कमिसनको चक्करमा हरेक वर्ष ‘पाठ्यक्रम फेरिँदा’ विद्यार्थीसँगै अभिभावक मर्कामा – Nepal Press

कमिसनको चक्करमा हरेक वर्ष ‘पाठ्यक्रम फेरिँदा’ विद्यार्थीसँगै अभिभावक मर्कामा

विद्यालय सञ्चालकले पब्लिकेशन हाउससँगको मिलेमतोमा पाठ्यक्रम नै फेरेको आरोप

रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यालयहरूले विद्यार्थीको भर्ना गरिसकेर कक्षा सञ्चालन गरे पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थी पढ्न र अभिभावकलाई समस्या थपिएको हो ।

त्यसो त यो विषयमा यथार्थ जानकारी विद्यार्थी र अभिभावकलाई विद्यालय तथा पुस्तक पसल कसैले दिने गरेका छैनन् ।

विद्यालयमा भर्ना भएका विद्यार्थीलाई किताब ल्याउन शिक्षक शिक्षिकाले भन्छन् अनि अभिभावक र विद्यार्थी दिनदिनै स्टेशनरी पसलमा धाउँछन् तर स्टेशनरी पसलले पनि हरेक दिन भोलि आउँछ भनेर फर्काउँछन् ।

विद्यार्थी, अभिभावक पुस्तक किन्नका लागि दैनिक रूपमा स्टेशनरीमा धाउन थालेको एक महिना हुनै लाग्दा पनि पुस्तक पाउन सकेका छैनन् ।
यो समस्या सरकारी तथा निजी दुवैमा पढाउने अभिभावक तथा विद्यार्थीहरूको हो ।

बुटवलको आशिष स्टेशनरीका सञ्चालक आशिष् सूर्यवंशीले पुस्तक अभाव सरकारी तथा निजी क्षेत्र दुवैमा रहेको बताए ।

‘हामीलाई पनि यथार्थ कुरा जानकारी दिइएको छैन, कहिलेसम्म सबै पुस्तक आउँछन्, हरेक दिन लिन गयो भोलिसम्म त आउला भनेर भनिन्छ, हामीले पनि अभिभावक तथा विद्यार्थीलाई त्यही भनेर पठाउँछौँ’– उनले भने ।

नवीन औद्योगिक कद्दरबहादुर रिता माविका प्रधानाध्यापक प्रेम बस्नेतले कक्षा सञ्चालन भइसक्दा पनि सबै पुस्तकहरू पाउन नसक्दा पठनपाठनमा समस्या भएको बताए ।

‘विद्यालयका अरू समस्या त छँदैछन्, सरकारले बनाएको पाठ्यक्रमका पुस्तक नै नपाएपछि कसरी कक्षालाई नियमित बनाउने भन्नेमा समस्या आएको छ, आएका किताबहरूलाई मिलाएर सुरु गरेका छौँ’, उनले भने ।

पब्लिकेशन, स्कुल र पुस्तक पसल एकै व्यक्तिको भएका कारण पनि यस्ता समस्या थपिएका छन् ।

निजी विद्यालयहरू पब्लिकेशनसँग मिलेर कमिसनकै कारण उनीहरूको पुस्तक पाठ्यक्रममा राख्ने गलत संस्कार बस्नु, प्याब्सन तथा एनप्याब्सनजस्ता संस्थाहरू पब्लिकेशनसँग प्रतिशतका आधारमा रकम माग गरेर विद्यालयमा पुस्तक लगाउने ग्यारेन्टी गर्नु, प्याब्सनको भवन निर्माणमा पब्लिकेशनले लगानी गरेर बनाइनु लगायतका कारणहरू अभिभाव र विद्यार्थीमाथि गरिएका गम्भीर खेलबाडका उदाहरण भएको अभिभावक दिनेश पराजुली बताउँछन् ।

विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका कारण पुस्तक छपाइमा ढिलाइ भएको बताएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख भैरव पन्तले स्थानीय तहको चुनावले गर्दा देशभर पाठ्यपुस्तकको अभाव रहेकाले यो समस्या आएको स्वीकार गर्छन् ।

अब केही दिनमा बुटवलमा एक ट्रक पुस्तक आउने जनक शिक्षा सामग्री केन्द्र लुम्बिनी प्रदेश कार्यालय बुटवलले जानकारी गराएको छ । सरकारी स्वामित्वमा जनक शिक्षा सामाग्री केन्द्रले छाप्ने पुस्तकहरू सधैँ अभाव हुने भए पनि यस वर्ष झनै अभाव हुने प्रस्ट संकेत देखिएको छ । सरकारले पाठ्यपुस्तक छपाइलाई प्राथमिकता नदिएकाले देशभर पुस्तकको अभाव रहेको पुस्तक व्यवसायी रामकृष्ण चापागाईँले बताए ।

यस शैक्षिक सत्रमा ४, ७ र ९ कक्षाका पुस्तक सरकारले नै परिवर्तन गरेको र समयमा पुस्तकहरू उपलब्ध गराउन नसक्दा विद्यार्थी मारमा परेको अभिभावक संघ रुपन्देहीका पूर्वअध्यक्ष लोकनाथ ज्ञवालीले बताए । प्राइभेट पब्लिकेशनहरुले पनि समयमा पुस्तकहरू छाप्न नसक्दा पुस्तकको अभाव रहेको उनको भनाइ छ ।

समयमा पुस्तक नपाउँदा समयको कम हुँदा कोर्स पूरा हुन नसक्ने चिन्ता विद्यार्थीको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको लापरबाहीका कारण विद्यार्थीले बितेका शैक्षिक सत्रदेखि अहिलेको शैक्षिक सत्रमा पनि पुस्तक पाउन नसकेको स्टेशनरी व्यवसायीहरूको भनाइ छ ।

प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य लालहरि पाण्डेले निजी विद्यालयको पुस्तक प्रकाशनका लागि शिक्षा मन्त्रालयले पाठ्यक्रमको स्वीकृति दिएपछि छपाइमा कडाइ नगर्दा समस्या आएको बताउँछन् ।

‘पब्लिकेशनहरुले स्वीकृति लिएपछि बजारको अवस्था बुझेर मात्रै छपाई गर्ने भएकाले यो समस्या आएको हो, यसमा कडाइ गर्न नसक्ने सरकार र जिम्मेवारी लिने पब्लिकेशनहरु दोषी छन्, यसका साथै अहिले कागजको मूल्य बढेकाले पनि केहीले ढिलाइ गरेका छन् सजिलै सबै किताब आउने छाँट छैन’, उनले भने ।

पाण्डेले पब्लिकेशनहरु बीच नै अस्वस्थ प्रतिस्पर्धा भएकाले केही समस्या अझै थपिएको बताउँछन् ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हरि अर्याल सरकारी पुस्तक छाप्ने जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्र र यसको जिम्मेवारी दिने विभागीय मन्त्रालयका कमजोरीका कारणले अहिलेको समस्या आएको बताउँछन् ।

‘सरकारले शैक्षिक सत्रको सुरुवातमा पुस्तक कति आवश्यक पर्छ भनेर समयमा लगत निकाले कार्यान्वयनमा ध्यान नदिनु र छपाइको जिम्मेवारी लिएको जनक शिक्षाले यसको जिम्मेवारी लिनुपर्दछ, अभिभावक, विद्यार्थी र व्यवसायीको समय बर्बादी भएको छ, यसरी कसरी कोर्स पूरा हुन्छ विद्यार्थीहरूको अझै आउने टुंगो छैन वैकल्पिक उपाय खोजिनुपर्दछ’, अर्यालले भने ।

अर्यालका अनुसार निजी प्रकाशन प्रालिहरु पनि सरकारी कमजोरीमा खेलेका कारण विद्यार्थीमाथि अनावश्यक तनाव सृजना भएको छ । यति धेरै प्रकाशन गृहहरू छन्, जुन छापिएका छन् उनीहरू विद्यालयले लगाउँदैनन् जुन छाप्न बाँकी छन् विद्यार्थीहरूलाई त्यही किनेर ल्याऊ भनेर हरेक दिन दबाब दिइएको छ ।

निजी विद्यालयले सरकारले बनाएको पाठ्यक्रममा समेटिएका पब्लिकेशनका पुस्तकहरू उपलब्ध भएर पनि नलगाउनु अनौठो भएको स्वीकार गर्छन् ।

‘पाठ्यक्रममा स्वीकृत पुस्तकहरू पनि निजी विद्यालयले लगाएका छैनन् जुन बजारमा छन्, पहिलो त पुस्तक छनौटमै चलखेल छ दोस्रो सानो सानो परिवर्तनलाई देखाएर विद्यालयले हरेक वर्ष पब्लिकेशन फेर्दा अभिभावकलाई ठूलो मर्का परेको छ, यसको बारेमा को बोल्ने भन्ने भइसक्या’, अर्यालले भने ।

अहिलेको अवस्थालाई हेर्दा केही समय पुस्तक सजिलै पाउन नसकिने भएकाले बजारमा उपलब्ध पाठ्यक्रममा भएका पुस्तकहरूलाई लिएर पठनपाठन सुरु गरिनुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *