कार्यदललाई नेविसंघ निवर्तमान महामन्त्रीको ध्यानाकर्षण- सिन्धु १ माओवादीलाई नछाडियोस् – Nepal Press

कार्यदललाई नेविसंघ निवर्तमान महामन्त्रीको ध्यानाकर्षण- सिन्धु १ माओवादीलाई नछाडियोस्

चौतारा । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य बलदेव तिमल्सिनाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादीले गठबन्धनको आडमा भाग लिन खोजेको भन्दै जित्ने माओवादीलाई सो क्षेत्र नदिन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

तिमल्सिनाले शुक्रबार विज्ञप्तिमार्फत क्षेत्रका ५४ वडामध्ये कांग्रेसले ३२ वटा वडा जित्दा जम्मा ४ वडाध्यक्ष जितेको माओवादीले सो क्षेत्र दाबी गर्नु न्यायोचित नहुने भन्दै कांग्रेस एक्लै जित्ने क्षेत्र छाड्न नसकिने प्रष्ट पारेका छन् ।

तिमल्सिनाले भनेका छन्, ‘यो क्षेत्रमा नेपाली कांग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिँदैन । मतको तथ्यांक, पार्टीको सांगठनिक अवस्था, स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली कांग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्र्वाचित हुने पुष्टि भइसकेको छ ।’

गठबन्धनको सीट बाँडफाँट कार्यदलका संयोजक कृष्ण सिटौलानिकट मानिने युवा नेता तिमल्सिनाले शीर्ष नेतृत्व तथा कार्यदलको ध्यानाकर्षण गराउँदै २०७४ मा जितेको भन्ने तर्कमा कुनै तुक नरहेको र एमालेको बलबाट जितेको बताएका छन् ।

सोही जिल्लाका नेता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसअघि पार्टी बैठकमै सिन्धुपाल्चोक १ माओवादीलाई छाडिए विद्रोह गर्ने बताइसकेका छन् । सो क्षेत्रबाट सभामुख अग्नि सापकोटा निर्वाचित भएकाले माओवादीले सोही क्षेत्रमा दाबी गरेको छ ।

तिमल्सिनाको वक्तव्य जस्ताको तस्तै :

आसन्न निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं.१ को सम्बन्धमा ध्यानाकर्षण:

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार वडाध्यक्षले पाएको मतमा नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ।
स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख/ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जित्दा माओवादले ५ वटा वडा मात्र जितेको छ ।

माओवादी केन्द्रले क्षेत्रको ४ वटा पालिकामा एउटा वडा सदस्य समेत जितेको छैन। काँग्रेससँगको गठबन्धनबाट प्रमुख जितेको जुगल गाउँपालिकामा प्रमुख बाहेक १ सदस्य पनि जित्न नसकेको र लिसंखुपाखर गाउँपालिकामा प्रमुख,एउटा वडाअध्यक्ष र २ सदस्य मात्र जितेको छ भने जिल्ला समन्वय समितिम एमाले संग तालमेल गर्दा समेत एउटा सदस्य समेत निर्वाचित हुन सकेन ।

यसर्थ यो क्षेत्रमा नेपाली काङ्ग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिदैन ।मतको तथ्यांक,पार्टीको सांगठनिक अबस्था,स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्बाचित हुने पुष्टि भैसकेको छ । २०७४ को आमनिर्वाचनमा जितेको भन्ने तर्क दावी गर्नुको कुनै तुक देखिँदैन किनकि त्यो निर्वाचनमा प्राप्त मत माओवादी केन्द्रको मात्र होइन,त्यसबेला उसले नेकपा एमाले संग गठवन्धन गरेको थियो ।

यो बिषयमा नेपाली कांग्रेसका सभापति तथा शिर्ष नेतृत्व,केन्द्रीय समिति र कार्यदलको समयमै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

जय नेपाल !!!
बलदेव तिमल्सिना (सिन्धुपाल्चोक-१ )
निबर्तमान महामन्त्री
ने.बि.संघ केन्द्रीय समिति
तथा महासमिति सदस्य,नेपाली काङ्ग्रेस
मिति:२०७९/०५/३


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर