अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई मजबुत बनाएर अघि बढ्ने सञ्चारमन्त्री कार्कीको प्रतिवद्धता – Nepal Press

अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई मजबुत बनाएर अघि बढ्ने सञ्चारमन्त्री कार्कीको प्रतिवद्धता

चार सामुदायिक रेडियोकर्मी पुरस्कृत, आठ विज्ञ सम्मानित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सीआईएनको १३ औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई अझै बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

पछिल्लो समय सञ्चारमाध्यमले जवाफदेहिता र उत्तरदायित्व बिर्सँदै गएको भन्दै उनले विश्वसनीय सूचना दिन तथा समाज परिवर्तनतर्फ लाग्न पनि सबै सञ्चार माध्यमलाई अनुरोध गरे । सीआईएन दक्षिण एसियाकै ठूलो नेटवर्क हुनु गर्वको विषय भएको बताउँदै उनले समाजिक उत्थानको लागि पनि सूचना जोड्नुपर्ने धारणा राखे ।

सामुदायिक रेडियोले निरन्तरत सूचना दिएकै कारण सर्वसाधरणमा चेतनाको स्तर बढेको पनि मन्त्री कार्कीको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सकारात्मक समाचारलाई प्राथमिकतामा राख्न सुझाब दिईन । अहिले सामाजिक सञ्जालमा भ्रमपुर्ण समाचार धेरै आउने गरेको भन्दै सामुदायिक रेडियोले त्यसलाई चिर्दै सही, सत्य समाचार दिनुपर्नेमा उनको जोड थियो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले यसपटकको निर्वाचनको समयमा रेडियोले आचरसंहिता उल्लङ्घन कम गरेको र यो सकारात्मक भन्दै आगामी दिनमा समाचार सामग्रीमा थप सुधार गर्दै जान सुझाब दिए । उनले एक पक्षलाई बोक्ने प्रवृत्ति त्याग्न पनि सबै सञ्चारमाध्यमलाई सुझाव दिएका छन् ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले नेपालमा २०४९ सालमा राष्ट्रिय प्रशारण ऐन् आएको भए पनि समय अनुसार संसोधन नहुँदा समस्या भएको बताए । उनले पछिल्लो समय भएको विकासलाई ऐनले समेट्न नसक्दा समस्या भएको बताए ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) अध्यक्ष अर्जुन गिरीले सीमित स्रोतसाधनका बीच पनि सीआइएनले सर्वसाधरणलाई सुसूचित गर्न गरेको कामको प्रशंसा गर्दै अबको मुद्दा शान्ति स्थापितमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । उनले सामुदायिक रेडियोको लागि छुट्टै नीतिको आवश्यक रहेको बताउँदै सीआईएन एक अब्बल रेडियो नेटवर्क बनेको बताए ।

चार सामुदायिक रेडियोकर्मी पुरस्कृत, आठ विज्ञ सम्मानित

यसैविच सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले १३ औँ बार्षिकोत्सवको अवसरमा चार जना सामुदायिक रेडियोकर्मी र सीआईएनलाई निरन्तर रूपमा समाचार तथा सूचना सङ्कलन र प्रसारणमा सहयोग गर्ने विभिन्न विधाका ८ जनालाई सम्मान गरेको छ । सीआईएनले प्रत्येक वर्ष दिँदै आएको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सुसिला श्रेष्ठ, शोभा हुमागाईँ तथा भुवनरायमाझी पुरस्कृत गरेको हो । श्रेष्ठ सीआईएन, हुमागाईँ रेडियो रोशी काभ्रे, रायमाझी रेडियो मुक्तिनाथ पाल्पामा कार्यरत छन् भने ‘स्वयंसेवी सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कार’ रेडियो शिद्धबाबा सिन्धुलीमा कार्यरत ललिता हायूलाई प्रदान गरिएको छ ।

यस्तै सम्मानित हुनेमा वरिष्ठ अर्थविद् डा चन्द्रमणि अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक धुब्र घिमिरे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्तासमेत रहेका उपसचिव डा.समिरकुमार अधिकारी, सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन, निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्मा, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन र शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा रहेका छन् । १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *