उपमहानगर र महानगरको फोहोर व्यवस्थापन गिज्याउने धनकुटाको ल्यान्डफिल साइट (तस्वीरहरु) – Nepal Press

उपमहानगर र महानगरको फोहोर व्यवस्थापन गिज्याउने धनकुटाको ल्यान्डफिल साइट (तस्वीरहरु)

धनकुटा । ल्यान्डफिल साइट छिर्ने गेटमा लेखिएको छ, ‘आफ्नो शहर सफा राखौं।’

यो कुरा नेपालका नगरपालिकाको आम कागजी नारा जस्तोमात्रै होइन । यो नाराको सफल कामै गरेर धनकुटाले देखाएको छ। ३० रोपनी क्षेत्रफलमा फैलिएको २०६६ सालमा निर्माण भएको ल्यान्डफिल साइट नै आकर्षक छ । ४५ प्रजातिका फूलहरुले ढकमक्क फूलबारी छ।

नकुहिने फोहोरको स्तरीय व्यवस्थापन छ । शौचालय र नुहाउने, लुगा धुने धारामात्रै छैनन् ल्यान्डफिल साइटमा प्लास्टिक संकलनदेखि कम्पोस्ट मल बनाउने भिनभिन्न सेक्सन छन् ।

बारुणयन्त्र, सेफ्टी ट्यांकी, ट्याक्टरहरु र थुप्रै निजी गाडी पार्किङ गरिएका देखिन्छन् । ती गाडीमा आकर्षक ल्यान्डफिल साइट हेर्न आउने आगन्तुकहरु आउँछन् ।

सरकारी गाडीहरु पनि कहिलेकाहीं देखिन्छन् । ती गाडीमा विभिन्न स्थानीय, प्रदेश तथा संघ सरकारका आगन्तुकहरु फोहोर व्यवस्थापन सिक्न आउँछन् । धनकुटा- ६ सल्लेरीको यो ल्यान्डफिल साइट बस्तीबाट न्यूनतम १५० देखि ३०० मिटरको दूरीमा मात्रै छ । तर, बस्तीको गुनासो छैन । किनभने गुनासो गर्न लायक दुर्गन्ध ल्यान्डफिल साइटमा छैन । गुनासो गर्न लायक फोहोर छैन । उल्टै ल्यान्डफिल साइट नै घुम्न जाउँ जाउँ खालको छ।

यही कारण धनकुटालाई नेपाल सरकारले २०७३ मा दोस्रो सबैभन्दा सफा शहर र २०७४ मा पहिलो सबैभन्दा सफा शहरको पुरस्कार दिएको थियो । यो ल्यान्डफिल साइटमा स्थानीय सरकारका २५ र निजी क्षेत्रका १४ गरेर ३९ जनाले प्रत्यक्ष रोजगारसमेत पाएको बताउँछन् धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनाल ।

खनाल आफैं धनकुटा- ४ देब्रेबास क्षेत्रको घरमा फोहोर व्यवस्थापन गरेर उदाहरण बनेका छन् । धनकुटाको दैनिक फोहोर संकलन १३.५ टन हुने नगरपालिकाको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर