बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण – Nepal Press

बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले वातावरण संरक्षणमा नेवार समुदायले मनाउने सिथी नखः पर्वको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरण दिवस र सिथी नखः पर्वका अवसरमा शुभकामना दिँदै मेयर साहले भनेका छन्– सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथी नखः मनाइने संस्कृति छ ।

नेवार समुदायले मनाउने पर्व साथी नखः र वातावरण संरक्षणको सवाललाई जोडेर साहले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । उनले पानीको मुहानलगायत वातावरण संरक्षणका लागि महानगरले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनको उक्त स्ट्याटस जस्ताको तस्तै

काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ ।

हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवास् सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।

सिथी नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाण्डौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

तर सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ ।

काठमाडौमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।

सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवास् खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ । हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन् ।

हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसैका लागि हामीले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युँताउनको लागि सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ ।

सिथी नखः पर्व तथा आज नै परेको विश्व वातावरण दिवसको शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *