एमालेका यी महिला नेता जसले प्रत्यक्ष उम्मेदवारको सशक्त दाबी गर्दैछन् – Nepal Press
आम चुनाव-२०७९

एमालेका यी महिला नेता जसले प्रत्यक्ष उम्मेदवारको सशक्त दाबी गर्दैछन्

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बन्ने १६५ मध्ये ८० सीट जित्दा महिला जम्मा २ जना थिए पद्मा अर्याल र पवित्रा निरौला खरेल । रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा विद्या भट्टराई निर्वाचित भएपछि प्रत्यक्ष निर्वाचित एमाले महिला सांसदको संख्या ३ भयो ।

संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरेकाले एमालेबाट समानुपातिकतर्फ निर्वाचित हुने ४१ सीटमा जम्मा ३ जनामात्र पुरुष भए । बाँकी सबै सीट अर्थात ३८ जना महिलालाई समानुपातिकबाट निर्वाचित गरिएको थियो ।

वाम गठबन्धनको सहज अवस्थामा समेत महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेको एमालेले यसपटक प्रतिकूल अवस्थामा के गर्ला ? महिला आफैं प्रत्यक्ष उम्मेदवार बन्न कति आँट्छन् ? सकेसम्म समानुपातिकमा सुरक्षित हुन खोज्दै गर्दा पनि अहिले समानुपातिकमा रहेका केही महिला नेतृका लागि प्रत्यक्ष चुनावी मैदानमा उत्रिनुपर्ने बाध्यतासमेत छ ।

एमालेले कम्तिमा एक महिलासहित उम्मेदवार सिफारिस गर्न सर्कुलर पठाए पनि धेरै ठाउँबाट पुरुषको मात्र सिफारिस भइरहेको छ र औपचारिकताका लागि सिफारिसमा पारिएका महिला आफैं टिकटका दाबेदार छैनन् ।

यस्तोमा कम्तिमा डेढ दर्जन महिला नेतृ यसपटक प्रत्यक्ष चुनाव लड्न तम्तयार छन् । उनीहरुमध्ये अधिकांश हाल समानुपातिक सांसद छन् भने केहीले यसअघि पराजय भोगेका थिए । हालका प्रदेशसभा सदस्य रहेका केही महिला नेतृले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन लड्न खोजिरहेका छन् ।

उनीहरुमध्ये केहीको नाम सिफारिस भइसकेको छ । कोही सिफारिसका क्रममै छन् ।

प्रदेश १

पवित्रा निरौला खरेल

प्रदेश १ बाट यसअघि एमालेबाट पवित्रा निरौला खरेलमात्र प्रत्यक्ष निर्वाचित भएकी थिइन् । झापा २ बाट निर्वाचित निरौला हाल संसदको परराष्ट्र सम्बन्ध समितिकी सभापतिसमेत छिन् । उनी यसपटक पनि उम्मेदवार बन्न चाहेकी छन् । तर, सोही क्षेत्रमा अग्नि खरेल र देवराज घिमिरेजस्ता सिनियर नेतासमेत प्रतिस्पर्धामा रहेकाले आफ्नो टिकट रिस्क जोनमा रहेको उनले बताइन् ।

डा.शिवमाया तुम्बाहाङ्फे

पूर्वउपसभामुख तथा पूर्वमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे यसपटक प्रत्यक्ष चुनाव लड्ने प्रयासमा छिन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेकी शिवमायाको निर्वाचन क्षेत्र मोरङ १ हो । सो क्षेत्रमा हाल एमालेकै घनश्याम खतिवडा सांसद छन् । स्थानीय लोकप्रियताको हिसाबले खतिवडा अगाडि छन् । पार्टीभित्रको वरियता तथा महिला र जनजाति भएका कारण शिवमाया पनि प्रभावशाली उम्मेदवार हुन सक्छिन् ।

भगवती चौधरी

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी ३ मा भगवती चौधरीले दुईपटक चुनाव जितिसकेको तर विजय गच्छदारलाई जिताउन सत्ताको दुरुपयोग भएको बताए । चौधरी दुवैपटक २०७० र २०७४ मा गच्छदारसँग ३ सयभन्दा कम मतान्तरले पराजित भएकी थिइन् । उनी तेस्रोपटक सोही क्षेत्रमा प्रतिस्पर्धामा उत्रिँदै गर्दा गच्छदारले उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने निश्चित छैन ।

मञ्जु चौधरी

पूर्वशहरी विकासमन्त्री मञ्जु चौधरी उदयपुर १ बाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिँदैछिन् । २०७० मा निर्वाचित चौधरी २०७४ मा हालका परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग ३ सयभन्दा कम मतान्तरमा पराजित भएकी थिइन् । यसपटक उनी एमालेबाट उम्मेदवारको आकांक्षी छन् ।

उषाकला राई

प्रदेश १ की पूर्वमन्त्री उषाकला राई पनि प्रत्यक्ष उम्मेदवारका आकांक्षी हुन् । २०६४ सालमा संविधानसभा सदस्य बनेकी राई हाल प्रदेशसभा सदस्य छिन् । अहिलेसम्म समानुपातिकबाट मौका पाइरहेकी राई खोटाङबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् ।

मधेस प्रदेश

जुलीकुमारी महतो

दुईपटक समानुपातिक र एकपटक प्रत्यक्ष उम्मेदवार बनिसकेकी जुलीकुमारी महतो (महासेठ) मधेसबाट एमालेको सम्भावित प्रत्यक्ष उम्मेदवार हुन् । उनी धनुषा ३ बाट २०७० मा कांग्रेसका विमलेन्द्र निधिसँग झिनो मतले पराजित भएकी थिइन् । पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य महतो र उनका श्रीमान रघुवीर महासेठ दुवैजना उम्मेवार बन्ने सम्भावना छ ।

ज्वालाकुमारी साह

बाराबाट २०६४ मा संविधानसभा सदस्य निर्वाचित ज्वालाकुमारी साह अहिलेसम्म समानुपातिक होइन प्रत्यक्ष चुनाव लडेरै जितेकी मधेसी महिला नेतृ हुन् । उनी यसअघि २०७४ मा माओवादीको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

पार्टी विभाजनपछि उनले माओवादी छाडेर एमाले रोजिन् । एमालेको मधेस प्रदेश अध्यक्ष रहिसकेकी पोलिटव्युरो सदस्य साह बारा क्षेत्र नम्बर ३ बाट एमालेको सम्भावित उम्मेदवार हुन् ।

शारदाकुमारी थापा

महोत्तरी १ अन्तर्गत प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शारदाकुमारी थापा प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् । एमालेको संगठनमा स्थापित महिला नेतृ थापाले यसअघि पनि चुनाव लडेकी थिइन् ।

बागमती प्रदेश

बागमती प्रदेशमा एमालेका प्रभावशाली महिला नेतृ छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, सीता पौडेल, सुजिता शाक्य, वीना श्रेष्ठ, मीरा ध्वजूलगायत कोही पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा देखिएका छैनन् ।

केही युवा महिला नेतृले भने चुनावको लागि तयारी गरेका छन् ।

नवीना लामा

अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य नवीना लामा प्रत्यक्ष चुनावको तयारीमा छिन् । काभ्रे क्षेत्र नम्बर १ बाट उनले चुनाव लड्न चाहेकी छन् । हाल समानुपातिक सांसद रहेकी लामाले प्रत्यक्ष चुनाव लड्ने सम्भावना छ ।

इन्दिरा पन्त

एमालेकी युवा नेतृ इन्दिरा पन्त काठमाडौं महानगरपालिकाको मेयरको दाबेदार थिइन् । उपमेयर भए पनि उनी उठ्न तयार थिइन् । तर, पार्टीले नयाँ फेस ल्याएपछि उनी काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको दावेदार हुन् । क्षेत्रीय कमिटीबाट उनको नाम सिफारिस भइसकेको छ ।

गण्डकी प्रदेश

विद्या भट्टराई

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछिको उपनिर्वाचनबाट कास्की २ मा निर्वाचित विद्या भट्टराई दोस्रोपटक सोही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित छ । अनेरास्ववियुको उपाध्यक्षसम्म भएर पछिल्लो समय प्राध्यापनमा लागेकी भट्टराई अधिकारीको निधनपछि सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

सीता गिरी वली

कास्कीकै ३ नम्बर निर्वाचन क्षेत्रमा पनि महिला नेतृ सीता गिरी वलीको सशक्त दाबी छ । एमाले केन्द्रीय सदस्य तथा २०७० सालमा सोही क्षेत्रबाट निर्वाचित संविधानसभा सदस्य वली पनि लोकप्रिय नेतृ हुन् ।

मना केसी

हाल समानुपातिक सांसद रहेकी मनकुमारी केसी (मना) बागलुङ १ बाट प्रत्यक्ष निर्वाचनको लागि उम्मेदवार सिफारिस भएकी छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी केसीको क्षेत्रबाट यसअघि एमालेका डा. सूर्य पाठक निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश

शान्ता चौधरी

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिकबाट निर्वाचित शान्ता चौधरी २०७० मा प्रत्यक्ष चुनाव लडेर पराजित भइन् । २०७४ मा समानुपातिक कोटाबाटै सांसद र एमालेको संसदीय दलको सचेतक बनेकी चौधरी पूर्वकमलरी हुन् ।

एमाले पोलिटव्युरो सदस्यसमेत रहेकी उनी यसपटक दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएकी छन् । सोही क्षेत्रबाट अर्की समानुपातिक सांसद गंगा चौधरी सतगौंवा पनि सिफारिसमा परेकी छन् ।

कोमल वली

राष्ट्रियसभाको २ वर्षे कार्यकाल पूरा गरेर दाङको राजनीतिमै सक्रिय रहेकी कोमल वली क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेकी छन् । उनी पछिल्लो समय जिल्लाकै राजनीतिमा सक्रिय छिन् र चुनाव जित्नसक्ने फिगरका रुपमा एमालेले उनलाई अघि सार्नसक्छ ।

सुदूरपश्चिम प्रदेश

कमला ओली

राष्ट्रियसभाकी पूर्वसांसद कमला ओली पनि प्रत्यक्ष निर्वाचनको तयारीमा छन् । उनी कैलाली २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको दाबेदार हुन् ।

निरु पाल

एकपटक प्रत्यक्ष निर्वाचन लडेर पराजित र हालकी समानुपातिक सांसद एवं एमाले पोलिटव्युरो सदस्य निरु पाल पुनः चुनावी मैदानमा उत्रिने तयारी छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट दावेदार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर