यसकारण धनगढीमा गठबन्धनलाई हराउन सफल भए स्वतन्त्र ‘गोपी दाइ’ – Nepal Press

यसकारण धनगढीमा गठबन्धनलाई हराउन सफल भए स्वतन्त्र ‘गोपी दाइ’

कैलाली । ‘दलीय व्यवस्थामा तपाईँ निर्वाचित भए पनि अल्पमतमा पर्न सक्नु हुन्छ ! कसरी काम गर्नहुन्छ ?’ मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिन धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गोपाल हमाललाई प्रश्न गरेका थिए ।

‘विकास सबैलाई चाहिन्छ । विकासको विषयमा कसैले पनि विरोध गर्नु हुने छैन । मलाई झन् आफ्ना कार्यकर्ता पाल्नु छैन’, उनले भनेका थिए, ‘त्यसैले प्राथमिकताको आधारमा विकास गर्छु । त्यसो गर्दा कसैले विरोध गर्ने आँट गर्नहुन्न जस्तो लाग्छ ।’

पत्रकार सम्मेलनमा उनको ‘कन्फिडेन्सले’ धेरैले हमालको तयारी आन्तरिकरूपमा निकै बलियो रहेको बुझे । तर, निर्वाचन जित्न उनलाई सहज भने थिएन ।

२०७४ सालमा कांग्रेसबाट निर्वाचित नृपबहादुर वडले १४ हजार ३२४ मत पाएका थिए । त्यो बेला दोस्रो भएका माओवादी केन्द्रका उम्मेदवारले १० हजार २०९ मत ल्याएका थिए । यसपटक कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा २४ हजारभन्दा बढी गठबन्धनलाई जाने आँकलन गरिएको थियो ।

गठबन्धनका तर्फबाट मेयरमा अघिल्लोपटक विजयी भएका वड र उपमेयरमा अघिल्लोपटक माओवादी केन्द्रबाट उपप्रमुखमा पराजित भएकी शान्ति अधिकारी उम्मेदवार बनेका थिए ।

एमालेबाट भने रणबहादुर चन्द र कन्दकला राना उम्मेदवार थिए । सुरुबाटै प्रमुखमा अग्रता बनाएर हमाल मत गणना भरि कुनै पनि बेलामा पछि परेनन् ।

गठबन्धनकै गढमा पनि वडाध्यक्षमा कांग्रेस र माओवादीलाई मत गएर प्रमुखमा हमाललाई मत गइरहेको थियो ।

१, २, ३, ४, १५, १७ र १९ नम्बर वडा कांग्रेसको गढ र १६, १८ र १९ नेकपा एमालेको गढ मानिन्छ । तर यी वडाहरूमा मेयरका उम्मेदवार वड र चन्दले आशा गरेअनुसार मत पाउन सकेनन् ।

‘धनगढीका नागरिकले मलाई विश्वास गर्नुहुनेछ, म फराकिलो मतान्तरले विजयी हुनेछु’ हमालले चुनाव प्रचारप्रसारमा भन्दै आइरहेका थिए । हमालले सुरुबाटै भनेको जस्तै मत परिणाम आयो ।

हमालले २६ हजार ८६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाए । एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् ।
अघिल्लोपटक आफूलाई झिनो मतले हराएको उम्मेदवारलाई हमालले यसपटक फराकिलो मतान्तरले हराए ।

यी हुन्, हमालले बाजी मार्नुको कारण

गोपाल हमाल अर्थात् ‘गोपी दाइ’ । धनगढीमा धेरैले गोपाल हमाललाई ‘गोपी दाइ’को नामबाट सम्बोधन गर्ने गरेका छन् । उनको लोकप्रियता, सामाजिक गतिविधिमा देखाउने सक्रियता, सुन्दर सुदूरपश्चिमको परिकल्पना, कैलाली उद्योग वाणिज्य संघमा पुर्याएको भूमिकालगायतका कामले गोपाल हमाल दोस्रो इनिङमा मेयर बन्न सफल भएका हुन् ।

केही समयअघि उनले सुरु गरेको निःशुल्क शव वाहनले उनलाई अझै गाउँ गाउँसम्म परिचित गरायो । दुखमा पनि उनको साथ पाएकाहरू उनीसँगै उभिए ।

कपडा बैंक खोलेर धेरै हुनेहरूले दिने र नभएकाहरुले लिने व्यवस्था मिलाएर त्यसले पनि उनलाई अहिले निर्वाचनमा सहज भयो । उनी निर्वाचनकै लागि त्यसको नगरेको बताउँछन् । तर, हमालको ती कामहरूले जनतामाझ लोकप्रिय बन्न सहज गरेको छ ।

अघिल्लोपटक एक्लै निर्वाचनमा होमिएका हमाल यसपटक केही वडाहरूमा पनि स्वतन्त्र उम्मेदवार उठाउन सफल भए । त्यसले पनि उनको मत बढेको अनुमान गर्न सकिन्छ । धनगढीमा मात्रै सयौंलाई रोजगारी दिएका हमाललाई यसपटक जनताले विश्वास गर्नुपर्नेमा सबैभन्दा ठूलो कुरा उनले विगतमा गरेको असल काम नै हो भन्छन्, अधिकांश ।

गठबन्धन हुँदा पनि नेपाली कांग्रेसबाट नृप वड नै प्रमुखका उम्मेदवार बन्नु, धनगढीमा कांग्रेस भित्र पकड राख्न सक्ने नेता पुस्कर नाथ ओझाको कारबाही फुकुवा नहुनु र कृष्णबहादुर महरा पनि निर्वाचनकै मुखमा चिढिनुले हमाललाई अझै बल पुर्याएको थियो ।

अघिल्लो पटकको निर्वाचनमा करिब २ हजार ७ सय मतले पराजित भएपछि उनी विवेकशील साझा पार्टीतर्फ लागेका थिए । उनी विवेकशील साझाको सुदूरपश्चिम प्रदेश संयोजक पनि भए । तर, कुनै दलमा रहेरभन्दा स्वतन्त्र भएर निर्वाचनमा होमिन सुझाव दिएको भन्दै उनले विवेकशील साझा छोडेका थिए ।

धनगढीको मेयरमा निर्वाचित भएमा राज्यबाट पाइने सेवा सुविधासमेत नलिने उनले घोषणा गरिसकेका छन् । ‘मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि लिन्नँ, धनगढी उपमहानगरपालिकाको गाडी पनि चढ्दिनँ । मेयरले पाउने कुनै लाभ लिदिनँ । निःस्वार्थरूपमा काम गर्छु,’ हमालले सार्वजनिकरूपमै भन्दै आइरहेका थिए ।

आफू निर्वाचित भए कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हमालले भ्रष्टाचार नगर्ने भन्दै बेहेडावावा मन्दिरमा पुगेर कसमसमेत खाएका थिए । भ्रष्टाचारले आक्रान्त भएका नागरिकहरूका लागि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमै पुगेर कसम खाएपछि मतदातालाई थप प्रभाव प¥यो ।

भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गरेर प्रणालीको विकास गर्ने, डुबानको समस्या समाधान गर्ने र धनगढीलाई व्यवस्थित सहरको रूपमा विकास गर्ने उनले प्राथमिकता दिने बताएका थिए ।

हमालले भनेका थिए, ‘अहिले धनगढीमा सार्वजनिक शौचालय छैन, पार्किङ क्षेत्रको अभाव छ, पर्यावरण हराभरा छैन, फोहर मैला व्यवस्थापन राम्रोसँग भएको छैन । सडकहरू व्यवस्थित छैन । हामी सबै क्षेत्रमा काम गर्न चाहन्छौँ ।’

वड पराजित हुनुका कारण

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति शेरबहादुर देउवा र उनकीपत्नी आरजु राणा देउवाले भने ठूलै भूमिका खेल्नु परेको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा कांग्रेसभित्रको किचलो मिलाउन एक रात धनगढीमै बसेका थिए भने आरजु चुनाव प्रचार प्रसारको लागि गाउँ गाउँ पुगिरहेकी थिइन् ।

आरजु राणा देउवाले कैलाली गाउँपालिका गएर निर्वाचन जिते ५–६ जनालाई मलेसिया पठाइदिन्छु भनेपछि माहौल झन् बिग्रिएको थियो ।
आरजुको निर्वाचन क्षेत्र यहीं हो । आफू बलियो बन्नका लागि नेपाली कांग्रेस जिल्ला अधिवेशनमा उनको भूमिकाले पनि कांग्रेस भित्र किचलो ल्याएको थियो । कांग्रेस उपसभापति प्रकाश बमलाई हराउन उनले भूमिका खेलेको भन्दै अहिले कांग्रेस चित्रै चर्चा भइरहेको छ । यही कारणले गर्दा पनि अहिले गठबन्धनका उम्मेदवारलाई धक्का पुगेको हो ।

सँगै, अघिल्लोपटक निर्वाचित भएर पनि लोकप्रिय काम गर्न नसकेको आरोप वडमाथि लाग्दै आइरहेको थियो । उनले पहिलो निर्णय नै कार्यान्वयन गर्न सकेनन् । धनगढीको खोलानाला अतिक्रमित क्षेत्र हटाउने निर्णय गरेका वडले पाँच वर्षसम्म त्यो काम गर्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर