अनलाइनबाट मिटरब्याजमा ऋण, नतिरे अश्लील फोटो पठाएर ब्ल्याकमेलिङ (भिडिओ) – Nepal Press
कल सेन्टरमा छापा

अनलाइनबाट मिटरब्याजमा ऋण, नतिरे अश्लील फोटो पठाएर ब्ल्याकमेलिङ (भिडिओ)

अश्लील तस्बिर र भिडिओसमेत पठाएर बार्गेनिङ

रुपन्देही । ‘अहिले नै तुरुन्त चुक्ता गर्ने भए गर नत्र तँलाई कतै मुख देख्न नसक्ने बनाइदिन्छु’, आइतबार रुपन्देही प्रहरीले छापा मारेको कल सेन्टरको एउटा कम्प्युटरबाट एक व्यक्तिलाई पठाइएको म्यासेज हो यो ।

म्यासेज पठाउनुअघि नै ती व्यक्तिलाई आफ्नो टाउकोमा नग्न शरीर जोडेको अश्लील फोटो पठाइएको थियो । आफ्नो नग्न तस्वीर देखेपछि उनको म्यासेज आउँछ, ‘म आज ४ बजेसम्म चुक्ता गर्छु ।’

फेरि ४ बजेर ३ मिनेटमा ती व्यक्तिको कोही महिलासँग यौन क्रियाकलापसम्बन्धी तस्वीर पठाइन्छ । ८ हजार रुपैयाँ लिएका उनलाई २८ हजार तिर्न बाध्य पारिन्छ ।

भारतीय नम्बरका मोबाइलबाट ह्वाट्सअपको प्रयोग गरी अनलाइन ऋण प्रवाह र अनलाइनबाटै मिटर ब्याजमा रकम असुली गर्ने उद्देश्यले सञ्चालित कल सेन्टरमा स्टिङ अप्रेसन गरेको रुपन्देही प्रहरीलाई कारोबारको चुरो पत्ता लगाउनै हम्मेहम्मे परेको छ । अवैध कल सेन्टरको जरो पत्ता नलागेपछि आफूहरु गम्भीर अध्ययनमा लागेको रुपन्देही प्रहरीले बताएको छ ।

भारतीय र चिनियाँ नागरिकको लगानीमा सञ्चालित रुपन्देहीको तिलोत्तमा– २ जानकीनगरमा रहेको ब्लु स्काई बिजेनश सोलुसन प्रालि (कल सेन्टर) मा प्रहरीले आइतबार छापा मारेको थियो । त्यहाँ काम गर्ने २४० युवायुवती नियन्त्रणमा लिएसँगै दैनिक करोडभन्दा बढी ट्रान्जेक्सन हुने गरेको खुलेको छ । कार्यालयबाट दैनिक सयौं सर्वसाधारणलाई एप्लिकेसनको प्रयोग गरी गैरकानूनी कारोबार, ठगी तथा ब्ल्याकमेलिङ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विशेषगरी भारतीय नागरिकलाई अनलाइन ऋण प्रवाह गरी मिटर ब्याजमा रकम असुल्ने र भनेको समयमा दिन नसके अश्लील तस्वीर तथा भिडियो पठाइ ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरी स्रोतले बतायो । गिरोहले दैनिक १ करोडभन्दा बढी रकम ट्रान्जेक्सन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले नियन्त्रणमा लिइएकामध्ये ९ जनाबाहेक अरुलाई अनुसन्धानपछि छाडिएको जानकारी दिए । जानकीनगरमा ५ तल्लाको घरमा ३ वटा फल्याट भाडामा लिई ३ सयभन्दा बढी कम्प्युटर राखी युवायुवतीलाई प्रयोग गरेर भारतसहित विभिन्न देशका व्यक्तिलाई व्ल्याकमेलिङ गर्दै रकम माग गरिररहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले कल सेन्टर सञ्चालन गर्ने भारतका दवाङ र ८ जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कार्यालयमा रहेका कम्प्युटर, उपकरणलगायतमा शील गरिएको छ । छापा मार्ने क्रममा नियन्त्रणमा लिइएका २५० बढी युवायुवतीको मोबाइल जफत गरेर उनीहरुलाई हाजिर जमानीमा घर पठाइएको डीएसपी केसीले बताएका छन् ।

उनीहरु सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा हाजिर हुनेछन् । कल सेन्टरमा काम गर्ने अधिकांश १८ देखि २१ वर्ष उमेर समूहका छन् ।
कल सेन्टरमा काम गर्नेलाई १२ हजार तलब र इन्सेन्टिभ दिने गरेको त्यहाँ काम गर्ने युवायुवती बताउँछन् । ‘हामीलाई यो गैरकानुनी हो भन्ने थाहा थिएन । कक्षा १२ पास गरेपछि फुर्सदमा काम गर्न आएकी हुँ । तर, यस्तो अवैध काम हो भन्ने थाहा थिएन’, कल सेन्टरमा १ महिनादेखि काम गरेकी बुटवलकी एक युवतीले भनिन् ।

उनका अनुसार त्यहाँ काम गर्ने विभिन्न व्यक्तिलाई कोड दिइन्थ्यो । कोडअनुसार उनीहरुले इन्टेन्सिभ फरक–फरक पाउने गर्दथे । एक जनाले कति रकम उठाउन सक्छ, त्यहीअनुसार प्रतिव्यक्ति ३ जना बराबर एक सय रुपैयाँ इन्टेन्सिभ पाउने उनले जानकारी दिइन् ।

उनीहरुले कुनै पनि एप थ्रोबाट डिजिटल लोन १६ सयदेखि अधिकतम १४ हजारसम्म दिने गर्दथे । लोनका लागि सुरुमा रकम पठाउने र त्यसपछि फिर्ता हुँदा बढ्ने भन्दै उनीहरुले प्रलोभनमा समेत पार्ने गर्दथे ।

यतिसम्मकी कल सेन्टरमा रहेका युवायुवतीलाई के भनेर बोल्नेबारेमा कापीमा समेत लेखेर सिकाइने गरिन्थ्यो । ‘सुरुमा उनीहरुले राम्रो तरिकारले डिल गर्ने, पछि कुरा राम्रो हुँदै गए विश्वास जितेर लोनका लागि पैसा माग्ने गरेको देखियो । यदि अटेर गरे अश्लील सामग्रीमा टाउको जोडेर पठाउने गरेको फेला प¥यो’, रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने ।

उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए । यसबाट कति व्यक्ति पीडित भएको र उक्त रकम कसरी नेपाली खातामा जम्मा हुने वा कहाँ जम्मा हुनेबारेमा विस्तृत अनुसन्धानपछि मात्र थाहा हुने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर