हलिउड अभिनेता लियोनार्डोले किन दिए नेपाललाई बधाई ? – Nepal Press

हलिउड अभिनेता लियोनार्डोले किन दिए नेपाललाई बधाई ?

काठमाडौं । चर्चित हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् । २०२२ सम्ममा नेपालमा रहेका जंगली बाघको संख्या दोब्बर गराउने लक्ष्य प्राप्त गर्न सफल भएकोमा लियोनार्डोले सामाजिक सञ्जाल मार्फत नेपाललाई बधाई दिएका हुन् ।

‘यो वर्षको विश्व बाघ दिवस वास्तवमा नै खास बनेको छ । नेपालले २०१० मा गरेको विश्वव्यापी प्रतिबद्धता अनुरूप २०२२ मा बाघको संख्या दोब्बर भएको घोषणा गरेको छ । यो कोषेढुंगा पार गरेकोमा नेपाललाई बधाई।’ उनले लेखेका छन् ।

उनी थप्छन्, ‘सन् २०२२ को सर्वेक्षण अनुसार नेपालमा हाल बाघको संख्या ३५५ छ । सन् २०१० मा यो संख्या १२१ मात्र थियो । यो एक अविश्वसनीय उपलब्धि हो । यो विगत १२ वर्षदेखि नेपाल सरकार तथा विश्व वन्यजन्तु कोष लगायतका निकाय वन्यजन्तु संरक्षणमा लागेको प्रमाण हो।’

बाघको संख्या बढेसँगै यसले सिकार गर्ने संख्या पनि बढ्ने भएकोले बाघबाट जोगिन कदम चाल्नुपर्ने पनि लियोनार्डोको भनाई छ ।

उनले नेपालले वन्यजन्तुसँग सुरक्षित रहन ‘प्रधानमन्त्री मानव वन्यजन्तु उद्धार तथा राहत कोष’ सुरु गर्नु पनि प्रशंसनीय रहेको पनि बताएका छन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशहरूले गरेको प्रतिबद्धता अनुरूप नेपालले पनि सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने विश्वव्यापी प्रतिबद्धता गरेको थियो । नेपालले हालै मात्र सो प्रतिबद्धता पुरा गरेको घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *