मकवानपुरको १० वटै स्थानीय तहले ई–पासपोर्टको निःशुल्क फर्म भरिदिने – Nepal Press

मकवानपुरको १० वटै स्थानीय तहले ई–पासपोर्टको निःशुल्क फर्म भरिदिने

हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहले शुक्रबारबाट विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) को लागि निःशुल्क अनलाइन फारम भरिदिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा ई-पासपोर्टको लागि अनलाइन फारम भर्नेको भीड बढेको र साइबरहरुले मनलाग्दी पैसा लिएर फारम भरिरहेको गुनासो आएपछि जिल्लाका सबै स्थानीय तहले आफ्ना पालिकावासीलाई यो सुविधा निःशुल्क प्रदान गर्ने भएका हुन् ।

सामान्यतया अनलाइन फर्म घरबाटै भर्न सकिने भए पनि सबै नागरिक इन्टरनेटको पहुँचमा नरहेको कारण जिल्ला प्रशासन कार्यालयमा अनलाइन फर्म भर्न भीड बढेपछि प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले आफ्नो पालिकाबाट सेवा सुरु गर्ने भएका हुन् ।

स्थानीय तहमै ई-पासपोर्टको लागि निःशुल्क रुपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रजिअ पाण्डेले भोलिबाटै जिल्लाको स्थानीयतहमा निःशुल्क रुपमा ई-पासपोर्टको लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताए । उनले जिल्लामा ई-पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै शुक्रबार समयमै स्थानीय तहको कार्यालयमा पुगेर फारम भर्न सकिने बताए ।

‘इन्टरनेटको पहुँच भएकाहरुले घरबाटै फारम भर्न सकिन्छ । इन्टरनेटको पहुँच नभएकाहरुलाई अब जिल्ला प्रशासन कार्यालयसम्म फारम भर्नकै लागि आउनुपर्दैन’, प्रजिअ पाण्डेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर