नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानूनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल – Nepal Press

नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानूनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल

काठमाडौं । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री र कानूनमन्त्रीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाड र कानूनमनत्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रधानमन्त्री निवास बालुवाटारमा विधेयकको बारेमा पूर्व सभामुख समेत रहेका उपनेता नेम्वाङसँग कुराकानी गरेका हुन् ।

गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले संसद्मा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको नेम्वाङले जानकारी दिए ।

‘तपाईँहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयवस्तु समावेश गरेर विधेयक संघीय संसद्मा पेस गरेका छौँ । पास गर्नलाई छलफल गरौँ, भन्नुभयो,’ भेटमा भएको कुराकानीबारे नेम्वाङले भने, ‘मैले ठिक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो । हामी नागरिकता विधेयकमा सकारात्मक नै छौ । विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौ भने ।’

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्‍याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिकबाहेकका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया

One thought on “नागरिकता विधेयकबारे गृहमन्त्री खाण र कानूनमन्त्री शर्माद्वारा एमाले नेता नेम्वाङसँग छलफल

  1. विदेशी महिलालाई कुनै हालतमा ७ वर्षभन्दा पहिले नागरिकता दिनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर