा देखिन्छन् । फुटबल विश्लेषकहरुले विगतमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीच देखिएको प्रतिस्पर्धा अब एमबाप्पे र हाल्यान्डबीच हुने भन्न थालेका छन् ।

एमबाप्पे र हाल्यान्ड हालसम्म फिफा वर्ष खेलाडी बन्न सकेका छैनन् । लेवान्डोस्की भने पछिल्ला लगातार दुई संस्करणका विजेता हुन् । २२ वर्षीय नर्वेजियन हाल्यान्डले यो सिजन क्लब फुटबलमा १२ गोल गरेका छन् ।

उनले प्रिमियर लिगमा ६ खेलमा १० गोल र च्याम्पियन्स लिगमा एक खेलमा दुई गोल गरेका छन् । हाल्यान्डको गोलमा दुईवटा ह्याट्रिक पनि समावेश छन् ।

हाल्यान्डले गत सिजन डर्टमुन्डका लागि २९ खेलमा ३० गोल गरेका थिए । पछिल्ला वर्षहरुमा शानदार लयमा देखिएपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले हाल्यान्डलाई रुचाएका थिए ।

प्रिमियर लिगमा यो सिजन फुलहामका अलेक्जान्डर मित्रोभिच ६ गोलसहित दोस्रो सर्वाधिक गोलकर्ता रहेका छन् । २३ वर्षीय एमबाप्पे पनि उच्च लयमा छन् । एमबाप्पेले पनि यो सिजन क्लब फुटबलमा ६ खेलमा ९ गोल गरेका छन् ।

उनले घरेलु लिगमा ५ खेलमा ७ गोल र च्याम्पियन्स लिगमा एक खेलमा दुई गोल गरेका छन् । क्लबमा मेस्सी र नेमार जस्ता खेलाडीबीच एमबाप्पे उनीहरुसँग दूरी कायम गर्न सफल देखिन्छन् ।

एमबाप्पेले गत सिजन पीएसजीका लागि ४६ खेलमा ३९ गोल गरेका थिए । उनले घरेलु लिगमा मात्र ३५ खेलमा २८ गोल गरेका थिए । एमबाप्पे लिग वानका पछिल्ला लगातार चार सिजनका सर्वाधिक गोलकर्ता रहेका छन् । यो सिजन लिग वानमा एमबाप्पे र नेमारले समान ७ गोल गरेका छन् ।

मेस्सीले क्लब छाडेपछि भरपर्दो स्ट्राइकरको खोजीमा रहेको बार्सिलोनाले यो सिजन लेवान्डोस्कीलाई भेट्टाएको छ । लेवान्डोस्कीले क्लबका लागि यो सिजन ५ खेलमा ८ गोल गरेका छन् । उनले घरेलु लिगमा ४ खेलमा ५ गोल र च्याम्पियन्स लिगमा एक खेलमा ३ गोल गरेका छन् ।

बुधबार राति प्लेजेनविरुद्ध भएको च्याम्पियन्स लिग खेलमा लेवान्डोस्कीले ह्याट्रिक गरेका हुन् । लेवान्डोस्की बुन्डेस लिगाका पछिल्ला लगातार पाँच सिजनका सर्वाधिक गोलकर्ता रहेका थिए । यो सिजन ला लिगामा लेवान्डोस्की र सेल्टा भिगोका इयागो आसपासले समान ५ गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा सबै टोलीले एकएक खेल खेलिसक्दा लेवान्डोस्कीले ३ तथा हाल्यान्ड, एमबाप्पे, नापोलीका पिटर जायलिन्स्की, टोट्टनहामका रिचार्लिसन र साख्तर डोनेट्स्कका मारियन सेभेदले २–२ गोल गरेका छन् ।

घरेलु लिग र च्याम्पियन्स लिगका प्रारम्भिक नतिजाले यो सिजन हाल्यान्ड, एमबाप्पे र लेवान्डोस्कीबीच कडा प्रतिस्पर्धा हुने संकेत देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *