कडा सुरक्षा घेरामा बाजुरा बुढीगंगाको मतदान, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित – Nepal Press

कडा सुरक्षा घेरामा बाजुरा बुढीगंगाको मतदान, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान जारी छ । वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै सर्वोच्च अदालतले पुन: निर्वाचन गर्ने फैसला गरेसँगै आज मतदान भइरहेको हो ।

१० बुथका १९ मतदान केन्द्रमा १३ हजार ६ सय ५९ मतदाताले मतदान गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले जानकारी दिए ।

अहिले बाक्लो सुरक्षा घेराभित्र मतदान भइरहेको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मतदातासँगै रहेर नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिर घेरालाई नेपाली सेनाले सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

कुनै पनि अप्रिय घटना नहुन दिने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । पर्याप्त मात्रामा राष्ट्रिय अनुसन्धान र निर्वाचनमा कर्मचारी पनि खटिएका छन् । प्रहरीलाई मतदान केन्द्रमा मात्र नभई गाउँ-गाउँमा पनि बाक्लोरूपमा अटाइएको छ ।

यसअघि मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायतका केन्द्रीयस्तरका नेताहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् । प्रतिबद्धता जाहेर गर्नेमा नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका बद्री पाण्डे, सांसद लालबहादुर थापालगायत जिल्लास्थित नेताहरूको सहभागिता थिए ।

यी हुन् दोस्रो पटक निर्वाचन हुनुका कारण

वैशाख ३० गते मुलुकका अन्य ७५२ स्थानीय तह जस्तै यहाँ पनि निर्वाचन भइरहेको थियो । बुढीगंगा नगरपालिका ४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७०९ मतदाता रहेकोमा एक हजार ६९९ मत खसाइएको थियो । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । यही मतले देशैभरि यहाँको निर्वाचनबारे शङ्का पैदा गराएको थियो ।

नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भवतः नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदानस्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए ।

नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । २०७४ को स्थानीय तहको चुनावमा पनि यो मतदान स्थलमा बाजुरामै सबैभन्दा बढी मत खसेको थियो । यो मतदान स्थलमा विगतदेखि नै कांग्रेसले नियन्त्रणमा लिएर फर्जी मत हाल्दै आएको आरोप लाग्ने गरेको छ । तर, कांग्रेसले भने यो कुराको खण्डन गर्दै आएको छ ।

कांग्रेसले भने एमालेले चार वडाका बुथहरू कब्जा गरेको आरोप लगाएको थियो । समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरू वडा नम्बर २, ३, ५ र ९ नम्बरका मतदान स्थलबाट अपराह्नतिर मतपेटिकासमेत मतदान स्थलमै छाडेर हिँडेका थिए ।

कांग्रेस नेताहरूले एमालेले बुथ कब्जा गरेपछि सुरक्षा दिन नसकेर भाग्न बाध्य भएको बताएका थिए । यता एमाले नेताहरूले भने कांग्रेसले सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई फिर्ता बोलाएको आरोप लगाएको थियो ।

विवाद त्यतिमा मात्रै सीमित भएन । निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफू असुरक्षित रहेको र हुल हुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजीनामा पठाएपछि यहाँ थप विवाद भएको थियो ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरूबिच सहमति हुन सकेन । थप अध्ययनका लागि निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुग्यो ।

समितिले प्रतिवेदन बुझाए लगत्तै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । तर, उक्त प्रतिवेदनमा मतगणना यथाशीघ्र सुरु गर्न सिफारिस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर