एमाले रुपन्देहीले भेटाउन सकेन अन्तर्घातको जरो – Nepal Press

एमाले रुपन्देहीले भेटाउन सकेन अन्तर्घातको जरो

बुटवल । कार्यकर्ताहरुले स्थानीय तह निर्वाचनमा नेताहरुको अन्तर्घातकै कारण बलियो मानिएका पालिकामा पराजय भोग्नुपरेको उजुरी दिए पनि नेकपा एमाले रुपन्देहीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन ।

कार्यकर्ताहरुले विभिन्न पालिकामा महत्वपूर्ण जिम्मेवारी संम्हालेका नेताहरुले अन्तर्घात गरेको जिल्ला नेतृत्वलाई उजुरी दिएका हुन् । तर, पार्टीका मुख्य नेताहरु नै मुछिने डरले कारबाहीको कुनै तयारी गर्न नसकेको एक जिल्ला नेताले नेपालप्रेसलाई बताए । यसअघि ८ वटा पालिका जितेको एमाले यसपटक ३ वटामा खुम्चिएको छ ।

‘यसपटक जिल्लाको दक्षिणी क्षेत्रमा धेरै सुधार भएको थियो, उत्तरी क्षेत्रमा पार्टीको पकड रहेका ५ पालिकामा नेताहरुकै अन्तर्घातका कारण एमालेले चुनाव हारेको हो, नेतृत्वले यसलाई पछ्याउन सकेन’, ती नेताले भने । एमालेको केन्द्रमा समेत अन्तर्घातको छानबिन र कारबाहीको चर्चा चलेको छ । यसको जिम्मेवारी पार्टी उपाध्यक्ष विष्णु पौडेलले पाएका छन् ।

‘उपाध्यक्ष पौडेलको गृहजिल्ला भएकाले आफ्नै नेतालाई हराउने जोसुकै भए पनि कारबाही हुने आश जगाएको थियो’, एमाले कार्यकर्ता शिव अधिकारी भन्छन्, ‘तर, जिल्ला नेतृत्वले यसलाई अगाडि बढाउन सकेन ।’

शनिबार एमाले रुपन्देहीले निर्वाचनको समीक्षासहितको महत्वपूर्ण बैठकमा समेत यो विषयलाई टालटुल पार्ने काम भयो ।

‘बैठकमा निर्वाचनको समीक्षाका विषयमा कुनै पनि पालिकामा कसले कमजोरी गर्‍यो भनेर कुरै उठेन, यस्तो पनि समीक्षा हुन्छ’, बैठकमा सहभागी एक जिल्ला सदस्यले भने, ‘व्यक्तिका नामै तोकेर कार्यकर्ताले दिएका उजुरीलाई पन्छाउँदै जिल्ला सचिव यज्ञ गैरेले लिखित तयारी गरेको समीक्षा प्रतिवेदन वाचन गर्नुभयो । तैं चूप मै चूप बसे सबै । कसैमा किन कारबाही भएन भनेर प्रश्नै उठाउने, सवालजवाफ गर्ने हिम्मत आएन ।’

कारबाहीको कुरा उठाउँदा आफै फस्ने डरले धेरै नेता तथा कार्यकर्ता चूप लागेको उनी बताउँछन् ।

रुपन्देहीमा यसअघि एमालेले जितेका पालिकामा मुख्य नेताहरुको बेमेलका कारण पराजित भएको धेरै कार्यकर्ताले टिप्पणी गरिरहेको समयमा एमाले बैठकमा भने नेताहरुलाई जोगाउने काम भएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले भने बैठकमा समीक्षा भएको तर व्यक्ति कसले अन्तर्घात गर्‍यो भनेर कुरा नउठेको दावी गरे । ‘प्रमाणविना कसरी कारबाही गर्न सकिन्छ । कसैलाई अर्कोसँग चित्त नबुझेकै भरमा मौखिक भनेका आधारमा कसरी कारबाही हुनसक्छ’, केसीले भने, ‘यो विषयमा नेतृत्व गम्भीर छ, केही स्थानका केही व्यक्तिलाई हामीले अनुसन्धान गरेका छौं । त्यसको प्रमाण भेटिएपछि सार्वजनिक गर्छौं ।’

एमाले बैठकमा सहभागी पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले स्थानीय तह निर्वाचनबाट सबैले एक्लै बनाउँदा पनि एमाले सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भएको प्रमाण ०७४ को निर्वाचनमा ३१ प्रतिशत मत प्राप्त र अहिलेको निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त गरेबाट पुष्टि भएको बताएका थिए ।

तर, सीट संख्यामा कसरी पराजित भएको हो, त्यो विषयमा जिम्मेवारीमा रहेका व्यक्ति जवाफदेही हुनुपर्ने र यसको समीक्षा जरुरी भएको उनको भनाइ थियो । सीट संख्याका आधारमा प्राप्त परिणामले एमाले पछि पर्दा इमानदार र निष्ठाका साथ लागेका कार्यकर्ताहरुलाई दुःखित तुल्याएको भए पनि विश्वकर्माले ती कमजोरीहरु पुनः दोहिरिन नदिने गरी काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

पार्टी निर्माण र विस्तारको काममा लागेर आगामी संघीय र प्रदेशको निर्वाचनमा एमालेप्रतिको जनमत सृजना गर्न सबैजना जिम्मेवार भएर लाग्न विश्वकर्माले निर्देशन दिएका थिए ।

बैठकले पार्टी कार्यकर्ताहरु एवं जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, पार्टी केन्द्रले साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण एवं सदस्य विस्तार गर्न गरेको निर्देशनलाई समयमै सम्पन्न गर्ने सचिव यज्ञ गैरेले बताए ।


प्रतिक्रिया

One thought on “एमाले रुपन्देहीले भेटाउन सकेन अन्तर्घातको जरो

  1. अन्तरघाती नेता कार्यकर्ता जो भएपनि स्थानीय निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउने र प्रतिद्वन्दीलाई जिताउने जोसुकैलाई पार्टी नेतृत्वले कारबाहीमा गर्न नसक्नु लाजमर्दो कुरा भयो । यस्तै किसिमले धाक्छोप गर्ने प्रवृत्ति भइ रहिरहे आगामी निर्वाचनमा एमाले पार्टिमा आस्था राख्ने सबै स्वतन्त्र वा अन्य विकल्पमा जाने निश्चित छ । संसदीय निर्बाचनका लागी पार्टीका सबै बफादार नेताकार्यकर्ताहरु सचेत र चनाखो हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर