‘सर्वोच्च नेता’ युवराज सफलले फ्याँके अर्को झटारोः ‘समाजवादी केन्द्र’ हस्तान्तरण गर्न तयार छु – Nepal Press

‘सर्वोच्च नेता’ युवराज सफलले फ्याँके अर्को झटारोः ‘समाजवादी केन्द्र’ हस्तान्तरण गर्न तयार छु

‘केपी ओलीलाई सर्वोच्च नेता मानेर जान सकिन्छ’

काठमाडौं । केही दिनअघि वामदेव गौतमले स्थापना गरेको नेकपा एकता राष्ट्रिय अभियानबाट उनैलाई निकालेको घोषणा गरेर चर्चामा आए युवराज सफल । अहिले फेरि उनले अर्को झटारो फ्याकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा. बाबुराम भट्टराईबीच ‘समाजवादी केन्द्र’ गठन गर्ने विषयमा आज छलफल भएको थियो । उक्त समाचार मिडियामा आएलगत्तै सफल जुर्मुराएका हुन् । उनले उक्त समाचारलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समाजवादी केन्द्रको ‘सर्वोच्च नेता’ का हैसियतमा विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा सफलले केही सर्तहरु अघि सार्दै ‘समाजवादी केन्द्र’ नाममा आफूले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी वाम नेताहरूलाई सुम्पिन तयार रहेको बताएका छन् । समाजवादी केन्द्र निर्माणका विषयमा भएको छलफल ‘सकारात्मक र एतिहासिक’ रहेको उनको टिप्पणी छ । तर, यसमा एमालेलाई पनि समेट्नुपर्ने सफलले नेपाल प्रेससँग बताए ।

‘अहिले वामपन्थिहरुमध्ये सबैभन्दा ठूलो पार्टी एमाले हो । यो तथ्यलाई स्वीकार्दै यदि केपी ओली पनि सहमतिमा आउनुहुन्छ भने उहाँलार्ई ‘सर्वोच्च नेता’ मानेर जाँदा राम्रो हुन्छ । उहाँपछिका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायतलाई ‘उच्च नेता’ मान्न सकिन्छ । उहाँहरुभन्दा पछि वामदेव मात्रै हुनुहुन्छ । त्यसपछि चौंथो पुस्ताका नेताहरुबाट पदाधिकारी बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो,’ सफलले सुनाए ।

सर्वोच्च नेता र ‘उच्च नेता’ सहितको नेतृत्व पंतिको आफ्नो अवधारणा विश्वमै मौलिक रहेको उनको दावी छ । आफूले १० दिनअघि माधव नेपाललाई भेटेर यो प्रस्तावसहितको दस्तावेज बुझाएको उनले बताए । आफ्नो प्रस्तावबारे नेताहरुको सामूहिक वार्तामा छलफलसमेत भएको उनको दावी छ ।

‘डा. बाबुराम भट्टराईसँग भेटका लागि स्वकिय सचिवसँग कुरा गरिरहेका छौं,’ सफलले भने ।

सफलका अनुसार उनले गत वर्षको भदौ २३ गते ‘समाजवादी केन्द्र’ दर्ता गरेका थिए । सो पार्टीको दर्ता अहिले पनि खारेज नभएको उनले बताए ।

सफलसँग गरिएको थप कुराकानीः

तपाईंहरुले बनाएको समाजवादी केन्द्रमा कति सदस्य छन् ?

कस्तो सदस्य भन्नुभाको हो ?

पार्टीको सदस्यता लिएका व्यक्ति कति छन् भनेको ?

३ लाखको हाराहारीमा हुनुहुन्छ ।

अनि केन्द्रीय समिति कत्रो छ ?

पहिले ३५ जनाको केन्द्रीय समिति थियो । अहिले त्यसलाई भंग गरेर महाधिवेशन आयोजक समिति ४४ जनाको बनाएका छौं ।

तपाईंहरुको पार्टीको प्रभावक्षेत्र चाहिँ कहाँ हो ?

खासगरि ७ नम्बर प्रदेश, ६ नम्बर प्रदेश, त्यसपछि ४, ५, २, १, ३ लगायतमा हाम्रो राम्रो पकड छ ।

पोहोर नै दर्ता भएको पार्टी रहेछ । स्थानीय चुनाव लड्नुभएन ?

मुलतः हामीले सत्तारुढ गठवन्धनका उम्मेदवारलाई सघायौं । केही स्थानमा आफैंले पनि उम्मेदवारी दियौं ।

कहाँ–कहाँ उम्मेदवारी दिनुभएको थियो ?

चन्द्रागिरीमा हाम्रा उम्मेदवार उठ्नुभएको थियो । ३–४ सय भोट ल्याउनुभयो । ककनीमा पनि उठाएका थियौं । तर, उहाँलाई कालोसूचीमा राखिदिएपछि चुनाव लड्ने वातावरण भएन । रामेछापमा पनि हाम्रो साथीलाई वडामा उठाएका थियौं । त्यहाँ पनि मनोनयन दर्ता गर्ने बेलासम्म उहाँलाई कब्जामा राख्ने काम भएछ ।

हामीले सिन्धुलीमा गठवन्धनलाई सहयोग गर्यौं । कञ्चनपुरतिर पनि गठवन्धनलाई सहयोग गरेका हौ ।

सबै प्रदेशमा पकड भएको पार्टी किन ३–४ ठाउँमा मात्रै उम्मेदवारी दिनुभयो ?

हामीसँग टाइम थोरै भयो । मनोनयन दर्ता गर्न सरकारले हामीलाई ३ दिन दिएकोमा दुई दिन सार्वजनिक विदा नै भयो । तैपनि १२ जिल्लामा हामीले मनोनयन दर्ता गरेका छौं ।

तपाईंले तपाईंले वामदेवको नेकपा एकता अभियानमा आफ्नो पार्टी मर्ज गरिसक्नुभएको होइन ? अहिले फेरि समाजवादी केन्द्रको सर्वोच्च नेता कसरी हुनुभयो ?

हामी मर्ज भएका थिएनौं । मर्ज हुने निर्णय हाम्रो कुनै पनि कमिटीले गरेको छैन । एकता अभियानमा सहभागी भएका हौं । तर, वामदेवले अभियानलाई पार्टी बनाइदिनुभयो । त्यसमा हाम्रो कुरा मिलेन । पछि हामीले वामदेवलाई नै निलम्बन गर्यौं र म त्यसको संयोजक बनेको छु ।

त्यसो भए नेकपा एकता अभियानको संयोजक पनि तपाईं, समाजवादी केन्द्रको सर्वोच्च नेता पनि तपाईं ?

हो ।

दुईवटा पार्टी एकै व्यक्तिले चलाउन मिल्ने रहेछ ?

मैले भनेँ नि । नेकपा एकता अभियानले पार्टीको रुप नै लिएको छैन । वामदेवले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । तर, त्यसमा हामी छैनौं । मैले नेतृत्व गरेको एकता अभियानमा निर्वाचन आयोगमा दर्ता भएका ८–९ वटा पार्टी छन् ।

अब फेरि समाजवादी केन्द्र सुम्पिएर वामदेवको मातहतमा काम गर्न तयार हुनुभएको हो ?

एउटा सन्दर्भमा उहाँसँग विवाद भयो र हामी छुट्टियौं । अब फेरि सहकार्य हुन नसक्ने भन्ने छैन । उहाँले पनि वामपन्थि कम्युनिष्टहरु एक हुनुपर्छ भन्दै हिँड्नुभएको छ । यसमा हाम्रो सोच मिल्छ ।

निर्वाचन आयोगमा पनि आफूलाई समाजवादी केन्द्रको ‘सर्वोच्च नेता’ भनेरै पार्टी दर्ता गराउनुभएको हो ?

होइन । पहिले म अध्यक्ष नै थिएँ । गत चैतमा केन्द्रीय समिति विघटन भएर महाधिवेशन आयोजक समिति बनाएपछि पार्टीले मलाई सर्वोच्च नेता बनाएको हो । आयोगको रेकर्डमा चाहिँ अध्यक्ष नै छ ।


प्रतिक्रिया

One thought on “‘सर्वोच्च नेता’ युवराज सफलले फ्याँके अर्को झटारोः ‘समाजवादी केन्द्र’ हस्तान्तरण गर्न तयार छु

  1. चलानी नम्बर ३५ रैछ, १ देखि ३४ सम्मका बिज्ञप्ति पत्र हेर्न पाए कस्तो पार्टी रैछ थाहा हुन्थ्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर