सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड ! – Nepal Press

सबै रेकर्ड तोड्ने बाटोमा कबड्डी- ४, पाँच दिनमै कमायो १३ करोड !

मिरुना प्रकरणको असर के होला ?

काठमाडौं । रिलिज भएको दिनबाटै कीर्तिमानी व्यापार गरिरहेको चलचित्र कबड्डी– ४ ले चार दिनमा १० करोड ग्रस कलेक्सन गरेको छ । यो नेपाली चलचित्रमा सबैभन्दा छिटो १० करोड कमाउने अर्को ठूलो कीर्तिमान हो ।

गत शुक्रबार रिलिज भएको फिल्मले तीन दिन लगातार हाउसफुलको व्यापार गरेको थियो । सोमबारदेखि रफ्तार केही कम भए पनि फिल्ममा दर्शकको आकर्षण घटेको छैन । पाँच दिनमा फिल्मले अनुमानित १३ करोड रुपैयाँ कलेक्सन गरेको फिल्मका वितरक गोविन्द शाहीले बताए ।

पहिलो दिन चलचित्रले साढे तीन करोड कमाएर कीर्तिमान राखेको थियो । नेपालमा कुनै पनि स्वदेशी वा विदेशी चलचित्रले यति ठूलो ओपनिङ गरेका थिएनन् । दोस्रो र तेस्रो दिनमा पनि फिल्मको व्यापार उचाइमै रह्यो ।

शनिबार फिल्मले ३ करोड १५ लाख र आइतबार २ करोड ९५ लाख रुपैयाँ कमाएको शाही बताउँछन् । यसरी तीन दिनमै फिल्मले ९ करोड ६० लाख रुपैयाँ बटुल्न सफल भयो ।

चौथो दिन सोमबार फिल्मले दुई करोडको व्यापार गर्यो । मंगलबारको विवरण आइनसकेको तर अनुमानित एक करोड ८० लाख रुपैयाँको व्यापार गरेको शाहीले बताए । यसरी फिल्मले पाँच दिनमा १३ करोडभन्दा बढी कलेक्सन गरेको देखिन्छ ।

रामबाबु गुरुङ निर्देशित कबड्डी– ४ करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो । यो चलचित्रले डिजिटल राइट्स र ओभरसिज राइट्स बेचेर रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको थियो । रिलिजपछि हलहरुबाट हुने आम्दानी सबै निर्माताको मुनाफा हो ।

कबड्डी– ४ का मिडिया कोअर्डिनेटर दिनेश सिटौलाका अनुसार पहिलो हप्तामा फिल्मले हलहरुबाट गर्ने ग्रस कलेक्सनको ५० प्रतिशत सेयर निर्माताले पाउने सहमति छ । यस हिसाबले अहिलेसम्म निर्माता मणिराम पोखरेलले झण्डै ७ करोड रुपैयाँ मुनाफा कमाइसकेका छन् ।

व्यापारको गतिमा तिव्र गिरावट आएन भने उनले अझै केही करोड मुनाफा थप्नसक्ने देखिन्छ । आउँदो शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज नभएकाले शनिबार र आइतबार पनि फिल्मको ब्यापारमा बढोत्तरी हुनसक्छ ।

मिरुना प्रकरणको सम्भावित असर

फिल्मले कीर्तिमानी व्यापार गरिरहँदा नायिका मिरुना मगर ठूलो कन्ट्रोभर्सीमा परिन् । उनले आफूमाथि एक दर्शकले दुव्र्यवहार गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि निकै आलोचना खेप्नुपरेको थियो ।

यो विवाद अहिले समाधान भइसकेको छ । चलचित्रको व्यापार नै प्रभावित हुने अवस्था आएपछि निर्माण टिमले नै संयोजन गरेर दुई पक्षबीच समझदारी गराएको थियो । आरोपिले गल्ती स्वीकारेर क्षमायाचना गरेका छन् भने मिरुनाले पनि क्षमायाचना गरेकी छन् । यद्यपि, कतिपय दर्शक भने अझै उनीसँग सन्तुष्ट छैनन् ।

फिल्मको हिजोको अनुमानित व्यापार हेर्दा भने धेरै ठूलो असर परेको देखिँदैन ।

अहिलेको गति हेर्दा कबड्डी– ४ ले नेपाली चलचित्रमा व्यापारको नयाँ इतिहास रच्ने देखिन्छ । यसअघि सर्वाधिक लाइफटाइम कलेक्सन छक्का पञ्चा– ३ को नाममा थियो । सो चलचित्रले १८ करोड कलेक्सन गरेको थियो ।

कबड्डी ४ उक्त कीर्तिमानभन्दा पाँच करोड मात्र पछाडि छ । यही हप्ता छक्कापञ्जाको रेकर्ड ब्रेक गरेर कबड्डी– ४ अगाडि बढ्न सक्छ ।

यो चलचित्रका यसअघिका सिक्वेलहरुले पनि राम्रो व्यापार गरेका थिए । अर्गानिक विषयवस्तु र कलाकारहरुको जिवन्त अभियनले गर्दा कबड्डी सिक्वेलले दर्शकमा बेग्लै छाप छोड्न सफल भएको छ ।

कबड्डी– ४ चाहिँ सिक्वेलको अन्तिम चलचित्र हुने निर्देशक गुरुङले बताइसकेका छन् । त्यसैले यो चलचित्रलाई ‘फाइनल म्याच’ भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *