चीनले मुस्लिम र अल्पसंख्यकको मानव अधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप – Nepal Press

चीनले मुस्लिम र अल्पसंख्यकको मानव अधिकार उल्लंघन गरेको राष्ट्रसंघको आरोप

काठमाडौं । संयुक्त राष्ट्रसंघले चीनमाथि सिजियाङ प्रान्तमा रहेका उइघुर मुस्लिम समुदाय र अन्य अल्पसंख्यक समूहको मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएको छ । लामो समयदेखि चर्चामा रहेको एक रिपोर्ट सार्वजनिक गर्दै राष्ट्रसंघलेले यस्तो आरोप लगाएको हो ।

चीनले उक्त रिपोर्टलाई पश्चिमा मुलुकले आफूविरुद्ध देखाएको प्रहसनको संज्ञा दिएको छ । उक्त रिपोर्ट सार्वजनिक नगर्न चीनले दबाबसमेत दिँदै आएको बीबीसीले जनाएको छ ।

रिपोर्टमा चीनले उइघुर मुस्लिम र अन्य अल्पसंख्यक समुदायमाथि गरेको ज्यादतीलाई लुकाउन यथासम्भव प्रयास गरेको दाबी गरिएको छ । अस्पष्ट राष्ट्रिय सुरक्षा कानूनको प्रयोग गरेर चीनले अल्पसंख्यकमाथि ज्यादती गरेको राष्ट्रसंघको आरोप छ ।

मानव अधिकारसम्बन्धी राष्ट्रसङ्घको उच्चायुक्तको कार्यालयले तयार पारेको सो रिपोर्टले कैदीबन्दीहरुलाई लैङ्गिक तथा यौनिक हिंसा गरिएको, जबरजस्ती परिवार नियोजन गराइएकोलगायतका आरोप लगाएको छ । चीनको उक्त कदम अन्तर्राष्ट्रिय मानव अधिकारको विरुद्ध भएको कारण यथाशीघ्र आफ्नो स्वतन्त्रताबाट बञ्चित सबै व्यक्तिहरूलाई रिहा गर्न राष्ट्रसंघले चीनलाई सुझाव पनि दिएको छ ।

राष्ट्रसंघले हाल चीनमा कति व्यक्तिहरुलाई हिरासतमा राखिएका छ भन्ने यकिन विवरण भने पेश गर्न सकेको छैन । दश लाखभन्दा बढी उइघुर मुस्लिम तथा अन्य अल्पसंख्यक समुदाय अहिले चीनको हिरासतमा रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर