छोरासहित घुस काण्डमा मुद्दा खेपिरहेका कल्याणपुरका मेयरले पाए चुनावकै मुखमा सफाइ – Nepal Press

छोरासहित घुस काण्डमा मुद्दा खेपिरहेका कल्याणपुरका मेयरले पाए चुनावकै मुखमा सफाइ

जनकपुरधाम । घुस काण्डमा मुछिएपछि निलम्बित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले स्थानीय तह चुनावको मुखैमा उन्मुक्ति पाएका छन् ।

विशेष अदालतले मेयर मण्डल, उनका छोरा सन्तकुमार र अन्य एक व्यक्तिलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । आसन्न स्थानीय तह निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराउने दुई दिनमात्र बाँकी रहँदा शुक्रबार उनीहरुलाई अदालतले उन्मुक्ति दिने फैसला गरेको छ ।

घुस रकमसहित मेयर मण्डलका छोरा सन्तकुमार र उनीसँगै रहेका जितेन्द्र महतोलाई ०७७ असार ३१ मा लहान बजार क्षेत्रबाट अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

मेयर मण्डलले नै घुस लिन छोरा र सहयोगीलाई पठाएको कुरा अनुसन्धानबाट खुलेको भन्दै तीनै जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर चुनावको मुखमा सफाइ दिएपछि अदालतमाथि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भइरहेको छ ।

सिरहाका पत्रकार विनय यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सत्ता र शक्तिमात्रै हुनुपर्छ, यो देशमा जे पनि सम्भव छ । घुसकाण्डमा निलम्बित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले सफाइ पाएका छन् । यस्ता घुसखोर, कमिसनखोर र भ्रष्टाचारीहरुलाई कारबाही गर्न विषेश अदालतलाई कुन प्रमाण अपुग भइदिन्छ ?’

नेपाली कांग्रेसबाट निर्वाचित मेयर मण्डल पार्टी सभापति शेरबहादुर देउवा खेमाका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले पुनस् चुनाव लड्न मेयर मण्डललाई अदालतबाट सफाइ दिलाएको चर्चा छ ।

मेयर मण्डलले लेनदेनको विषयलाई घुस भनेर फसाउने षड्यन्त्र गरिएको थियो र अदालतले सत्यतथ्य बुझेर सफाइ दिने फैसला गरेको बताए । भोलि आइतबार केहीबेरका लागि भए पनि नगरपालिकामा बस्ने उनको भनाइ छ ।

उनले पुनस् मेयरमा चुनाव लड्ने आकांक्षा पनि सुनाए । मण्डलले भने, ‘६-७ जनाको नाम सिफारिस भएको छ । सबैले सर्वसम्मत मलाई अगाडि सारे भने मेयरमा पुनस् लड्न तयार छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर