१९ वर्षअघि आजकै दिन रोनाल्डोले म्यान युनाइटेडबाट यसरी डेब्यु गरेका थिए – Nepal Press

१९ वर्षअघि आजकै दिन रोनाल्डोले म्यान युनाइटेडबाट यसरी डेब्यु गरेका थिए

लन्डन । करियरको अन्तिम अन्तिम समयतिर आइपुगेका क्रिस्टियानो रोनाल्डो यतिबेला चरम संकटमा छन् । उनी आबद्ध म्यानचेस्टर युनाइटेडले नयाँ सिजनमा खराब सुरुवात गरेको छ ।

म्यान युनाइटेडले यो सिजन घरेलु लिगमा सुरुका दुई खेल हारेको छ, तुलानात्मकरुपमा कमजोर प्रतिद्वन्द्वीहरुसँग । रोनाल्डो आफूले पनि गोल गर्न सकेका छैनन् । गत सिजन पनि म्यान युनाइटेडको प्रदर्शन कमजोर रहेको थियो, च्याम्पियन्स लिगमासमेत छनोट हुन सकेको थिएन ।

रोनाल्डो १३ वर्षपछि आफ्नो पुरानो क्लब फर्किँदा म्यान युनाइटेडले राम्रोसँग स्वागत गर्न सकिरहेको छैन । त्यसैले पहिलो सिजनपछि नै रोनाल्डोले म्यान युनाइटेड छाड्ने आशय व्यक्त गरिरहेका छन् ।

तर उनलाई खरिद गर्न क्लबहरु तयार देखिँदैनन् । अन्य क्लब नगएको अवस्थामा रोनाल्डोको करियर म्यान युनाइटेडमै पनि बित्न सक्छ । व्यक्तिगतरुपमा उनको प्रदर्शन त्यति नराम्रो पनि छैन । गत सिजन उनी घरेलु लिगमा म्यान युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका थिए ।

रोनाल्डो आज जे छन्, त्यसको सम्पूर्ण श्रेय म्यान युनाइटेडलाई नै जाने फुटबल विश्लेषकहरु बताउँछन् । १९ वर्षअघि आजकै दिन अर्थात सन् २००३ को अगष्ट १६ मा रोनाल्डोले म्यान युनाइटेडका लागि डेब्यु गरेका थिए । उनी पहिलो स्पेलमा ६ सिजन म्यान युनाइटेडमा रहे ।

त्यसबीचमा उनले म्यान युनाइटेडका लागि २ सय ९२ खेलमा एक सय १८ गोल गरेका थिए । तीनपटक घरेलु लिग र एकपटक च्याम्पियन्स लिग जितेका थिए । त्योभन्दा बढी उनी सन् २००८ मा, पहिलोपटक फिफा वर्ष खेलाडि बनेका थिए ।

त्यस वर्ष उनले बेलोन डीअर पनि जितेका थिए । दुईपटक प्रिमियर लिग प्लेयर अफ दी सिजन र एकपटक प्रिमियर लिग गोल्डेन बुट पनि जितेका थिए ।

सन् २००९ मा स्पेनिस क्लब रियल म्याड्रिड पुगेपछि रोनाल्डोको करियरले नयाँ उचाई लिएको थियो । ९ सिजन रियल म्याड्रिडका लागि खेल्नेक्रममा उनी थप चारपटक फिफा वर्ष खेलाडी घोषित भए । उनले रियल म्याड्रिडका लागि दुईपटक घरेलु लिग र चारपटक च्याम्पियन्स लिग जिते ।

स्पेनिस क्लबका लागि ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए । सन् २०१८ मा इटालियन सिरि ए क्लब युभेन्ट्स पुगेपछि भने रोनाल्डोले अपेक्षित सफलता हात पार्न सकेका छैनन् । उनले सन् २०२१ मा म्यान युनाइटेडमा फर्कनुअघि युभेन्ट्सका लागि एक सय ३४ खेल खेल्दै एक सय १ गोल गरेका थिए ।

यसरी भित्रिएका थिए म्यान युनाइटेड

रोनाल्डो पोर्चुगल क्लब स्पोर्टिङ सिपिको युथ टोलीमा थिए । उनले १६ वर्षकै उमेरमा सन् २००२ मा पोर्चुगलको प्रिमियर लिग फुटबलमा डेब्यु गरेका थिए । सन् २००३ को अगष्टमा म्यानचेस्टर युनाइटेड, स्पोर्टिङ सिपीसँग खेल्न पोर्चुगल पुगेको थियो ।

उक्त खेलमा स्पोर्टिङ सिपीले म्यान युनाइटेडलाई ३–१ गोलले स्तब्ध बनायो । खेलको केन्द्रमा थिए रोनाल्डो । म्यान युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसन रोनाल्डोको खेलमा प्रभावित भए अनि तत्कालै म्यान युनाइटेड भित्र्याउने निर्णयमा पुगेका थिए । सन् २००३ को अगष्ट १६ मा हुन गइरहेको घरेलु लिगको आफ्नो पहिलो खेलमा प्रशिक्षक फर्गुसनले रोनाल्डोलाई डेब्यु गराए ।

स्पोर्टिङ सिपीबाट १२.५ मिलियन पाउन्डमा रोनाल्डोलाई भित्र्याएको केही दिन मात्र भएको थियो । ओल्ड ट्राफोर्डमा बोल्टनविरुद्ध भएको त्यस खेलमा रोनाल्डोलाई ६१ औँ मिनेटमा मैदान छिराएको थियो । रोनाल्डो ७ नम्बरको जर्सीमा थिए जुन उनीअघि डेभिड बेकह्यामले म्यान युनाइटेडबाट लगाउँथे ।

त्यतिबेलासम्म म्यान युनाइटेड १–० गोलल अगाडि थियो । रोनाल्डो मैदान छिरेपछि म्यान युनाइटेडले तीन गोल थप्यो । रोनाल्डोले गोल त गर्न सकेनन् तर उनले ओल्ड ट्राफोर्डमा मास्टर क्लास प्रदर्शन गरे ।

त्यसपछि उनी प्राय टोलीको नियमित सदस्यजस्तै बने । गत फेब्रुअरीमा ३७ वर्ष पुरा भएका रोनाल्डो त्यस्तो समयबाट अहिले गुज्रिरहेका छन् जुन उनीजस्ता महान् खेलाडीहरुले करियरको अन्त्यतिर अपेक्षा राख्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर