एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास, पहिले पालिका अध्यक्षले अहिले गृहमन्त्रीले – Nepal Press
चुनावी चटारो

एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास, पहिले पालिका अध्यक्षले अहिले गृहमन्त्रीले

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका-४ दयानगर छपियामा ७ महिनाअघि पालिका अध्यक्षले शिलान्यास गरेको अस्पताल गृहमन्त्रीले पुनः शिलन्यास गरेका छन् ।

१५ शय्या अस्पताल निर्माणको योजना दोस्रो पटक शिलान्यास भएपछि यसलाई कतिपयले गृहमन्त्री खाणको भोट बटुल्ने दाउको रूपमा टिप्पणी गरेका छन् । चुनाव लागेसँगै स्थानीयलाई प्रभावित गरेर जस लिन एउटै योजनालाई दुई पटकसम्म शिलान्यास भएको छ । यो गृहमन्त्री खाणको निर्वाचन क्षेत्रमा पर्दछ ।

तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या थारुले २०७८ माघ २३ गते अस्पताल शिलान्यास गरेका थिए । थारु एमालेबाट निर्वाचित भएका थिए । गृहमन्त्री खाणले हिजो अझ तामझामका साथ शिलान्यास गरेका हुन् ।

छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल बनाउन पहिलो पटक शिलान्याससँगै २१ करोड ८० लाख ५० हजार २९५ रूपैयाँ अनुमानित लागत राखेर टेण्डर आव्हान गरिएको थियो । टेण्डर प्रक्रियाका सम्पूर्ण काम पूरा भई १८ करोड १ लाख ७ हजार ४८४ रूपैयाँमा निर्माण गर्ने गरी गत असार ८ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार २०८१ कात्तिक ७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता सम्झौता गरिएको छ ।

अस्पतालको स्तरवृद्धिसँगै १० औं तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन) को नेतृत्वमा मेडिकल अधिकृतसहित डाक्टर, नर्ससहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीवासीले चिकित्सकीय सेवा, आकस्मिक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजी लगाएतका सुबिधा प्राप्त गर्नेछन् । मन्त्री खाणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामी दुई वर्षपछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाउँ जान नपर्ने उल्लेख गरे । अस्पताल निर्माणको जिम्मा कालिगण्डकी रविना जेभिले पाएको छ ।

गाउँपालिकाका पूर्वअध्यक्ष अयोध्या थारुले आफ्नो कार्यकालमा शिलान्यास भएर ठेक्का भइसकेको योजना गृहमन्त्रीलाई नै ल्याएर पुनः शिलान्यास गराउनु स्थानीय कांग्रेस नेताकार्यकर्ताको गलत प्रवृति भएको बताए ।

‘टेण्डर भएर ठेक्का स्वीकृत भइसकेको योजना नि शिलन्यास हुन्छ र ? ठेकेदार घनबहादुर जीसीलाई ठेक्का स्वीकृत भइसकेको थियो स्थानीय तहको चुनावअघि, यसले उहाँहरूलाई चुनाव लागेको प्रष्ट हुन्छ’, थारुले भने । उनले ५ करोडमा बनेको वडा नं २ चेन्ठा पशु हाट आफूले उद्घाटन गरिसकेको भएपनि केही दिनअघि गृहमन्त्री खाणलाई उद्घाटन गराइएको र अन्य धेरै पुराना योजनामा विवादित बनाउन खोजिएको बताए ।

गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे भने पहिले बजेट परेर हतारमा चुनाव अगाडि शिलन्यास गरिएपनि वास्तविक शिलान्यास गृहमन्त्रीबाट शनिबार भएको बताए ।

‘उहाँहरुले त्यो बेला चुनावमा देखाउन हतारहतार शिलन्यास गर्नुभएको थियो, काम नै पूरा भएको थिएन, बजेट पहिले आएपनि सम्झौता कार्यान्वयन मेरो कालमा भयो अनि हामीले शिलन्यास गर्न नपाउने, वास्तविक शिलन्यास गृहमन्त्रीज्यूले गर्नुभएको हो, उहाँहरूको चुनावी देखाउने शिलन्यास थियो ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर