कर्णालीमा यसरी जोगाउन सकिन्छ वाम विरासत – Nepal Press

कर्णालीमा यसरी जोगाउन सकिन्छ वाम विरासत

सरकारले संघीय र प्रदेश तहको निर्वाचन घोषणा गरेसँगै राजनीतिक दलहरुको बीचमा देखिने र नदेखिने गरी अनेकौं वार्तालाप भैरहेको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही हप्ता पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट गएर भेट्नुभयो । दुई नेताबीच सम्भावित वाम तालमेलको विषयमा कुरा भएको सञ्चारमाध्यममा फैलियो । दुवै पार्टीका दोस्रो तहका नेताहरुबीच पनि वाम तालमेलको विषयमा अनौपचारिक कुराकानी हुने गरेको पनि सञ्चारमाध्यमहरुमा आएका छन् ।

अर्कातिर नेकपा एमालेविरुद्धको गठजोड थप कसिलो बनाउँदै लागेको छ सत्ता गठबन्धनले । बाबुराम भट्टराई, वामदेव गौतम र लोकतान्त्रिक समाजवादी पार्टीसमेत सत्ता गठबन्धनमा थपिएर एमालेविरुद्धको घेराबन्दी थप मजबुत बनाउँदै लगेको देखिन्छ ।

यस्तो अवस्थामा नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य के होला भन्ने प्रश्न एकातिर छ भने अर्कातिर सत्ता गठबन्धन, नेपालको राजनीति र विश्व समुदायले नेपालको कम्युनिष्ट पार्टीको रुपमा नेकपा एमालेलाई मात्र चिन्ने वातावरण बन्दै गएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँगको गठबन्धनले माओवादी र नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई दक्षिणपन्थी खेमामा विलय गराउन सकिए आम जनता र विश्व समुदायलाई नेपालमा एकमात्र शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा एमाले हो भन्ने आधार तयार गर्न सकिनेछ । सत्ता गठबन्धनले एमालेलाई तात्कालिन र दीर्घकालीन रुपमा फाइदा नै हुनेछ भने अन्य कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा नेपाली कांग्रेसको ओत लागेर अस्तित्व जोगाउने प्रयास गरे पनि अन्ततः उनीहरुको निशाना भविष्यमा गएर मेटिने सम्भावना नै बलियो देखिन्छ ।

आफ्नो दीर्घकालीन अस्तित्वको लागि अन्य कम्युनिष्ट दलका मुख्य नेतृत्वबाहेकका नेता-कार्यकर्ताहरुले एमालेसँगको तालमेलमा आफ्नो हैसियतअनुसार आउनुमा नै उनीहरुको हित हुने देखिन्छ । देशैभर यसको सम्भावना कम रहे पनि कर्णाली प्रदेशको २०७४ को विरासत कायम गर्न वाम पार्टीबीच तालमेल जरुरी देखिन्छ । यस्तो तालमेलले कर्णालीको समाजवादी आन्दोलन जीवित हुने र यो अर्काे चरणमा प्रवेश गर्दै अघि बढ्नेछ ।

कर्णाली प्रदेशको २०७४ को विरासत कायम गर्न वाम पार्टीबीच तालमेल जरुरी देखिन्छ । यस्तो तालमेलले कर्णालीको समाजवादी आन्दोलन जीवित हुने र यो अर्काे चरणमा प्रवेश गर्दै अघि बढ्नेछ ।

कर्णालीमा २०७४ को वाम अवस्था

२०७४ सालको संघ र प्रदेशको निर्वाचनमा अत्यधिक बहुमत कम्युनिष्ट शक्तिको पक्षमा आयो । १२ संघीय निर्वाचन क्षेत्र भएको कर्णालीमा नेपाली कांग्रेस शून्यमा झर्‍यो । एमालेले ६, माओबादी केन्द्रले ५ र स्वतन्त्रले १ स्थानमा जीत हासिल गरे । दैलेख, सुर्खेत, डोल्पा र मुगुमा एमालेले जीत हासिल गर्‍यो । सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालीकोट र जुम्लामा माओवादी केन्द्र विजयी भयो । हुम्लामा भने स्वतन्त्र उम्मेदवारले जीत हासिल गरे ।

त्यस्तै प्रदेशसभाका २४ मध्ये १४ स्थानमा एमाले, ९ स्थानमा माओवादी केन्द्र र १ स्थानमा मात्रै कांग्रेसले जीत हासिल गरेका थिए । प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा सल्यानका दुवै क्षेत्र, दैलेखका ३ क्षेत्र, जाजरकोटको एउटा क्षेत्र, सुर्खेतका २ क्षेत्र, कालीकोट, जुम्ला, हुम्ला र डोल्पाका एकएक क्षेत्र तथा मुगुका दुवै क्षेत्र गरी जम्मा १४ स्थानमा एमालेले जीत हासिल गरेको थियो । माओवादीले रुकुम पश्चिमका दुवै क्षेत्र, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र डोल्पाका एकएक र सुर्खेतका दुइटा गरी ९ वटा क्षेत्रमा जीत हासिल गरेको थियो । कांग्रेसले हुम्लाको एउटामात्र क्षेत्र जितेको थियो ।

यसरी हेर्दा कर्णाली प्रदेश कम्युनिष्टमय भएको थियो । माओवादीका नेता प्रदेश मुख्यमन्त्रीमा चुनिए । कम्युनिष्टको सरकार बन्यो । तर, विडम्बना देशको राजनीतिक शक्ति सन्तुलन खल्बलिएसँगै १ स्थानमा जितेको कांग्रेसले कर्णालीमा सरकारको नेतृत्व गरिरहेको छ । यसलाई लोकतन्त्रको सुन्दर पक्ष भन्ने कि कर्णालीको कुरुप मोडेल ?

कम्तिमा कर्णालीको विशिष्ट परिस्थितिले केन्द्रमा जस्तोसुकै अवस्था भए पनि प्रदेशमा एक पटक गम्भीरतापूर्वक सोच्ने र मंसिर ४ को निर्वाचनमा हालसम्म अगाडि बढिरहेको कोर्ष करेक्सन गरेर समाजवादी आन्दोलनको रक्षा गर्नुपर्ने आजको आवश्यकता हो ।

२०७९ को स्थानीय निर्वाचनको मत परिणाम विश्लेषण

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणामको विश्लेषणअनुसार कर्णाली प्रदेशमा हरेक पार्टी एक्लाएक्लै लड्ने हो भने प्रत्यक्षतर्फ कांग्रेसले ५, एमालेले ४ र माओवादी केन्द्रले ३ स्थानमा जीत हासिल गर्ने देखिएको छ । तर, वाम तालमेल भयो भने २०७४ को परिणाम दोहोरिने र नेपाली कांग्रेस फेरि पनि शून्यमै रहने प्रक्षेपण देखिन्छ ।

वाम तालमेल भए प्रदेशसभातर्फ पनि २०७४ कै जस्तो परिणाम दोहोरिने मत परिणामको विश्लेषणले बताउँछ । यस्तो अवस्थामा वाम शक्तिहरुको बीचमा तालमेल हुनुभन्दा पनि कोही कम्युनिष्ट नाम गरेका वाम पार्टी कांग्रेसको पुच्छर समात्नुमा आफ्नो भविष्य देख्छन् भने त्यो उनीहरुको विनाशको बाटो हो ।

कर्णालीमा २०७४ सालमा भएको संघको प्रत्यक्ष निर्वाचनमा ९२ प्रतिशत स्थानमा वाम शक्ति पहिलो भएको थियो र प्रदेश निर्वाचनको प्रत्यक्षतर्फ ९६ प्रतिशत स्थानमा वाम शक्ति पहिलो भएको थियो । कर्णालीमा वाम विरासत जोगाउने कि समाप्त पार्ने भन्ने कुरा आफूलाई कम्युनिष्ट भन्ने तर कांग्रेसको पुच्छर नछोड्ने वाम पार्टीहरुको हातमा छ । कम्तिमा कर्णालीको विशिष्ट परिस्थितिले केन्द्रमा जस्तोसुकै अवस्था भए पनि प्रदेशमा एक पटक गम्भीरतापूर्वक सोच्ने र मंसिर ४ को निर्वाचनमा हालसम्म अगाडि बढिरहेको कोर्ष करेक्सन गरेर समाजवादी आन्दोलनको रक्षा गर्नुपर्ने आजको आवश्यकता हो ।


प्रतिक्रिया

One thought on “कर्णालीमा यसरी जोगाउन सकिन्छ वाम विरासत

  1. गठबन्धन भयो भने एमाले शुन्य हुने विश्लेषण देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर