बुढीगंगाको परिणाम : रङ्गको मात्र हार कि खम्मको पनि ? – Nepal Press
टिप्पणी

बुढीगंगाको परिणाम : रङ्गको मात्र हार कि खम्मको पनि ?

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम मत परिणाम आइतबार करिब ११ः४५ मा सार्वजनिक भयो । अन्तिम ५०० मत गणना हुन बाँकी रहँदा ९५८ मतले प्रमुख र उपप्रमुखमा ८८० मतले अग्रता बनाएपछि जीत निश्चित भएको थियो ।

आइतबार मत परिणाम सार्वजनिक भए पनि एमाले नेता कर्ण थापाले एक दिनअघि नै जीत निश्चित भएको सामाजिक सञ्जालमा लेखेका थिए । बुढीगंगामा एमालेले जित्दै गरेकोमात्रै होइन प्रधानमन्त्री, प्रधानन्यायाधीश प्रमुख निर्वाचन आयुक्त र महान्यायाधिवक्ता पनि हार्दै गरेको थापाले टिप्पणी गरे ।

एउटा पालिकाको निर्वाचनलाई लिएर थापाले प्रधानमन्त्रीदेखि महान्यायाधिवक्तासम्मलाई किन जोडे ? त्यो बुझ्न करिब २ महिनाअघिको प्रसङ्ग सम्झनुपर्छ ।

वैशाख ३० गते देशैभरका स्थानीय तहमा एकैसाथ निर्वाचन भइरहेको थियो । यस क्रममा बुढीगंगामा पनि निर्वाचन भयो । यहाँ दिनभरि जस्तो तनावपूर्ण अवस्था सृजना भएको थियो । एमाले र कांग्रेस दुवैले आफ्नो शक्ति भएको क्षेत्रमा बल प्रयोग गरे । थुमा मावि मतदानस्थलमा ९९.४१ प्रतिशत मत खस्यो । यहाँ कांग्रेसले बुथ कब्जा गरेको थियो ।

यहाँ १ हजार ७०९ मतदाता छन् । तीमध्ये १० मतमात्र खसेन । यो मतले नै यहाँ धाँधली भएको आशंका सुरु भइरहेको थियो । कांग्रेस नगर प्रमुखका उम्मेदवार रङ्गबहादुर खातीको वडा पनि यही हो । उनी महान्यायाधिवक्ता खम्मबहादुर खातीको सहोदर दाजु हुन् । एमालेले महान्यायाधिवक्ताको बलमा कांग्रेसले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप पनि लगाएको थियो ।

यता २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसले आरोप लगाएको थियो । कांग्रेसले यी वडाहरूमा पुनः मतदानको मागसमेत गरेको थियो । एमालेहरूले भने कांग्रेसले ४ र ५ नम्बर वडामा बुथ कब्जा गरेको बताउँदै आएको थियो ।

कांग्रेसले कब्जा गरेको बुथमा ९९.१४ प्रतिशत मत खस्दा पनि एमालेले भने मत गणनाको माग गरेको थियो । तर, कांग्रेसले भने एमालेले कब्जा गरेको भनिएका वडाहरूमा पुनः मतदान गर्नुपर्ने बताउँदै आएको थियो । यही विवाद उत्कर्षमा पुगेपछि निर्वाचन आयोगले निर्वाचन आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अनुगमनका लागि पठाएको थियो ।

उक्त समितिले प्रतिवेदन बुझाएलगत्तै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । त्यो निर्णय पनि सत्ताको दुरुपयोग गरेर गरेको आरोप लागेको थियो ।

‘प्रतिवेदनमा मतगणना यथाशीघ्र सुरु गर्न सिफारिस गरिएको थियो । तर, सत्ता र शक्तिको दुरुपयोग गरेर पुनः निर्वाचन गर्ने निर्णय आयोगले गरेको हो’, एमालेका नेता थापा भन्छन्, ‘शक्ति र सत्ताको चरम दुरुपयोग गरे पनि जनताले न्यायिक फैसला गरेका छन् ।’

आयुक्तले आयोगमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवारले पेस गर्नुभएको निवेदनअनुसार वडा नम्बर २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न कानूनी आधार नदेखिएको हुँदा उक्त नगरपालिकाको सबै वडाको मतगणना कार्य यथाशीघ्र सुरु गर्न उपयुक्त देखिन्छ ।’

बुँदा नम्बर २ मा निर्वाचन रद्द गरी पुनः निर्वाचन कार्यक्रम घोषणा गर्ने जिल्ला सुरक्षा समितिको बैठकमा निर्णय गरेर मुख्य निर्वाचन अधिकृतलाई पठाउने विषय पनि समितिले गलत ठहर गरेको थियो । प्रतिवेदनमा महान्यायाधिवक्ता खम्म बहादुर खातीले पदको चरम दुरुपयोग गरेको भन्दै स्पष्टीकरण दिनसमेत सुझाव दिइएको छ ।

महान्यायाधिवक्ता खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको प्रतिवेदनमा उल्लेख छ । बाजुरामा रहँदा शक्तिको दुरुपयोग गरेको भन्दै कारबाही झेलेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा नेपाल प्रहरीमा जागिर खानुअघि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घमार्फत स्ववियु सभापतिसमेत भएका थिए ।

कांग्रेस शुभचिन्तक भएकै कारण खातीले दाजु जिताउन नेपाल प्रहरीको दुरुपयोग गरेका थिए । दाजुलाई जिताउन महान्यायाधिवक्ताले पदको दुरुपयोग गरेको आयुक्तको प्रतिवेदनमा प्रस्ट उल्लेख छ ।

सबैभन्दा ठूलो प्रभाव महान्यायाधिवक्ता खातीले १४ असारमा देखाए । त्यस दिन पुनः निर्वाचन कि मतगणना भन्ने विवादमा अन्ततः उनी सर्वोच्च अदालत र निर्वाचन आयोग दुवै संवैधानिक अङ्गलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रङ्ग खातीको अनुकूल निर्वाचन आयोगबाट निर्णय गराउन सफल भएका खातीले त्यस दिन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर निस्केलगत्तै सर्वोच्चबाट पनि सोहीअनुरूपको आदेश आएको थियो ।

कामु प्रधानन्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश माग गर्दै वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले दायर गरेको रिटमाथिको सुनुवाइ भएको थियो ।

टी ब्रेकपछि सुनुवाइ हुने भनेर इजलासबाट बाहिरिएका प्रधानन्यायाधीशको कार्यकक्षमा महान्यायाधिवक्ता खाती छिरेपछि अन्य आदेश आउने आकलन साउद पक्षका वकिलहरूले गरिसकेका थिए ।

नभन्दै टी ब्रेकपछि सो मुद्दाको सुनुवाइ गर्दै कार्कीले अन्तरिम आदेश जारी नहुने आदेश सुनाए । त्यसपछि कांग्रेस वृत्तमा पुनः हुने निर्वाचनमा जीत सुनिश्चित भएको आकलन गरिएको थियो । एमाले वृत्तमा भने शक्ति र सत्ताको कारण फरक परिणाम आउन सक्ने अनुमान थियो । मतदाताहरूले भने प्रदेशका शीर्ष नेताहरूको क्षेत्र भएका कारण फेरि विवाद हुनसक्ने बताएका थिए ।

बुढीगंगा नगरपालिका कांग्रेस र एमालेका ‘ठूला नेता’हरुको गृहनगर हो । कांग्रेस नेता तथा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका महान्यायाधिवक्ता खम्मबहादुर खाती यही नगरबाट प्रतिनिधित्व गर्छन् ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज कर्ण थापा, केन्द्रीय सदस्य तथा सांसद लालबहादुर थापा र सुदूरपश्चिम प्रदेशका पूर्वकानुनमन्त्री प्रकाश शाहको मतदान केन्द्र यही नगरपालिकामा पर्छ ।

दुवै पक्षमा प्रभावशाली नेता भएका कारण गृहनगर जित्नैपर्ने दबाबका साथ उनीहरू चुनावअघिदेखि नै सक्रिय थिए । यी विवादका कारण पुनः निर्वाचन हुँदा अझै अवस्था पेचिलो बन्न सक्ने बताइएको थियो । तर, अवस्था त्यस्तो भएन सामान्य विवादबाहेक ठूलो घटना भएन ।

असार २३ गते निर्वाचनपछि २४ गतेबाटै मत परिणाम आउन थालिसकेको थियो । अन्ततः १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भए । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । अहिले बाजुरामा खम्मले दाजु रङ्गलाई जिताउन शक्ति र सत्ताको चरम दुरुपयोग गरेको तर, त्यति हुँदा पनि उनले जित्न नसकेको चर्चा व्यापक बनेको छ ।


प्रतिक्रिया

One thought on “बुढीगंगाको परिणाम : रङ्गको मात्र हार कि खम्मको पनि ?

  1. याे रङ्गकाे भन्दा पनि खम्म प्रवृत्तिकाे हार हाे । गठबन्धनकाे हार हाे । राज्य संयन्त्र प्रयाेग गर्दा पनि चुनाव जित्न सकिदाे रहेनछ यदि जनता साथ छन् भन्ने संदेश दिएकाे छ याे चुनावले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर