प्रचण्डको चेतावनी- गठबन्धन कमजोर भए अझै पनि देशमा दुर्घटनाको खतरा छ (भिडिओ) – Nepal Press

प्रचण्डको चेतावनी- गठबन्धन कमजोर भए अझै पनि देशमा दुर्घटनाको खतरा छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन टुटेमा अझै पनि देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रचण्डले भरतपुरमा आफूले जनतालाई सतर्क गराएको कुरालाई धम्कीको रुपमा प्रचार गरिएकोमा आपत्ति जनाए ।

संसद बैठकमा प्रचण्डले भने–मैले भरतपुरमा जनतालाई सतर्क गराएको कुरालाई धम्की भनियो । यदि गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान्छ भनेकै हो,फेरि पनि भन्छु यदि यो गठबन्धन कमजोर भयो भने दुर्घटनाको खतरा छ ।

अध्यक्ष प्रचण्डले केपी ओली माओवादीको सहयोगमै प्रधानमन्त्री बनेको भन्दै अब एमालेको एकल प्रधानमन्त्री बनेर देखाउन चुनौति समेत दिए । नीति तथा कार्यक्रममाथि छलफल लिन रोष्टममा उभिएका प्रचण्डले अधिकांश समय ओलीको आलोचनामा खर्च गरेका थिए ।

ओलीमा अझै पनि आत्मालोचनाको संकेत नदेखिएको भन्दै अहंकार र दम्भबाट अझै पनि नहटेको प्रचण्डले बताए । उनले एमालेका धेरै नेता कार्यकर्ताप्रति आफ्ना अझै पनि भरोसा र विश्वास रहेको भन्दै उनीहरुसँग मिलेर काम गर्न कठिन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर