प्रहरी अनुसन्धानलाई गिज्याउने दुई घटना, सीसीटीभीले खोल्यो पोल – Nepal Press

प्रहरी अनुसन्धानलाई गिज्याउने दुई घटना, सीसीटीभीले खोल्यो पोल

काठमाडौं । हातहतियार, लागुऔषध, वन्यजन्तुका अङ्गहरुसहित पक्राउ परेका घटनामा प्रहरीमाथि प्रश्न उठ्ने गर्छ । कतै प्रहरी आफैंले राखेर त पक्राउ गरेको होइन भन्ने आशंका हुने गर्छ । कहिलेकाहीं कसैको योजनामा प्रहरीले साथ दिएको हो कि भन्ने प्रश्न उठ्ने गर्छ ।

प्रविधिको बढ्दो प्रयोगले निर्दोष व्यक्तिलाई कसरी अपराधका नाममा फसाइन्छ भन्ने उजागर हुने गरेको छ । हालै काठमाडौंमा भएको एउटा घटना त्यसको ताजा उदाहरण हो । कस्तुरीको बिनासहित पक्राउ परेका भनिएका शिव लिम्बूको घटनामा सीसीटीभी फुटेजबाट अर्कै घटना बाहिर आएपछि प्रहरी नै झस्किएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले असार २३ गते शिवले चाबहिलमा पार्किङ गरिराखेको मोटरसाइकलमा कस्तुरीको बिना भेटिएको भन्दै सार्वजनिक गरेको थियो । तर, तत्कालै शिवका आफन्तले निर्दोषलाई फसाउन खोजिएको भन्दै घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेज अध्ययन गर्नुपर्ने माग राखे । सीसीटीभी फुटेज हेरेका आफन्तहरु शिवलाई फसाइएको भन्नेमा ढुक्क थिए ।

मिडियासम्म यो कुरा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान टोलीले नै गठन गर्‍यो । शिवको दाबीझैँ अनुसन्धान समितिको पनि निष्कर्ष रह्यो, उनी निर्दोष छन् र उनलाई फसाउन खोजिएको छ । सीसीटीभी फुटेजले सडक किनारमा रोकिराखेको शिवको बाइकमा कसैले केही राखेको देखिन्छ ।

त्यतिबेला शिव नजिकैको खाजाघरभित्र देखिन्छन् । केहीबेरमा प्रहरी खाजाघरभित्र छिर्छ । शिवको मोटरसाइकलमा सामान राख्ने व्यक्ति पनि त्यही पुग्छन् । मोटरसाइकलमा कस्तुरीको बिना भेटिएको भन्दै प्रहरीले शिवलाई सार्वजनिक गर्छ ।

प्रहरीको छानबिन प्रतिवेदन- यस्तो छ वास्तविकता

पाँचथरको चिलिङदिङ- ४ का आदम भन्ने सुवास राई र पाँचथरकै तुम्बेया- ५ का शिव लिम्बू जग्गा कारोबारी हुन् । जग्गा कारोबारकै क्रममा गत बैशाखमा सुवासले मदिरा सेवन गरी शिवलाई तथानाम गाली गरेका थिए ।

शिवलाई त्यो सहीसक्नु थिएन । उनले त्यसको केही दिनपछि साथीहरुकै बीचमा सुवासलाई कुटे । सुवासले त्यो हातपात बिर्सन सकेनन् । कुनै पनि हालतमा शिवलाई सिध्याउने योजनामा उनी लागे । सुवासले आफूसँग कस्तुरीको बिना रहेको भन्दै त्यसबारे चिनजानका नारायण कार्की भनिने कृष्ण श्रेष्ठसँग कुरा राखे ।

कृष्णले उक्त कस्तुरीको बिना नक्कली भएको बताएपछि सुवासले त्यही प्रयोग गरेर शिवलाई फसाउन योजना बुनेको छानबिन समितिको दाबी छ। प्रहरीलाई जानकारी दिए सुराकीबापतको पैसा पनि राम्रै पाइने उनीहरुले सोचेका थिए । उनीहरुले प्रहरीसँग त्यसबारे कुराकानी पनि गरे । एक व्यक्तिले कस्तुरीको बिना लिएर हिँडिरहेको थाहा पाएपछि प्रहरी पनि काम देखाउन पाइने भयो भनेर मख्ख भयो ।

असार २३ गते अपराह्न शिवले चाबहिलमा रोकिराखेको मोटरसाइकलमा कस्तुरीको बिना रहेको छ भन्दै उनीहरुले प्रहरीलाई खबर गरे । मोटरसाइकलमा उक्त सामान राख्ने कृष्ण त्यहीं नजिकै बसिरहेका थिए । सुवासले आफू चिनिन्छु भन्ने डरले कृष्णलाई कस्तुरीको बिना राख्न पठाएको दाबी छानबिन समितिको छ ।

‘जसले सूचना दियो, उसैले त्यो सामान राखेको भन्ने कुरा प्रहरीलाई थाहा थिएन । प्रहरीले शिवलाई नचिनेकाले नजिकै रहेका कृष्णलाई बोलाएर सनाखत गराएको पाइएको छ’, शिवको मोटरसाइकलमा कस्तुरीको बिना राख्ने कृष्ण अन्तिममा प्रहरीसँग देखिएकोबारे छानबिन समितिका एक सदस्य भन्छन् । कृष्णलाई पक्राउ गरेपछि प्रहरीले घटनाको वास्तविकता थाहा पाएको हो ।

प्रहरी प्रवक्ता टेकप्रसाद राई यस्ता घटनाले प्रहरीले अनुसन्धानमा संवेदनशीलता अपनाउनुपर्ने सन्देश दिएको बताउँछन् । ‘हामीले सूचना आएपछि बेवास्ता गर्न मिल्दैन। तर, मान्छे पक्राउ गरेपछि सबै कुराको निचोडमा पुगेरमात्र मुद्दाको प्रक्रियामा अगाडि बढ्नुपर्छ’, डीआईजी राई भन्छन् ।

रौतहटमा एक वर्षअघि यस्तै घटना

रौतहटमा करिब एक वर्षअघि यस्तै प्रकृतिको घटना भएको थियो । साउन ३२ गते लागुऔषधसहित पक्राउ परेको भनिएका पत्रकार मोहमम्द मोजिबुल्लाह निर्दोष रहेको सीसीटीभी फुटेजबाटै पत्ता लागेपछि प्रहरीसमेत यसमा मुछिएको थियो ।

रौतहटका तत्कालीन प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजिएको भन्दै प्रहरी प्रधान कार्यालय तानिएका थिए । रौतहटको गौरस्थित होटल ग्रिन सिग्नलबाहिर मोजिबुल्लाहले रोकिराखेको मोटरसाइकलमा केही व्यक्तिले आएर लागुऔषध राखेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

पत्रकार मोजिबुल्लाह पक्राउ परेपछि होटलमा रहेको सीसीटीभी हेर्दा प्रहरी नै छक्क परेको थियो । केही दिनसम्म मोजिबुल्लाहलाई लागुऔषध कारोबारी भनेर हल्ला चलाएको प्रहरी सीसीटीभी फुटेज बाहिर आएपछि झस्किएको थियो ।

नेपाल पत्रकार महसंघ रौतहट शाखाका तत्कानी सहसचिव सञ्जय सहनीले मोजिबुल्लाहलाई फसाउन प्रहरीसमेत प्रयोग गरेर लागुऔषध राखेको निष्कर्ष निकालिएको थियो । सीसीटीभी फुटेजमा दुई जना सादा पोसाकका प्रहरी सामुन्ने दुई जनाले मोटरसाइकलमा लागुऔषध राखेको देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर