सुदूरपश्चिम सरकार विस्तारमा अझै फुकेन गाँठो, भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी – Nepal Press

सुदूरपश्चिम सरकार विस्तारमा अझै फुकेन गाँठो, भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अझै विस्तार हुन सकेको छैन । एमाले र माओवादी केन्द्रले ठोस निर्णय नदिँदा मुख्यमन्त्री दीर्घ सोडारीले अहिले थप मन्त्रीहरू नियुक्त गरेका छैनन् ।

६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ बहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले जेठ ३ गते विश्वासको मत पाएका थिए । विश्वासको मत लिए लगत्तै सरकार विस्तार गर्ने बताएका सोडारीले विश्वासको मत दिएको एक सातासम्म पनि सरकार विस्तार गर्न सकेका छैनन् ।

मुख्यमन्त्री नियुक्त भएकै दिन ६ वैशाखमा मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता पक्षका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिए। त्यसपछि १८ वैशाखमा नाउपाको रञ्जिता पक्षकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरे। त्यसपछि अहिलेसम्म सोडारीले अन्य कुनैलाई पनि मन्त्री नियुक्त गरेका छैनन् ।

केही समयअघि मुख्यमन्त्री सोडारी सरकार विस्तार बारे शीर्ष नेताहरूसँग छलफल र परामर्श गर्न काठमाडौँ नै पुगेका थिए । त्यहाँबाट पनि उनी फर्किसकेका छन् । काठमाडौँबाट फर्किए पछि पनि सरकारले पूर्णता पाउन सकेको छैन । धेरैले केन्द्रमा ठोस सहमति नभएको हुँदा प्रदेशमा सरकार विस्तारको हलो अड्किएको बताइरहेका छन् ।

नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले भने आज भोलि मै सरकार विस्तार हुने दाबी गर्छन् । ‘शीर्ष नेताहरूबीच छलफल भएको छ । आज भोलि मै सरकारले पूर्णता पाउँछ’ उनले भने, ‘चाँडै सरकार विस्तार भए पछि बजेट पनि जनमुखी हुन्छ । ’

अहिले मुख्यमन्त्रीलाई कुन दलबाट को मन्त्री बन्ने भन्ने नाम नआएको हुँदा र मन्त्रालयको भागबन्डामा पनि शीर्ष नेताहरूबीच छलफल नभएको हुँदा सरकार विस्तारमा सकस भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली छ। अहिले सम्म एमाले, माओवादी र स्वतन्त्र सांसद सरकार बाहिर छन् ।

समर्थन गर्ने दल र स्वतन्त्र सांसदको नजर पूर्ण मन्त्रालयतिर छ। अर्थ मन्त्रालयमा एमाले माओवादी र स्वतन्त्र सांसदको पनि दाबी रहेको छ ।
अहिले एमाले माओवादीले ३्३ मन्त्रालयको दाबी गरेका छन् । तर, दुबै दललाई २ /२ मन्त्रालय र राज्यमन्त्री भाग पर्ने सम्भावना रहेको छ । सत्ता गठबन्धनमा विश्वासको मत दिएका स्वतन्त्र सांसद डा।तारा जोशीलाई पनि एउटा मन्त्रालय दिने विषयमा शीर्ष नेताहरूमा छलफल भएको छ। यसो हुँदा सुदूरपश्चिममा मन्त्रालय फुटाउनु पर्ने अवस्था देखिन्छ ।

भौतिक पूर्वाधार मन्त्रालय फुटाउने विषयमा प्रदेश स्तरमा दलहरूबीच समझदारी बनिसकेको छ। यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउन छलफल चलेको थियो।

सरकार विस्तारको तयारीसँगै मन्त्री बन्ने आकाङ्क्षी पनि दौडधुपमा छन्। नेकपा माओवादी केन्द्रबाट संसदीय दल नेताका उपनेता अक्कल रावल ओम विक्रम भाट, शिवसिंह ओली, र लक्ष्मी विक मन्त्रीको आकाङ्क्षी छन् । तर, यस अघि ८ महिना मात्रै मन्त्री भएको, बजेट निर्माण गर्न पनि नपाएको र कार्यान्वयन गर्न पनि नपाएको भन्दै अघिल्लो सरकारमा मन्त्री रहेका झपड साउद र रमेश धामी दुबैलाई फेरि दोहो¥याउने विषयमा पनि छलफल जारी छ ।

बुधबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका माओवादी नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले १२ गते भित्र सरकार विस्तार हुने सङ्केत दिएका थिए ।

एमालेमा भने अझै यस विषयमा ठोस छलफल अगाडी बढेको छैन । ‘अहिले हतार गर्ने बेला होइन, छलफल भइरहेको छ ’ एमाले एक सांसदले भने, ‘केन्द्रबाट नै हामीलाई हतार नगर्न निर्देशन आएको छ । ’

एमाले प्रमुख सचेतक सुरेन्द्र पालले पनि कहिले सरकारमा जाने र को (को जाने भन्ने विषयमा कुनै निर्णय नभएको जानकारी दिए ।
नेकपा एमालेबाट सन्तोष शर्मा थापा, सुरेन्द्र पाल, वीरबहादुर थापा दमनबहादुर भण्डारी र धर्मराज पाठक मध्येबाट सरकार विस्तार हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर