मुख्यमन्त्रीले प्रतिपक्षी दललाई छलफल गर्न बोलाए, को–को जाँदै छन् वार्तामा – Nepal Press

मुख्यमन्त्रीले प्रतिपक्षी दललाई छलफल गर्न बोलाए, को–को जाँदै छन् वार्तामा

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्न सकस भइरहेको बेला मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएका छन् । अहिले बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री भट्टले विपक्षी दलहरूलाई संवादमा बोलाएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा एमाले, जसपा र लोसपा प्रतिपक्षी दल हुन् । सरकारले असार १ गते ल्याएको बजेटका मूलभूत सिद्धान्त नै गलत रहेको भन्दै प्रतिपक्षी दलले निरन्तर संसद् बहिस्कार गर्दै आएको छ ।

प्रतिपक्षी तीन दलले हिजो संयुक्त बैठक राखेर बजेट माथिका साझा असहमतिका बिषय पहिचान समेत गरेको थियो । अहिले ८ बजे साझा असहमतिका बिषय मुख्यमन्त्री भट्टलाई समेत जानकारी गराउने जनाइएको छ ।

छलफलमा एमालेको तर्फबाट दलका नेता प्रकाश शाह,प्रमुख सचेतक लिलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी छलफलमा जाने भएका छन् । यहाँ जसपाबाट एक जना मात्रै सांसद छन् ।

जसपाका सांसद मलामती रानाले हिजै साझा असहमतिमा सहमति जनाइसकेकी छन् । आज उनी प्रदेश बाहिर रहेको हुँदा उपस्थित हुन नसक्ने भएकी छन् । लोसपाका कृष्ण चौधरी पनि एमालेका सांसदसँग मुख्यमन्त्रीको संवादमा सहभागी हुने भएका हुन् ।

सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट माथि करिब एक महिना पुग्नै लाग्दा पनि छलफल हुन सकेको छैन । सत्ता पक्ष र विपक्षी अहिले बजेट परिष्कृत हुनुपर्ने अडानमा छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीले बोलाएको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर