लागूऔषधले निम्याएको अपराधको अन्तरकथा – Nepal Press

लागूऔषधले निम्याएको अपराधको अन्तरकथा

काठमाडौं । गत मंसिर मसान्तमा कैलालीको जानकी गाउँपालिका–९ स्थित आफ्नै घरमा सुतिरहेका सुमित साउदलाई कमल साउदले फोन गर्दै भने– म नाङ्गै छु, कपडा लिएर आइज ।

सुमितले बेवास्ता गर्न सकेनन् । कपडा बोकेर कमल भएको स्थानमा पुगे । यौन सम्पर्क गर्दागर्दै वरिपरिकाले थाहा पाएपछि कमल नाङ्गै भागेका रहेछन् ।

कमलले सुमितलाई उनको घर लगे । दुवै जना एकै ठाउँमा सुते । भोलिपल्ट सुमित आफ्नो बाटो लागे । कमलले राखेको ठाउँमा आफ्नो मोबाइल भेटेनन् । सुमितमाथि शंका गरे । कमलले साथीहरू लगाएर सुमितलाई कुटपिट गरे ।

तर सुमितले आफूले मोबाइल लगेको स्विकारेनन् । सुमित मात्र नभएर उनको सर्कल कमलको उक्त व्यवहारबाट आक्रोशित थियो । पुस २ गते नै सुमितको समूहले चाल पायो– कमलको घरमा काम गर्न आइरहने अर्जुन दासले उनको मोबाइल चोरेका रहेछन् ।

अर्जुन दासले लुकाउन दिएको मोबाइल सुमितको समूहले अर्कै व्यक्तिबाट ‘बरामद’ गर्‍यो र कमललाई दियो । कमल झस्किए र अर्जुनलाई सोध्दा कसैलाई नभन्न आग्रह गरे । बरु कमलले जे भने पनि काम गर्न अर्जुन तयार देखिए ।

कमल फर्मास्युटिकल ड्रग्सका कारोबारी हुन् । भारतबाट ल्याएर उनी स्थानीय युवाहरूलाई बिक्री गर्थे । सुमित र अर्जुन दुवै कमलका ग्राहक हुन् ।

उनीहरूको सर्कलका थुप्रै युवाहरूले कमलबाट ड्रग्स लिएर सेवन गर्थे । यही बीचमा सुमितको समूहले दुई वटा बदला लिने योजना बनायो– पहिलो, कमलबाट ड्रग्स चोर्ने र अर्को अर्जुनलाई पिट्ने । ड्रग्स चोरेर स्थानीय सामुदायिक वन, जहाँ उनीहरू नियमित ड्रग्स सेवन गर्थे, त्यहाँ लगेर लुकाए ।

पुस ३ गते कमलले अर्जुनको घर पुगेर उनकी श्रीमतीसँग धम्कीपूर्ण भाषा बोलेका थिए । भनेको काम नगरेको भन्दै रिसाएर फर्किएका थिए । त्यसै दिनको रातिदेखि अर्जुन बेपत्ता भए ।

महानगरीय अपराध महाशाखाका प्रमुख वसन्त कुँवर घटनाको बेलिबिस्तार लगाउँदै पुस ३ गते साँझपख कुटपिट गर्ने नियतले सुमितको समूहले अर्जुनलाई स्थानीय सामुदायिक बनमा बोलाएको बताउँछन् ।

‘उनीहरू सबै जना ड्रग्स लिने भएकाले अर्जुन खान पाइने लोभले त्यहाँ पुगेपछि सुमितको समूहले मोबाइल चोरीको विषय निकालेर झगडा सुरु गरेका रहेछन्’, एसएसपी कुँवर भन्छन् ।

प्रहरीका अनुसार त्यसपछि उक्त समूहले अर्जुनलाई बाँधेर कुटपिट गरेको थियो ।

‘सुरुमा हाम्रो उसलाई मार्ने नियत थिएन । तर हामीले नाइट्रोभेट र गाँजा सेवन गर्दै गएपछि होस गुमाउँदै गयौँ’, त्यति बेला घटनास्थलमा रहेका स्थानीय १९ वर्षीय मनोज भण्डारीलाई उद्धृत गर्दै कुँवर भन्छन् । लागु औषधको डोज थप्दै गएपछि अर्जुनलाई मार्ने योजना बनाएको र नजिकै साथीको घरबाट खुकुरी ल्याएर मारेको भण्डारीले बताएका छन् ।

’खुकुरी ल्याएर राती २ बजे सुरुमा मैले घाँटीमा प्रहार गरेँ। त्यसपछि दिलीप दास र सुमितले खुकुरीले हान्यो। त्यसपछि पनि हामी त्यही बसेका थियौँ । करिब अढाई घण्टापछि बिउँझँदा मात्र हाम्रो होस आयो । निकै डर लाग्यो अनि पाँच जना भारततिर लाग्यौँ’, मनोजको भनाई उद्धृत गर्दै कुँवरले भने । अर्जुनको शव रुखमा शरीर बाँधिएको र टाउको छिनेको अवस्थामा फेला परेको थियो ।

अर्जुनका आफन्त भने कमलले बेपत्ता बनाएको भन्दै उनको पछि लागेका थिए । त्यसपछि कमलले मनोजसँग सम्पर्क गर्दै अडियो रेकर्ड गरेका थिए जुन उनले पछि आफ्नो सामाजिक सञ्जालमा राखेका थिए ।

त्यही अडिओका आधारमा प्रहरीले कमललाई अनुसन्धानमा तानेको थियो । तर कमलको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छाड्यो । मनोज र सुमितको समूहले भने भारतबाट सामाजिक सञ्जालमा एक भिडियो राख्दै हत्याको जिम्मेवारी लिँदै आफूलाई पक्राउ गर्न प्रहरीलाई चुनौती दिएका थिए ।

त्यसरी चुनौती दिनेमध्येका चार जनालाई महाशाखाले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मनोज, सुमित र दिलीपसहित बमबहादुर बोहरा रहेका छन् । उनीहरू सबै जानकी गाउँपालिकाका १९ वर्षीय युवाहरू हुन् ।

‘रिस र नशाको तालमा घटना भएको देखिन्छ,’ एसएसपी कुँवर भन्छन् ।

यति बेला कमल पनि कारागारमा रहेका छन् तर यो मुद्दामा भने होइन ।

यौन सम्पर्क गर्दागर्दै भागेको घटनामा युवतीले जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले कमललाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *