कर्णालीका ‘पंक्चुअल’ मुख्यमन्त्री: समयमै कार्यक्रममा पुग्छन्, सुरु नभए हिँडिहाल्छन् – Nepal Press

कर्णालीका ‘पंक्चुअल’ मुख्यमन्त्री: समयमै कार्यक्रममा पुग्छन्, सुरु नभए हिँडिहाल्छन्

सुर्खेत । कर्णाली सरकारले आइतबार बिहान ७ बजे मंगलगढी चोकबाट गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी गर्ने तयारी थियो । प्रभातफेरीमा सहभागी हुन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही ७ बज्न ३ मिनेट बाँकी हुँदै मंगलगढी पुगे ।

उनी पुग्दा अरु मन्त्रीहरु आएका थिएनन् । मुख्यमन्त्री शाही पुग्नेबित्तिकै प्रभातफेरी सुरु भयो । प्रदेशसभाका सभामुख ७ बजेर २ मिनेटमा कार्यक्रमस्थल पुगे । उनी पुग्दा प्रभातफेरी अघि बढिसकेको थियो ।

प्रभातफेरी अघि बढेपछि एमाले सांसद मीनासिंह रखाल मंगलगढी चोक पुगिन् । उनले प्रभातफेरी भेट्टाउन हतार–हतार अटोरिक्सा बाेलाइन्,  अर्को बाटोबाट भएर प्रभातफेरीमा हिँडिन् ।

फागुन अन्तिम साता वीरेन्द्रनगरको शुभ होटलमा कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री शाहीलाई बोलाइएको थियो ।

आयोजकले बिहान ११ बजेको समय मागेको थियो । मुख्यमन्त्री शाही १०ः५५ बजे कार्यक्रमस्थल पुगे । मुख्यमन्त्री कार्यक्रमस्थलमा पुग्दा सहभागी त थिएनन् नै, आयोजक पनि उपस्थित थिएनन् । मुख्यमन्त्री शाहीले ११ः०५ बजेसम्म कार्यक्रम सुरु हुने प्रतीक्षा गरे, कार्यक्रम सुरु भएन, उनी फर्किए ।

केही समयअघि मुख्यमन्त्री शाहीले नियमित पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यहाँ पनि उनी ठीक समयमै उपस्थित भएन । कार्यक्रम समयमै सुरु गरेर आफ्नाे सम्बोधन गरे । जतिबेला पत्रकारहरु आउने क्रम भर्खर सुरुमात्रै भएको थियो ।

कर्णालीको नेतृत्व सम्हालेसँगै मुख्यमन्त्री शाहीले समयको विशेष ख्याल गर्ने गरेका छन् । उनी तोकिएको समयभन्दा केही मिनेटअघि नै कार्यक्रमस्थल पुग्छन् । समयमा कार्यक्रम सुरु नभए फर्किहाल्छन् । मन्त्रिपरिषद् बैठक हरेक बुधबार ४ बजे बस्छ । समयमै सबै मन्त्रीहरु बैठकमा पुग्छन् ।

यी उदाहरणमात्रै हुन् । कर्णालीमा आयोजना हुने अधिकांश कार्यक्रम समयमा सुरु हुँदैनन् । कार्यक्रम आयोजक नै ढिला उपस्थित हुने कर्णालीमा मुख्यमन्त्री शाहीको ‘समयपालना’ ले भने सकारात्मक नतिजा दिन थालेको छ ।

पछिल्लो समय शाही सहभागी कार्यक्रम समयमै सुरु हुन थालेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार नगेन्द्र उपाध्याय बताउँछन् । भन्छन्, ‘समय जीवन हो, समय पैसा हो । मुख्यमन्त्री शाहीले आफू उपस्थित हरेक कार्यक्रममा भन्नुहुन्छ । समयसँगै नहिँडेकै कारण कर्णाली पछाडि परेको हो । त्यसैले समयको ख्याल गरौं ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव केशव उपाध्याय भन्छन्, ‘उहाँलाई ढिलासुस्ती मनै पर्दैन । हरेक कर्मचारीलाई समयको अनिवार्य पालना गर्न सुरुमै निर्देशन दिनुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर